अंग्रेजी साहित्यका विद्यार्थी युवराज मास्की रानामगर फिल्म भनेपछि हुरुक्कै हुन्थे । विदेशी र नेपाली फिल्ममा उत्तिकै मोह राख्ने युवराजले थुप्रै फिल्म हेरे । नेपाली फिल्म पनि उनले पाएसम्म र भेटेसम्म हेरे । तिनमा आफ्नो समुदायको अनुहार खासै भेटाएनन् । उनलाई लाग्यो, उसो भए हामीले सेतो पर्दामा किन उपस्थिति नजनाउने ? २०५१ सालमा युवराजले ‘लंघन’ फिल्म निर्देशन गरे ।
हिमालयन कल्चर मुभिजको ब्यानरमा निर्माण गरे । रहरै रहरमा फिल्म निर्देशनमा छिरेका युवराजको यही फिल्मले मगर फिल्म निर्माणको इतिहास सुरु ग¥यो । लगत्तै २०५२ सालमा युवराजले नै पहिलो गुरुङ फिल्म ‘पाते’ निर्देशन गरेर गुरुङहरूलाई पनि सेतो पर्दामा छिर्ने बाटो खोलिदिए । अहिले एकपछि अर्को गुरुङ फिल्म धमाधम बनिरहेका छन् । अहिलेसम्म दुई सयभन्दा बढी फिल्म बनाएर गुरुङ फिल्म नेपालको दोस्रो ठूलो फिल्म उद्योगको रूपमा उदाएका छन् । ठीक यतिबेला मगर फिल्मको इतिहास भने जोगाउनै मुस्किल भएको छ ।
इतिहासलाई निरन्तरता दिँदै गुरुङ फिल्म देशविदेशमा धमाधम प्रदर्शन भइरहेको बेला मगर फिल्म भने आक्कलझुक्कल मात्रै प्रदर्शन हुने गर्छन् । बसोबासको हिसाबले पूर्व मेचीदेखि पश्चिम महाकालीको कुनाकुनामा मगर जाति फैलिए पनि फिल्म देखाउन सकिएको छैन । मगर कथानक नेपाली भाषाका फिल्म तथा मगर भाषाका फिल्मरु एकाध निर्माण भए पनि अवस्था नाजुक छ । ‘गुरुङ समुदायको जस्तो सहयोगी र एक ढिक्का भएर फिल्मकर्मीलाई प्रमोसन गर्नुपर्छ भन्ने ज्ञान हाम्रो समाजमा अझै छैन,’ मगर चलचित्रकर्मी संघका उपाध्यक्ष एवं निर्देशक मेजन पुन भन्छन् ।
कोही आफ्नो भाषा, संस्कृतिलाई फिल्मका माध्यमबाट संवद्र्धन गर्ने भन्दै हाम फालेका छन् । कोही रहरले फिल्म लाइनमा आएका छन् । कोही समाज रूपान्तरणमा योगदान दिने भन्दै फिल्मको सहारा लिइरहेका छन् । कोही भने पर्दामा देखिने रहर पूरा गर्न र कलाकारको रूपमा दर्ज हुन फिल्ममा आएका छन् । केही यस्ता व्यक्ति छन् जसले फिल्म बुझेर लागेका छन् । फिल्म निर्देशक÷छायांकार सन्तोष पिठाकोटेमगर फिल्म बन्ने क्रम बढ्नुलाई स्वाभाविक ठान्छन् । मगर फिल्म बन्ने लहर चलिरहेको बेला धेरैजसो व्यक्ति लहैलहैमा, केही व्यक्ति रहरले यो क्षेत्रमा प्रवेश गरेको सुनाउँछन् उनी । ‘कोही बुझेर आएका छन् । कोही नबुझेर आएका छन्’ उनी भन्छन्, ‘तर, बजार अझै पनि सुरक्षित छैन, बुझेर मात्रै फिल्ममा लाग्दा राम्रो हुन्थ्यो जस्तो लाग्छ ।’
फिल्मले भाषा, धर्म र संस्कृतिको उठान त गरेका छन् । तर, तिनकै समुदायको भरपर्दो सहयोग छैन । धेरै फिल्मकर्मीले नाफा कमाउनभन्दा पनि संस्कार र संरक्षण गर्न जनमत बनाउने हिसाबले फिल्म बनाइरहेका छन् । मगर फिल्महरू कुनै ऐतिहासिक, कुनै यथार्थपरक, कुनै शिक्षामूलक त कुनै शुद्ध मनोरञ्जनका लागि निर्माण गरिएका छन् । फिल्मले संस्कृति हस्तान्तरण, अन्वेषण, भाषा पुनःउपयोग र जातीय जागरण÷सचेतना ल्याउनेसमेत गर्छ । ‘सबैभन्दा पहिले आफ्नै समुदायले सहयोग गर्नुपर्छ । अनि मात्र मगर फिल्मको इतिहास जोगाउन सकिन्छ,’ मगर चलचित्रकर्मी संघका महासचिव हिमाल पुन भन्छन्, ‘हाम्रै समुदायबाट फिल्म बनाउने निर्माता र निर्देशक बीचको टकरावले पनि फिल्म कम बनेका हुन् ।’ महासचिव पुनका अनुुसार अहिलेसम्म मगर चलिचित्रकर्मी संघको आधिकारिक तथ्यांकमा छोटा फिल्म, फिल्म, डकुमेन्ट्री गरेर करिब ५० जति दर्ता भएका छन् ।
Leave A Comment