कन्सल्ट्यान्सीलाई साख जोगाउनै गाह्रो

आइतबार, १३ चैत २०७३, १२ : ४२ सृजना खड्का , Kathmandu
कन्सल्ट्यान्सीलाई साख जोगाउनै गाह्रो

प्रायः एजुकेसनल कन्सल्ट्यान्सीले ठगीको आरोप खेप्दै आएका छन् । दर्ता नै नभएका कतिपय कन्सल्ट्यान्सीका कारण नियमावलीअनुसार काम गर्ने धेरै कन्सल्ट्यान्सीलाई समेत आरोप खेप्नुपरेको सञ्चालकहरू बताउँछन् । ‘कन्सल्ट्यान्सीजति सबै ठग हुन्’ भन्ने नकारात्मक सोचको मारमा आफूहरू परेको बताउँछन्, सीएसके ल्याङ्वेज एन्ड कन्सल्ट्यान्सीका प्रबन्ध निर्देशक रोबिन श्रेष्ठ । ‘यस्ता खाले भ्रम हटाउन कन्सल्ट्यान्सीले राम्रो प्रस्तुति दिनुपर्ने हुन्छ,’ उनले भने, ‘हामीले गरेको काम र सिकाएका कुराले विद्यार्थीले विदेशमा गएर गर्व गर्न सकून् ।’
श्रेष्ठका अनुसार दर्ता नै नभएका केही कन्सल्ट्यान्सीले अरू कन्सल्ट्यान्सीलाई अप्ठ्यारोमा पारेका छन् । ‘झुठो विज्ञापन दिएर ठगी गर्नेहरू पनि छन् यहाँ । विज्ञापन एउटा गर्ने र काम अर्को गर्ने,’ उनले भने, ‘यस्तो प्रवृत्ति ठीक होइन । तर, सबै कन्सल्ट्यान्सी ठग भने होइनन् ।’ कन्सल्ट्यान्सी सञ्चालकले आफू दिने गुणस्तरमा कुनै सम्झौता गर्न नहुने श्रेष्ठ बताउँछन् ।
भ्याली इन्टरनेसनल इन्स्टिच्युट अफ स्टडी अब्रोडका खेम बुढाथोकीले शिक्षा मन्त्रालय, इक्यान वा अन्य सम्बन्धित संस्थाबाट अनुमति लिएर मात्र कन्सल्ट्यान्सी चलाउनुपर्ने बताए । यति मात्र नभई कुनै पनि कन्सल्ट्यान्सीमा आबद्ध हुँदा विद्यार्थीले त्यसबारे सम्पूर्ण जानकारी लिनुपर्ने उनको भनाइ छ । ‘कन्सल्ट्यान्सीबारे सबै जानकारी लिएपछि मात्र त्यसमा आबद्ध हुनुपर्छ र अरू प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘गल्लीपिच्छे नियमविपरीत खुलेका कन्सल्ट्यान्सीकाका कारण नाम चलेका र राम्रो छवि भएका कन्सल्ट्यान्सी पनि बदनाम भएका छन् ।’
‘पाँच हजार तिरेपछि कन्सल्ट्यान्सी खोल्न पाइन्छ । जसले जहाँ पनि खोलिदिन्छन्,’ उनले थपे, ‘सोझासाझा विद्यार्थी र जनता झुटा विज्ञापनमा फस्ने गरेका छन् ।’ यस्ता खाले समस्याको न्यूनीकरण गर्न सबैभन्दा पहिला विद्यार्थी स्वयं सचेत हुनुपर्ने बुढाथोकी बताउँछन् ।
डिल्लीबजारको सक्सेस एजुकेसन कन्सल्ट्यान्सीका प्रज्वल बस्नेत झुटको सहारा लिने कन्सल्ट्यान्सीको आयु लामो नहुने बताउँछन् । ‘केहीले ठगीको बाटो अपनाए भन्दैमा सबैलाई एउटै भाँडोमा हालेर दाँज्न मिल्दैन,’ उनले भने, ‘शिक्षा मन्त्रालयको नियमावली पालना गरेर अगाडि बढिरहेका कन्सल्ट्यान्सीमा यो खालको समस्या देखिएको छैन ।’

 

Leave A Comment