धरान–१५, ललितटोलका युवाहरूको साइकल हरायो । खोज्दै जाँदा हराएको साइकल त्यही वडाको गणतन्त्रबस्तीमा भेटियो । तर, चोर पत्ता लागेन ।
चोर खोज्दै गणतन्त्रबस्ती पुगेका युवाहरू ठेलामा बिक्री भइरहेको आइसक्रिम खाँदै थिए । स्थानीय २६ वर्षीय भक्त राईले व्यंग्य गरे, ‘आइसक्रिम किनेर हो कि त्यत्तिकै खाको हौ ?’ निहुँ पुगिहाल्यो । दुई पक्षबीच झगडा सुरु भयो । विवाद बढ्दै जाँदा दुई समूहबीच छुरा हानाहान गयो । दुई समूहबीच ‘ग्याङफाइट’ हुँदा भक्तको पेट र छातीमा छुरा लाग्यो । रक्ताम्य भएका उनलाई अस्पताल पु¥याउनेबित्तिकै ज्यान गयो ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ललितटोलका शुक्रराज राई, रत्न खत्री र प्रज्वल तामाङलाई घाइते अवस्थामा पक्राउ ग¥यो । उनीहरूमध्ये शुक्रको औँला छिन्यो । रत्नको टाउकोमा चोट लाग्यो भने प्रज्वलको कोखामा छुराका चोट लाग्यो । उनीहरूपछि प्रहरीले विवेक भुजेल र सरोज परियारलाई पक्राउ गरेको छ भने अन्य फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
युवा समूहहरू बीचको ग्याङफाइट धरानका लागि नयाँ विषय होइन । तर, केही वर्षयता हुन छाडेको ग्याङफाइट फेरि लगातार हुन थाल्दा धरानवासीमा असुरक्षाको त्रास बढेको छ । यसअघि गत माघ १६ गतेको साँझ धरान–१८, शिवमार्गमा सन्तोष विक र दिवस राईको समूहबीच ग्याङफाइट प¥यो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका विकको समूहले एमालेको युवा संघका धरान नगर इन्चार्ज रहेका राईलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनायो ।
त्यसभन्दा अघि गत असार १५ गते उनै विकले भानुचोकमा सञ्चालन गरेको मालिंगो रेस्टुरेन्टमा दुई समूहबीच ग्याङफाइट भयो । त्यस घटनामा होटल सञ्चालक विकको समूहको आक्रमणबाट सञ्जयकुमार राई र प्रकाश लिम्बू घाइते भएका थिए । उनीहरूले किटानी जाहेरी दिए पनि विक पक्राउ परेनन् । केही समय लुकेका उनलाई जिल्ला अदालतले ४५ हजार रुपैयाँ धरौटी लिएर छाड्यो । शिवमार्गको ग्याङफाइटमा पनि घटनास्थलबाटै पक्राउ परेका थिए विक । त्यसबेला पनि प्रहरीले केही दिन अनुसन्धानपछि निर्दोष साबित गर्दै उनलाई छाडिदियो । एकपछि अर्को ग्याङफाइटमा उनीलगायत दोषीहरूले उन्मुक्ति पाउँदै गए । राजनीतिक दल र प्रहरी प्रशासनबाटै दोषीलाई निर्दोष साबित गर्ने काम भएपछि आपराधिक मानसिकता भएका अन्य युवाहरूको पनि मनोबल बढ्यो । त्यसैको परिणाम अहिले धरान ग्याङफाइट, हत्या, कुटाकुटजस्ता घटनाले अशान्त छ ।
एक दशकअघिसम्म धरानको अवस्था लगभग यस्तै थियो । २०५६ पुसमा चतरालाइन र शान्तिपथका युवाहरूबीच झगडा भयो । चतरालाइन र भिक्टोरिया चोकका केही युवा मिलेर शान्तिपथका युवाहरूलाई कुटपिट गरेपछि भिक्टोरिया चोक र शान्तिपथका दुई ग्याङ जन्मिए । त्यसपछि उनीहरूबीच जहाँ भेट्यो, त्यहीँ ग्याङफाइट हुन थाल्यो । २०६० सालको कात्तिक १४ गते धरानको देउराली चोकमा देउसी खेलिरहेका भिक्टोरिया चोकका युवाहरूमाथि शान्तिपथको ग्याङले आक्रमण गर्दा निर्दोष विष्णा लिम्बूको ज्यान गयो । प्रहरी र स्थानीयको सक्रियतामा हत्यामा संलग्न दर्जनभन्दा बढी युवालाई जेल पठाइएपछि कम हुँदै गएको ग्याङफाइट यो वर्ष फेरि बढ्यो । अहिले ग्याङफाइटमा कुनै पहिलाकै घटनाहरूमा जोडिएका युवाहरू छन् भने कोही नयाँ पनि छन् ।
२०५८ कात्तिक १३ गते धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्वोमाथि एउटा ग्याङले कट्टी प्रहार गरेको थियो । घटनापछि उनकै संयोजकत्वमा गठन भएको नगर सुरक्षा समन्वय समिति पछि त्यत्तिकै निष्क्रिय भयो । अहिले पनि धरानमा स्थानीयको त्यस्तै समिति आवश्यक रहेको धरानवासीको बुझाइ छ । प्रहरी निरीक्षक राजेन्द्र पराजुली भन्छन्, ‘युवाहरूबीच फाइट पर्ने क्रम बढिरहेको छ । यसको नियन्त्रणका लागि समाज र प्रहरी मिलेर काम गर्नुपर्छ ।’
पूर्वमा बढी अपराधका घटना हुने गरेको धरानमा पछिल्लो समय दुई गाविस गाभिएपछि जनसंख्या अझै बढेको छ । तर अन्य शहरको तुलनामा प्रहरी कार्यालयसँग जनशक्ति कम छ । भएको जनशक्तिलाई प्रयोग गरेर पनि प्रहरीले नगरवासीलाई सुरक्षाको प्रत्याभूति दिन सकेको छैन । प्रहरीमाथि राजनीतिक र सामाजिक दबाब रहेको धरानमा सबैभन्दा धेरै जनसंख्या भएको राई जातिको संस्था किरात राई यायोक्खा सुनसरीका सचिव हिन्दूहाङ राई बताउँछन् । धरानमा अशान्ति बढेको भन्दै यायोक्खाका तर्फबाट प्रहरीलाई ध्यानाकर्षण गराउन पुगेका राई भन्छन्, ‘प्रहरीले पनि राजनीतिक दल र सामाजिक दबाबमा अपराधी छाड्ने गरेको छ । सबै जातीय र समाजिक संघसंस्था मिलेर अपराध नियन्त्रणको योजना बनाउनु आवश्यक छ ।’
Leave A Comment