भुँडे सर, लुरी मिस

आइतबार, २२ फागुन २०७३, १२ : ५३ शुक्रवार , Kathmandu
भुँडे सर, लुरी मिस

–सृजना खड्का
भुँडे, ब्याम्बो, स्याल, लोखर्के, जुंगे, चस्मे, लुरी...
यी हुन् शिक्षकका उपनाम । यी उपनाम राखिदिने को हुन् ? उनीहरूकै विद्यार्थी ।  
 
‘हामीले स्कुलका सबै टिचरहरूको जिस्काउने नाम राखिदिएका छाँै,’ कक्षा ९ मा अध्ययनरत सम्पूर्ण कार्कीले भने, ‘टिचरहरूको नाम राख्दा मज्जा आउँछ । नामसँगै ज्यान पनि ठ्याक्कै मिल्छ । अगाडि भेट्दा डरले बोल्न नसके पनि साथीहरूसँग बसेर गिल्ला गरिन्छ ।’
साथीभाइसँग मिलेर आफ्ना शिक्षकहरूको नाम ‘भुँडे’, ‘ब्याम्बो’, ‘स्याल’, ‘लोखर्के’, ‘जुँगे’, ‘चस्मे’ राखेको सम्पूर्णले बताए ।
आयुष्मा खतिवडाले पनि कक्षामा धेरै कडा गर्ने र राम्रोसँग नपढाउने शिक्षकलाई नाम काढेर जिस्काउने गरेको बताइन् । ‘साइन्सको टिचर क्लासमा दायाँबायाँ फर्कनै दिनुहुन्न । साह्रै कडा । त्यसैले उहाँको नामै ‘लोखर्के’ राखिदिएका छाँै,’ उनले भनिन्, ‘हाइट अग्लो भएको टिचरको नाम ‘ब्याम्बो’, चस्मा लगाउने भए ‘चस्मे’ भनेर जिस्काउँछौँ ।’
कक्षा आठमा अध्ययनरत मोहन गौतमले पनि आफूले शिक्षकहरूलाई नाम राखेर जिस्काउने गरेको बताए । ‘एकचोटि त सरको नाम राख्दा कुटाइ पनि खाएको थिएँ,’ उनले भने ।
चार वर्षयता शिक्षण पेशामा आबद्ध शिक्षिका प्रिया मानन्धरले  कक्षा सातदेखि माथिका विद्यार्थीले शिक्षकको उपनाम राख्ने गरेको बताइन् । त्यसमा पनि कक्षा नौका विद्यार्थीले अरूको तुलनामा धेरै नै उपनाम राख्ने गरेको उनको अनुभव छ । ‘साना कक्षाका विद्यार्थी त शिक्षक देखेर डराउने भएकाले खासै नाम राख्दैनन् । अरू कक्षाका विद्यार्थीले नाम राखे पनि सुन्ने गरी बोलाउँदैनन्,’ उनले भनिन्, ‘तर, नौ कक्षामाथिका विद्यार्थीले शिक्षकले सुन्ने नै नाम भन्छन् ।’
प्रियाजस्तै अनुभव छ, शिक्षिका नवीना नगरकोटीको पनि । ‘म पातली छु । मलाई धेरै विद्यार्थीले ‘लुरी मिस’ भनेको धेरै पटक सुनेकी छु,’ उनले भनिन्, ‘विद्यार्थीको स्वभाव यस्तै हो भनेर वास्तै गर्दिनँ म त ।’
पहिला कतिपय शिक्षकले विद्यार्थीको अनुहार र शरीरिक बनोट हेरी–हेरी नाम राखिदिने भएकाले अहिले विद्यार्थीहरूले पनि शिक्षकको नाम राखेको हुन सक्ने बनेपाका शिक्षक दीपक कर्मी मानन्धरकोे धारणा छ । ‘स्कुलमा खूबै चर्चित र कडा स्वभावका शिक्षकशिक्षिकाको नाम विद्यार्थीहरूले राख्छन् । विद्यार्थीको स्वभाव यस्तै हो,’ उनले भने, ‘उनीहरू शिक्षकको मात्रै होइन आफ्नो साथी सर्कलमा पनि उपनाम राखेका हुन्छन् ।’
मायाले उपनाम राख्दा खासै फरक नपरे पनि कसैको कमजोरीलाई उपनाम बनाएर जिस्काउँदा शिक्षकहरूले अप्ठ्यारो महसुस गर्ने मानन्धरले बताए । ‘यसरी उपनाम राख्ने चलन राम्रो होइन नि । यसले शिक्षकलाई निरुत्साहित बनाउँछ,’ उनले भने, ‘विदेशतिर शिक्षकको निकै सम्मान गरिन्छ । अगाडिको नाम काढेर पनि बोलाउन पाइँदैन । हाम्रोमा शिक्षकलाई जे मन लाग्यो त्यही भन्ने चलन छ । यो ठीक होइन । आदर गर्नुपर्ने विद्यार्थीले खिल्ली उडाउँदा साहै्र दुःख लाग्छ ।’
बालमनोविद् गोपीलाल न्यौपानेका अनुसार विद्यार्थीले माया र गाली दुवैका आधारमा शिक्षकको नाम राख्ने गरेका छन् । ‘कक्षामा धेरै सजाय दिइरहने शिक्षकको उपनाम अधिकांश विद्यार्थीले राख्छन् । कक्षामा पढाउँदा शिक्षकले पटक–पटक एउटै शब्द दोहो¥याएमा पनि त्यही शब्द उपनामका रूपमा राखिदिने बालबालिकाको स्वभाव हुन्छ,’ न्यौपानेले भने, ‘विशेष गरी कक्षा आठ, नौँ र १० का विद्यार्थीले शिक्षकको उपनाम राख्ने गर्छन् ।’
‘उनीहरूको उमेर र स्वभाव नै अल्लारे हुने भएकाले उटपटाङ–उटपटाङ नाम राख्छन्,’ उनले थपे, ‘आफूलाई विद्यार्थीले नमस्कार गरेन भनी ठुस्किनुको सट्टा आफैँले नमस्कार गरिदियो भने उनीहरूको व्यवहारमा बिस्तारै परिवर्तन आउँछ ।’ आफूले पाएको जिम्मेवारी नठगी पूरा गर्ने शिक्षकको उपनाम कमै विद्यार्थीले मात्र राख्ने बालमनोविद् न्यौपानेको भनाइ छ ।
शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार विद्यार्थीले राम्रा÷नराम्रा सबै विद्यार्थीको उपनाम राख्ने गरेका छन् । ‘विद्यार्थीले राम्रा शिक्षकको पनि नाम राख्छन् नराम्राको पनि,’ उनले भने, ‘विद्यार्थीहरूले राखेको नामलाई शिक्षकले नकारात्मक रूपमा लिनुहुन्न । पातलोलाई ‘दाउरे’, मोटोलाई ‘भुँडे’, होचोलाई ‘पुड्के भन्छन् यसमा केको आपत्ति ।’ विद्यार्थीहरूले आफूलाई राखेको नाममा शिक्षकले पीडा बोध नगरी त्यसलाई सामान्य रूपमा लिनुपर्ने धारणा कोइरालाको छ ।
 
