‘फुपूको बुलाकी बेचेर संगीतमा लागेँ’

सोमबार, २४ माघ २०७३, ०१ : २४ गोपाल दाहाल , Kathmandu
‘फुपूको बुलाकी बेचेर संगीतमा लागेँ’

भुवन सुप्तिहाङ राई
गायक/संगीतकार

गाउँमा दशैँ–तिहारमा क्लबबाट नाच्ने÷गाउने गर्थें । संगीतप्रतिको लगाव त्यहीँबाट सुरु भयो । रेडियोमा गीत सुन्दा आफू पनि त्यसरी नै रेडियोमा गाउने सपना देख्थेँ ।
मनको कुरा घरमा भन्दा एक दिन बाजेले ‘त्यो तेरो क्षमता बाहिरको कुरा हो, असम्भव सपना नदेख, पैसा हुनेले मात्र त्यहाँ गाउँछन्’ भनेर हप्काउनुभयो । आफन्तले पत्याएनन् । आमा सानैमा बित्नुभयो, उहाँको मायाममता पाइनँ । देमा (फुपू) इमानशोभा राईले आमाझैँ हुर्काउनुभयो । मेरोे चाहना र बाजेको गाली सबै सुन्नुभएको फुपूले एक दिन आफूले लगाएको १२ आनाको सुनको बुलाकी फुकालेर दिनुभयो ।
त्यही बुलाकी बोकेर म उदयपुरको बसाहाबाट काठमाडौँ छिरेँ । असनमा आठ हजारमा बुलाकी बेचेर संगीत सिक्न थालेँ । सुरुमा दुईचार दिन पालैपालो साथीहरूको कोठामा बसेँ । संगीत सिक्न जाँदा साथीहरूले चिया खाऊँ भन्थे, गोजीमा सुको हुन्थेन । त्यसैले क्लास सकिनेबित्तिकै हतारिएर त्यहाँबाट हिँड्थेँ ।
पछि भाडामा एउटा कोठा पाइयो । स्टोभमा मट्टितेल सकिएर कति दिन भोकै बसेको छु, चिउरा र पानी खाएर रात काटेको छु । साथीहरूले पार्टीमा बोलाउँथे तर भ्याइनँ भनेर जान्नथेँ । संगीत सिकेपछि साथीहरू गीत रेकर्ड गराउँथे । मेरो पनि सपना त थियो गायक बन्ने तर पैसा थिएन । विदेशमा भएका आफन्तलाई चिठी लेखेर सहयोगका लागि अनुरोध गर्थें । धेरैले आश्वासन दिन्थे तर सहयोग कसैले गरेनन् ।
गुुरुदेव कामतसँग पाँच वर्ष संगीत सिकेपछि २०६० सालमा ‘तिम्रो माया’ एल्बम निकालेँ । एल्बमका लागि गीतकार र संगीतकारका घर, कोठामा धाएँ । बल्ल एल्बम निस्कियो । पहिला रेडियोमा अरूका गीत सुनेझैँ आफ्नो गीत सुन्न आतुर हुन्थेँ । नयाँ कम्पनी थियो सेभेन्थ एभेन्यू भन्ने । उसले तपाईंको गीत राति बज्छ भन्यो । म हरेक रात रेडियो सुन्थेँ । आफ्नो स्वर रेडियोमा सुन्न राति एक बजेसम्म पर्खिएर बस्थेँ । तर, गीत बजेन ।

‘आईडी छ कि छैन बहिनी’ बोलको गीत रेडियोमा बज्न थालेपछि कम्ती खुशी लाग्दैनथ्यो । सपना पूरा भए जस्तो लाग्यो । अरू गायकको कार्यक्रम भएका ठाउँमा जान्थेँ । आफ्नो गीतको ट्र्याक चक्कामा घुमाएर ठिक्क पारेर राख्थेँ । चर्चित गायकको प्रस्तुति हुँदा अलि ढिलो भयो भने त्यही मौकामा उद्घोषकले बोलाउँथे । त्यतिखेर मैले आफ्नो एउटा गीत सुनाउने मौका पाउँथेँ । खुशी भएर भोकभोकै फर्किन्थेँ ।
अहिलेसम्म पाँच सय हाराहारीमा गीत गाइसकेको छु । २ सय ५० भन्दा धेरै गीतमा संगीत भरेको छु । मेरा दोस्रो ‘सजेसन’, तेस्रो ‘मायाको फूल’, चौथो एल्बम ‘बदनाम’ बजारमा आइसके । अहिले पाँचौँ एल्बम ‘सम्मान मेरो’ रिलिज हुने तयारीमा छ । मलाई बुलाकी दिएर पठाउने फुपू बित्नुभयो । उहाँकै सम्मानमा समर्पित हो, ‘सम्मान मेरो ।’
कामबाट सन्तुष्ट छु । मान्छेको जीवन संघर्षले भरिएको हुँदो रहेछ । त्यही संघर्षले नै सफलता दिलाउने रहेछ । अझै पनि मेरो संघर्ष जारी नै छ ।

 

 

Leave A Comment