रोजाइमा होटल म्यानेजमेन्ट

शुक्रबार, १७ असार २०७३, १० : ५२ गोपाल दाहाल , Kathmandu
रोजाइमा होटल म्यानेजमेन्ट

एसएलसीपछि के पढ्ने ? पहिला अधिकांश विद्यार्थीको रोजाइ साइन्स वा म्यानेजमेन्ट हुन्थ्यो । तर, अहिले समय फेरियो । अवसर फेरिए र विद्यार्थीको मनस्थिति पनि फेरियो । अहिले धेरै विद्यार्थीको रोजाइ बन्दै गएको छ, होटल म्यानेजमेन्ट ।
होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट पढाइ हुने धरानको नवोदय यूएन कलेजमा यस पटकको एसएलसी नतिजा सार्वजनिक भएपछि होटल म्यानेजमेन्टबारे बुझ्न र भर्ना गर्न आउनेको संख्या बाक्लो छ । २०७२सालको प्लस टूअन्तर्गत कक्षा ११ को वार्षिक परीक्षामा होटल म्यानेजमेन्टतर्फ ७६.८ प्रतिशत अंक ल्याएर आकाश तामाङ पूर्वाञ्चलमा प्रथम भए । ७५.६ प्रतिशत ल्याएर सजना राई पूर्वाञ्चलमा दोस्रो र ७५ प्रतिशत अंक ल्याएर उत्सव ढकाल पूर्वाञ्चलमा तेस्रो भए । तीनैजना नवोदय यूएन कलेज धरानका विद्यार्थी हुन् । चार वर्षअघिबाट प्लस टूमा होटल म्यानेजमेन्ट पढाउन थालेको कलेजमा अहिले आठवटा सेक्सनमा ४० विद्यार्थीका दरले होटल म्यानेजमेन्ट पढाइ हुन्छ । अर्थात् नवोदय यूएनमा तीन सय हाराहारी विद्यार्थी होटल म्यानेजमेन्ट पढिरहेका छन् ।
धरानमा पहिलो पटक समिट उच्च माविले होटल म्यानेजमेन्ट सुरु गरेको थियो । त्यसपछि उच्च माविमा होटल म्यानेजमेन्ट पढाउने लहर चलेको छ । अहिले नवोदय यूएन, समिटसँगै धरान उच्च मावि, धरान आदर्श उच्च मावि, विजयपुर उच्च मावि, भिक्ट्री उच्च मावि लगायतले प्लस टूमा होटल म्यानेजमेन्ट पढाइ रहेका छन् भने गौरी गणेश होटल र कान्तिपुर होटल म्यानेजमेन्ट ट्रेनिङ सेन्टरले तालिम सञ्चालन गरिरहेका छन् । पूर्वमा हालसम्म त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा उच्च मावि तहको मात्र होटल म्यानेजमेन्ट पढाइ हुन्छ । विराटनगरको सास्थम कलेजले भने पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनबाट बीएचएम (ब्याचलर्स अफ होटल म्यानेजमेन्ट) पढाइ रहेको छ । आन्तरिक झमेला र ढिलाइका कारण पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्ध लिएका कलेजमा पढ्न विद्यार्थीको त्यति रुचि देखिँदैन । त्यसैले पूर्वका विभिन्न कलेजमा कक्षा ११ र १२मा होटल म्यानेजमेन्ट पढेका विद्यार्थी बीएचएम गर्न कि काठमाडौँ कि विदेशतिर जाने गरेका छन् ।
होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्नुको मुख्य कारण तुरुन्त रोजगार पाइने क्षेत्र भएर पनि हो । अहिले देशमा भएका धेरैजसो होटल, रेस्टुरेन्टमा पढेर नभई परेर सिकेका कामदार छन् । काम गर्दागर्दै सिकेका यस्ता जनशक्तिसँग काम राम्रै गर्ने ज्ञान भए पनि होटल व्यवस्थापनको सैद्धान्तिक ज्ञान हुँदैन । त्यसैले पनि अन्तर्राष्ट्रिय स्तरका पाहुनालाई स्वागत गर्न सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान आवश्यक पर्ने हुँदा आधुनिक र ठूला होटलले पढेकै जनशक्ति खोज्छन् । नेपालमै पनि नयाँनयाँ पर्यटकीय स्थलको विकास, ठूल्ठूला होटल रेस्टुरेन्टको स्थापना हुँदै जाँदा पढेका जनशक्तिको माग बढ्दो छ । वैदेशिक रोजगारीमा गएर फर्किनेले समेत विदेशको संस्कार बुझ्न थालेकाले साना रेस्टुरेन्टले पनि होटलसम्बन्धी सैद्धान्तिक ज्ञान भएका जनशक्ति खोज्छन् । त्यसैले सानादेखि ठूला होटल, रेस्टुरेन्टमा होटल म्यानेजमेन्ट पढ्नेको ठूलो माग छ । त्यसबाहेक धेरैजना विदेश जानका लागि पनि होटल म्यानेजमेन्ट पढ्न आकर्षित भएको पाइन्छ ।
विशेष गरी युरोपियन मुलुकमा होटल म्यानेजमेन्ट पढ्नेहरूको माग धेरै छ । राम्रो आम्दानीसमेत हुने भएकाले होटल म्यानेजमेन्ट पढ्न चाहने युवापुस्ताको संख्या बढेको यूएन कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो बताउँछन् । उनी भन्छन्, ‘यहाँ प्लस टू पढ्ने विद्यार्थी काम र पढाइ दुवैका लागि विदेश जाने पनि धेरै छन् । यो विषयमा पढेको कुरा खेर जाँदैन । त्यसैले विद्यार्थीको आकर्षण बढेको हो ।’
होटल म्यानेजमेन्ट पढेर यसैमा व्यावसायिक बन्न इन्टर मिडिएट (प्लस टू) मात्र पास गरेर पुग्दैन । यो लेवलमा होटल म्यानेजमेन्टसम्बन्धी सामान्य ज्ञान हुन्छ र स–साना अवसर पनि पाइन्छ तर व्यावसायिक बन्न ब्याचलर्स (बीएचएम) गर्नु आवश्यक हुन्छ । बीएचएमको चार वर्षे कोर्स सकेपछि देशकै राम्रो होटलमा सेफ बनेर नयाँनयाँ खानाका आइटम उत्पादन गर्न सक्ने जनशक्ति तयार हुन्छ भने विदेशमा पनि बीएचएम गर्नेको माग धेरै हुन्छ । अरूको रोजगारी गर्न मन नहुनेले आफैँ होटल, रेस्टुरेन्ट खोलेर सञ्चालन गर्ने क्षमताको समेत विकास हुने हुँदा स्वरोजगार बन्ने र अरूलाई रोजगारी दिने अवसर पनि बन्न सक्छ होटल म्यानेजमेन्ट ।
अरू विषयभन्दा छिटो अवसर पाइने भएकाले पनि यो विषयमा विद्यार्थीको आकर्षण बढ्दो छ । यस पटकको ग्रेडिङ प्रणालीले डी प्लससम्म ल्याउने विद्यार्थीमध्ये अंग्रेजीमा ४० अंक कटाएका विद्यार्थीले होटल म्यानेजमेन्ट पढ्न पाउने छन् । तर, पूर्वमा राम्रो अंक ल्याउनेहरू नै यसतर्फ आकर्षित छन् । पहिला राम्रो पढाइ भएका विद्यार्थीमा साइन्सपछि म्यानेजमेन्टमा आकर्षण थियो अहिले साइन्सपछि होटल म्यानेजमेन्ट र त्यसपछि मात्र म्यानेजमेन्टमा विद्यार्थी आकर्षण छ । होटल म्यानेजमेन्टका प्रशिक्षक गगन श्रेष्ठ भन्छन्, ‘नेपालीहरूमा आधुनिकीकरणको अनुशरण गर्ने क्रम बढेसँगै केही वर्षयता हरेक व्यक्तिमा होटलमा गएर खाने, बस्ने, टेबल शिष्टाचारबारे चासो बढेको छ । त्यसैले यो विषय पढ्न चाहने बढ्नु पनि स्वाभाविक हो ।’

Leave A Comment