मेसी सन्न्यासका तरंग

बिहिबार, १६ असार २०७३, १० : १४ शुक्रवार , Kathmandu
मेसी सन्न्यासका तरंग


विश्वभर रहेका लाखौँ समर्थकलाई निराश पार्दै लियोनल मेसीले राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय गरे । कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिना चिलीसँग टाइब्रेकरमा ४–२ ले स्तब्ध भएपछि मेसीले एक्कासि राष्ट्रिय टोलीबाट सन्न्यास लिने निर्णय गरेका थिए ।
मेसीको निर्णयले विश्वका लाखौँ समर्थक निराश बने । निराश बनेका ती लाखौँ समर्थकमध्ये एक हुन्, नेपाली फुटबल टोलीका कप्तान अनिल गुरुङ । मेसीलाई भाग्यले साथ नदिएको अनिलको भनाइ छ । ‘सबै उपलब्धी हात पारे पनि मेसीले राष्ट्रको लागि उपाधि जित्न सकेका छैनन् । मेसी संसारले पछ्याइरहेको खेलाडी हुन् । हरेक खेलमा उनले जादु देखाउन सक्छन्,’ अनिलले भने, ‘तर, उनलाई विश्वको नम्बर एक फुटबलर भए पनि केही दबाब चाहिँ थियो । त्यसले उनलाई सन्न्यास लिने निर्णयसम्म पु¥याएको हुन सक्छ ।’  

अनिल गुरुङ, कप्तान, नेपाली फुटबल टिम

विश्वकै नम्बर एक खेलाडी भएर पनि देशलाई उपाधि जिताउन नसक्दा उनलाई ठूलो दबाब थियो ।

‘उनले क्लब फुटबलमा जति सफलता हात पारेका छन्,’ उनले थपे, ‘त्यो राष्ट्रिय टोलीबाट हुन सकेको छैन । विश्वकै नम्बर एक फुटबलर भए पनि देशलाई उपाधि जिताउन नसक्दा उनलाई ठूलो दबाब थियो । तर, त्यसका कारणले अहिले नै मेसीले सन्न्यास नलिए हुन्थ्यौ ।’
सोमबार टाइब्रेकरमा मेसीको पहिलो प्रहार नै असफल भएको थियो । उनले पोस्टमाथि प्रहार गरे । लगातार चिलीसँग दोस्रो पटक पराजित भएपछि मेसीले भावुक हुँदै अब राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय गरे । मेसीको सन्न्यासले अमेरिकामा भएको कोपा अमेरिका फुटबल र फ्रान्समा भइरहेको युरो कप फुटबललाई केही दिन छायांमा पारिदियो ।

