प्राविधिक शिक्षामा झुम्मिँदै विद्यार्थी

शुक्रबार, १७ असार २०७३, १० : ४५ शुक्रवार , Kathmandu
प्राविधिक शिक्षामा झुम्मिँदै विद्यार्थी

धेरै व्यावहारिक, थोरै सैद्धान्तिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका निम्ति प्राविधिक शिक्षा उपयुक्त विकल्प हो । तिनै विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । पछिल्लो समय प्राविधिक शिक्षातर्फ धेरै विद्यार्थी आकर्षित भएका छन् ।
प्राविधिक शिक्षालयमा भर्नाका लागि आवेदन बुझाउने विद्यार्थीको संख्याले प्राविधिक शिक्षाको बढ्दो आकर्षणको पुष्टि गर्छ । सीटीईभीटीका उपनिर्देशक गेहेन्द्र कार्की छोटो समयमा व्यावहारिक शिक्षा आर्जनसँगै कम लगानीमा स्वरोजगार बन्न सकिने भएकाले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढेको बताउँछन् ।
सीटीईभीटीअन्र्तगत प्राविधिक शिक्षालय, सम्बोधन लिएका आंगिक क्याम्पस तथा प्राइभेट क्याम्पस तथा विद्यालयमा झन्डै डेढ लाख विद्यार्थीले भर्नाका लागि आवेदन बुझाउँछन् । सीमित सीटका कारण ५० हजार जति विद्यार्थीले मात्रै भर्ना पाउने उपनिर्देशक कार्कीले बताए ।
‘प्राविधिक शिक्षा हासिल गरेपछि आफ्नो क्षमताअनुसार रोजगारी पाउँछन्,’ उनले भने, ‘प्राविधिक शिक्षा काम गरी खाने शिक्षा हो । जसले मेहनत र परिश्रम गर्छ । उसले सफलता चुमेकै हुन्छ ।’ प्राविधिक शिक्षा लिएकामध्ये ८० प्रतिशतभन्दा धेरै स्वरोजगार बनेको तथ्यांक रहेको परिषद्ले जनाएको छ ।

उपनिर्देशक कार्कीका अनुसार प्राविधिक शिक्षाले सैद्धान्तिकभन्दा व्यावहारिक पक्षलाई फोकस गरेकाले विद्यार्थीको आकर्षण बढेको हो । ‘सस्तो शुल्कमा जीवनोपयोगी सीप सिकाएका छौँ । त्यसैले विद्यार्थीको चाप बढेको हो,’ उनले भने ।
सीटीईभीटीले फरकफरक क्षमता भएका विद्यार्थीलाई लक्षित गरेर तीनवटा कार्यक्रम सञ्चालन गरेको छ । एसएलसी परीक्षामा १ दशमलव ६ जीपीएभन्दा थोरै ल्याउने विद्यार्थीका लागि टीएसएलसी कार्यक्रम सञ्चालन गर्दै आएको  उनले बताए ।
‘अघिल्लो वर्षहरूमा टेस्ट परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई समेट्ेर २९ महिने टीएसएलसी कार्यक्रम सञ्चालन गर्दै आएका थियौँ । उक्त कार्यक्रमलाई अहिले १८ महिना कायम गरेका छौँ,’ उनले भने ।
छोटो अवधिको लागि सञ्चालित कार्यक्रममा जुनसुकै उमेर समूहका विद्यार्थी सामेल हुन सक्ने सीटीईभीटीले जनाएको छ । यसअन्तर्गत प्लम्बिङ, वायरिङ, वल्डिङलगायत सीपमूलक कार्यक्रम समेट्ेको छ ।
सीटीईभीटीले तीन वर्षे डिप्लोमा कार्यक्रमअन्तर्गत विविध कार्यक्रमलाई समावेश गरेको जनाएको छ ।
तीन वर्षे डिप्लोमा कार्यक्रम
तीन वर्षे डिप्लोमा कार्यक्रमअन्तर्गत नर्सिङ, जनरल मेडिसिन, सिभिल इन्जिनियरिङ, ल्याबरोटरी टेक्निसियन, एग्रीकल्चर साइन्स, फार्मेसी, कम्प्युटर इन्जिनियरिङ, रेडियोग्राफी, इलेक्ट्रिकल इन्जिनियरिङ, डेन्टल साइन्स, एनिमल साइन्स आर्किटेक्चर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, सर्भे, ओभरसियर, फुड टेक्नोलोजी, इन्फरमेसन टेक्नोलोजी होमियोपेथिक, फरेस्टी, अटोमेकानिक, बायोे मेडिकललगायत विषय अध्ययन गर्न सकिने सीटीईभीटीले जनाएको छ ।
टीएसएलसी कार्यक्रम
टेस्ट परीक्षा उत्तीर्ण गरेका तर एसएलसी  परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई लक्षित गरेर यसअघि २९ महिने कार्यक्रम टीएसएलसी सञ्चालित थियो । अहिले ती कार्यक्रम १८ महिनेमा झारिएको सीटीईभीटीले जनाएको छ । एसएलसीमा न्यून ग्रेड ल्याउने विद्यार्थीले टीएसएलसीमार्फत  विभिन्न विषय अध्ययन गर्न सकिने सीटीईभीटीका उपनिर्देशक कार्कीले जानकारी दिए । टीएसएलसी अन्तर्गतका कार्यक्रममा हरेक ग्रेडले आवेदन दिन पाउँछन् । साक्षर व्यक्तिका लागि मात्र पनि कार्यक्रम चलिरहेका छन् । टीएसएलसीभित्र इन्जिनियरिङ, आयुर्वेद, कुलिनरी आर्ट, अटोमोबाइल, टेक्सटाइल, कृषि, अफिस म्यानेजमेन्टलगायत कार्यक्रम सञ्चालित छन् । 

Leave A Comment