‘उपनाम राख्नु विद्यार्थीको स्वभाव हो’
डा. विद्यानाथ कोइराला,
शिक्षाविद्
राम्रो पढाउने शिक्षक सबै विद्यार्थीको प्यारो हुन्छ । प्यारो शिक्षकको कुनै विद्यार्थीले हत्तपत्त नाम राख्दैनन् । हुन त शिक्षकको उपनाम राख्नु विद्यार्थीहरूको स्वभावै हो । विद्यार्थीहरूले शिक्षकको मात्र हैन, आफ्नै साथीहरूको पनि विभिन्न उपनाम राख्छन् । उपनाम राख्नु ठूलो कुरा होइन । त्यसलाई शिक्षकले कुन रूपमा लिन्छन् भन्ने चाहिँ महŒवपूर्ण कुरा हो । कोही शिक्षक उपनाम राखेकै कारण विद्यार्थीसँग रिसाउँछ भने विद्यार्थीहरूले झनै जिस्काउँछन् । तर, त्यसलाई सामान्य रूपमा लियो भने विद्यार्थीले पनि बिस्तारै भन्न छोड्छन् ।
विशेष गरी, मन नपर्ने शिक्षकको नाम धेरै विद्यार्थीले राख्छन् । विद्यार्थीहरूले राखेका उपनामलाई सबै शिक्षकले सामान्य रूपमै लिन्छन् भन्ने छैन । कतिपयले त्यही कुरालाई नकारात्मक र पीडाका रूपमा पनि लिने गरेको पाइन्छ ।
विद्यार्थीहरूले जानेनन् भने शिक्षकले सिकाउँछन् । उनीहरूले टेरेनन् तह लगाउने काम पनि शिक्षकले गर्छन् । विद्यार्थीलाई तह लगाउन खोज्ने शिक्षकहरू नै उपनामका शिकार हुन्छन् । तर, शिक्षकले गरेको मेहनत हाम्रै लागि हो भनेर विद्यार्थीले बुझ्नु जरुरी छ ।
शिक्षकले पनि सधैँभरि एउटै पुस्तक दोहो¥याई÷ते¥याई पढाउनुभन्दा नयाँ–नयाँ कुराको बारेमा विद्यार्थीलाई जानकारी दिनुपर्छ । यसरी पढाउँदा सिकाइ पनि हुन्छ । विद्यार्थी पनि खुशी हुन्छ । यसरी शिक्षकहरूको उपनाम राख्ने चलनमा पनि केही परिवर्तन आउन सक्छ ।

 

Leave A Comment