विनोद दास, नेपाली क्रिकेट टोलीका पूर्व कप्तान

मेसीले भावनामा डुबेर निर्णय गरेको भए फिर्ता लिए राम्रो हुन्थ्यो । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दास पनि मेसीको खेल्ने शैलीबाट प्रभावित छन् । मेसीले भावनामा डुबेर निर्णय गरेको भए फिर्ता लिए उपयुक्त हुने विनोदको भनाइ छ । ‘जुनसुकै खेलाडीले पनि सन्न्यास लिने निर्णय एक्कासि गर्दैन । उसले सोचविचार गरेर मात्र गर्छ । मेसीले पनि केही सोचेरै गरेका होलान्,’ विनोदले भने, ‘मेसी विश्वकै उत्कृष्ट फुटबर हुन् । लगातार उपाधि जित्न नसक्दा उनलाई दबाब थियो । नतिजाका कारणले मात्र उनले सन्न्यास लिने निर्णय गरेका हुन जस्तो लाग्दैन । किनकि, मेसीले अझै अर्को प्रतियोगितामा राष्ट्रलाई उपाधि जिताउन सक्ने क्षमता राख्छन् । उनको उमेर र फिटनेसले साथ दिइरहेको छ । यदि उनले भावुक भएर निर्णय गरेका हुन् भने निर्णय फिर्ता लिए हुन्थ्यो ।’
‘मैले पनि त्यो अवस्था भोगेको छु । एक समय मेरो नेतृत्वमा नेपाली क्रिकेट टोली उपाधि जित्न असफल भइरहेको थियो । धेरै प्रतियोगितामा हामी सेमीफाइनलमा पुग्दै हार्ने गरेको थियौँ । त्यस्तो बेला कप्तानलाई धेरै दबाब हुन्छ,’ आफ्नो विगत सम्झदै विनोदले भने,  ‘आफनो नेतृत्वमै केही कमजोरी छ कि भन्ने लाग्छ । मेसीलाई त्यही भएको हुनुपर्छ । जुन सुकै कारण भए पनि उनले सन्न्यास फिर्ता लिनु राष्ट्रको लागि फाइदा हुनेछ ।’
२९ वर्षे मेसीको कप्तानीमा अर्जेन्टिनाले लगातार तीन पटक मुख्य प्रतियोगिताको फाइनल खेल्यो । तर, तीन पटक अर्जेन्टिना र मेसी उपाधि जित्न असफल भए ।
अर्जेन्टिना सन् २०१४ को ब्राजिल विश्वकपमा जर्मनीसँग १–० ले निराश बनेको थियो । त्यसपछि २०१५ को कोपा अमेरिका फुटबलको फाइलनमा पनि अर्जेन्टिना चिलीसँग टाइब्रेकरमा पराजित भएको थियो ।
मेसी विश्व फुटबलमा एक सर्वोत्कृष्ट खेलाडीका रूपमा परिचित छन् । व्यावसायिक क्लबमा उनले सबैखाले उपलब्धि हासिल गरिसकेका छन् । तर, राष्ट्रिय टोलीबाट भने मुख्य प्रतियोगिता जित्न नसकेका कारण उनले घरेलु समर्थकबाट आलोचना खेप्दै आएका छन् । उनको आलोचनामा त पछिल्लो समय फुटबलका हस्ती डिएगो म्यारोडोना नै उत्रिए । अर्जेन्टिनालाई विश्वकप जिताइसकेको म्यारोडोनाले प्रतियोगिताको दौरान मेसीको नेतृत्व क्षमतामा कमी आइरहेको भन्दै आलोचना गरेका थिए । र, मेसीले त्यो आलोचना र चुनौतीलाई गलत साबित गर्नुपर्ने उनको तर्क थियो । प्रतियोगिता चलिरहेको बेला म्यारोडोनाले मेसीको आलोचना गरे । तर, मेसीले १९ मिनेटमा ह्याट्रिक गर्दै म्यारोडोनाको आलोचनाको जवाफ दिएका थिए । तर, फाइनलमा भने मेसी पुनः चुके । मेसीको सन्न्यासबारे अर्जेन्टिनाका प्रशिक्षक टाटा मार्टिनोले पनि विचार गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मेसी उत्कृष्ट फुटबलर हुन । उनले सन्न्यास लिन सहज निर्णय होइन । मेसी र राष्ट्रले त्यसमा धेरै विचार पु¥याउनुपर्छ ।’
अर्जेन्टिनाले पछिल्लो २३ वर्षदेखि उपाधि जित्न सकेको छैन । सन् १९९३ यता मेसी पहिलो पल्ट आफ्नो नेतृत्वमा टोलीलाई उपाधि दिलाउने अभियानमा थिए । तर, चिलीले पुनः एक पटक मेसी र अर्जेन्टिनाको २३ वर्षपछि उपाधि जित्ने लक्ष्यलाई लम्बाइदिएको छ ।
मेसी अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट ५५ गोल गरिसकेको छन् । तर, कोपा अमेरिका फुटबल फाइनल सकिएलगतै २९ वर्षे सुपरस्टार मेसीबाट अनपेक्षित रूपमा स्तब्धतापूर्ण घोषणा आयो, राष्ट्रिय टिममा उनको करिअर सकियो भनेर ।
कुनै औपचारिक कार्यक्रमविनै मेसीले सन्न्यासबारे बोल्दा अब आफू राष्ट्रिय टोलीका लागि उपयुक्त नभएको बताए । उनले भने,  ‘लकर रुममा मलाई लाग्यो राष्ट्रिय टोली अब मेरा लागि सकिइसकेको छ । यो अब मेरा लागि बाँकी रहेन । मलाई अहिले यस्तै लागिरहेको छ । ममाथि नियतिले अत्यन्तै ठूलो निराशाजनक प्रहार गरेको छ । मैैले पेनाल्टीमा गोल गर्न सकिनँ । त्यो पेनाल्टी धेरै महŒवपूर्ण थियो । त्यसले सबैलाई राम्रो गर्ने थियो । सधैँ फाइनलमा पुग्ने तर नजित्ने नतिजा स्वीकार्य हुँदैन ।’

Leave A Comment