शहरको बीचमा सम्पदा रिसोर्ट

शनिबार, ०७ फागुन २०७३, १२ : ०५ शुक्रवार , Kathmandu
शहरको बीचमा सम्पदा रिसोर्ट

रिसोर्ट सञ्चालनका लागि केही निश्चित मापदण्ड तोकिएका छन् । रिसोर्टका लागि शान्त र खुला वातावरण अनिवार्य गरिएको छ । तर, काठमाडौँको व्यस्त ठाउँ लाजिम्पाटमा ‘सम्पदा गार्डेन रिसोर्ट’ सञ्चालनमा आएको खबर सुनेपछि धेरैले कान ठाडो पारेका छन् । रिसोर्ट भन्नेबित्तिकै दिमागमा अलि खुला ठाउँ, वनजंगलका बीच वा वरिपरिका प्राकृतिक दृश्य नियाल्न सकिने शान्त ठाउँ भएको तस्बिर आउँछ । लाजिम्पाटजस्तो ठाउँमा रिसोर्टको मापदण्ड पुग्ने ठाउँ कसरी भेटियो होला ? नाम रिसोर्टको दिएर होटल सञ्चालन गरेको होला भनेर धेरैले जिज्ञासा राख्ने गरेको यसका सञ्चालक कुमार अधिकारी बताउँछन् ।
मुख्य सडकबाट अलिभित्र पाँच रोपनी जग्गामा फैलिएको सम्पदा गार्डेनसँग रिसोर्टका लागि चाहिने आधारभूत मापदण्ड पुगेकाले नै रिसोर्ट दर्ता गरिएको सञ्चालक अधिकारीले बताए । ‘दर्ता गर्ने बेलामा हामीलाई व्यस्त शहरमा पनि के को रिसोर्ट ? भनेर प्रश्न गरिएको थियो,’ अधिकारीले भने, ‘तर, हामीले हामीसँग बगैँचा, पर्याप्त खुला ठाउँ रहेकाले रिसोर्ट अवधारणाअनुसार सञ्चालन गर्ने अनुमति लिएका हौँ ।’
पाँच करोड रुपैयाँको लगानीमा खोलिएको रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर खोलिएको प्रबन्धक नरेन्द्र मल्लले बताए । ‘हाम्रो प्रमुख उद्देश्य भनेको आन्तरिक तथा बाह्य पर्यटक स्तरीय सेवा दिने हो,’ मल्लले भने । पर्यटन क्षेत्रमा काम गर्दै आएका पाँचजना व्यवसायीले मिलेर रिसोर्ट सञ्चालन गरेका हुन् । लाजिम्पाटको सांग्रिला होटलनजिकै पाँच रोपनी जग्गामा निर्माण भएको उक्त रिसोर्टमा २० वटा डिलक्स कोठा र ४७ बेड रहेका छन् ।
राजधानीको कोलाहालपूर्ण वातावरणमा लाजिम्पाटको मुख्य सडकबाट एक सय मिटरभित्र रहेको सम्पदा गार्डेन रिसोर्टमा हरियाली गार्डेन, शान्त वातावरण रहेको मल्ल बताउँछन् । सबै कोठामा घामको प्रकाश पुग्ने गरी डिजाइन गरिएको रिसोर्टमा ग्राहकको स्वादअनुसार नेपाली, इन्डियन, चाइनिज, इटालियन कन्टिनेन्टल परिकार पस्कने रेस्टुरेन्ट पनि सञ्चालन गरिएको छ ।
हेल्थ क्लब र स्पा सञ्चालन गर्ने तयारी गरेको सम्पदाले प्रत्येक शुक्रवार गजल कार्यक्रम पनि राख्ने योजना बनाएको छ । दुईवटा सेमिनार हल भएको उक्त रिसोर्टमा २५ जना कर्मचारी रहेका छन् । यसको क्षमता विस्तार गर्दै जाने योजनामा रहेको मल्लले बताए । इटालियन ब्रान्डको ‘इली’ कफी सप पनि रहेको रिसोर्टमा पर्याप्त पार्किङ सुविधा रहेको छ ।  

 

Leave A Comment