शिवका प्रिय १० सुर

मङ्गलबार, १८ माघ २०७३, १२ : २३ अनिल यादव , Kathmandu
शिवका प्रिय १० सुर

नेपाली सुगम संगीतका लोकप्रिय गायक हुन्, शिव परियार । आफूलाई प्रिय लाग्ने आफ्ना पाँच र अरूका पाँच गीतबारे उनले शुक्रवारलाई बताएका छन्ः

आफ्ना पाँच

१ संगी डुब्दै छु तिम्रो यादमा
मलाई मन पर्ने गायक सुगम पोखरेलको संगीतमा गाएको यो गीत मलाई असाध्यै मन पर्छ । मैले शास्त्रीय संगीतमा लिएको ज्ञानलाई राम्रोसँग प्रस्फुटन गरेको गीत हो यो । फिल्म ‘ब्याच नम्बर १६’को यो गीतले पाश्र्व संगीतमा पनि नयाँ स्वाद दिएको थियो । यो एकदमै हाई पिचमा गाइएको गीत पनि हो ।

२ अलिकति नजर तिम्रो
जनकराज पौडेलको शब्दमा मैले आफैँ संगीत भरेको गीत हो यो । सामान्तयः गाइरहने गीतभन्दा फरक ढंगले गाएको गीत हो यो मैले । यसको कम्पोजिसनमा सेमी क्लासिकल टच फ्रेम दिइएको छ । नेपाली आधुनिक गजल संगीतमा नयाँ स्वादको गीत भएकाले पनि मलाई यो प्रिय लाग्छ ।

३ कहाँ थियौ तिमी
मेरो एकदमै हिट गीतमध्ये पर्छ यो । नेपाली आधुनिक संगीतमा फरक खालको गायन शैली दिइएको गीत पनि हो यो । कम्पोजिसन पनि उत्तिकै उत्कृष्ट । यो गजल गीतमा प्रायः मान्छेको जीवनमा घटिरहने भाव छ । त्यसैले मन पर्छ ।

४ सुन्छु तिमीले मलाई
यो परम्परागत आधुनिक गायन शैलीमै कम्पोज गरिएको गीत हो । मलाई मन पर्ने संगीतकार अर्जुन पोखरेलले मीठो संगीत दिनुभएको छ । टुक्रिएका मनमा मलम लगाउने गीत हो यो । विशेष गरी महिला प्रशंसक बढी भेटेको छु । सर्वाधिक सीआरबीटी डाउनलोड पनि भएको थियो । मनमुटु छुने गीत भएकाले पनि मलाई प्रिय लाग्छ ।

५ नभेटी नभेटी
‘लङ डिस्ट्यान्स रिलेसनसिप’मा रहेका जोडीलाई केन्द्रित गरेर लेखिएको गीत हो यो । शब्द सरल छन् । कम्पोजिसन क्याची छ र शब्दलाई न्याय गरेको छ । मैले आफ्नो स्वरलाई अलि परिमार्जित गरेर युवाले रुचाउने गरी गाएको गीत पनि हो । असाध्यै मेहनत गरेर गाएको गीत हो, त्यसैले सुन्दा आनन्द लाग्छ ।  


अरूका पाँच
१ तिम्रो जस्तो मुटु

स्वरसम्राट नारायण गोपालका सबै गीत मन पर्छन् । त्यसमा पनि विशेष मन पर्ने गीत हो यो । यसका शब्द मन छुने खालका छन् । गीतमा गोपाल योञ्जनको संगीत उस्तै पावरफुल छ । यो गीतले धेरै भावनाको प्रतिनिधित्व गर्छ जस्तो लाग्छ । त्यसैले गाइरहन मन लाग्छ ।

२ जाँदै छु टाढा
गायक सुगम पोखरेलका थुप्रै गीतमध्ये एउटा सुनिरहन मन लाग्ने गीत हो यो । गीतको शब्द र संगीत टच्ची छ । स्वर पनि मीठो छ । स्रोता भएर सुन्दा एकदमै मन छुने गीत हो यो ।

३ जिन्दगीको के भरोसा
स्कुल पढ्दाताका आधुनिक संगीतमा नयाँ स्वादसहित आएको थियो यो गीत । गायक कर्णदासको यो गीत सुनेपछि उनको फ्यान भएको थिएँ म । बच्चादेखि नै मेरो मानसपटलमा रहेको गीत हो यो । गीतको कम्पोजिन बिल्कुल नयाँ ढंगबाट गरिएको छ ।
 
४ माया गर्नेको चोखा माया

गायक रामकृष्ण ढकालका थुप्रै गीत मलाई प्रिय लाग्छन् । त्यसमध्ये  यो गीत अझ हृदयस्पर्शी लाग्छ । गीतमा गुनासो पोखेका शब्द छन् । संगीत र स्वर उस्तै मधुर छ ।

५ गोरेटो अनि उस्तै छ गल्ली
गायक सुनील बर्देवाको यो गीत म पटक–पटक सुनिरहन्छु । गाडीमा पनि गुनगुनाइरहन्छु । गायकीले एकदमै पीडा महसुस गराउँछ । शब्द, संगीत सबै नयाँ लाग्छ । सुनील दाइ एकदमै प्रतिभाशाली गायक हुनुहुन्थ्यो ।

प्रस्तुतिः अनिल

 

Leave A Comment