‘बोता’को विशेष मःमः

मङ्गलबार, १२ बैशाख २०७४, ११ : ५६ शुक्रवार , Kathmandu
‘बोता’को विशेष मःमः

खाजाका लागि काठमाडौँमा मःमः सबैभन्दा लोकप्रिय र सुलभ परिकार हो । सस्तो पनि पर्ने र पेट पनि भरिने मःमः जुनसुकै चोक तथा गल्लीमा सजिलै उपलब्ध हुन्छ । स–साना सटरमा खुलेका खाजा पसलदेखि नाम चलेका रेस्टुरेन्ट र पाँचतारे होटलको मेनुमा पनि मःमः समेटिएको हुन्छ । होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्नेहरूले खाजाको यो परिकार समेट्न छुटाउँदैनन् । सर्वसुलभ रूपमा पाइने मःमःलाई नै ब्रान्डिङ गर्ने उद्देश्यले निभेन अमात्यले काठमाडौँको कमलपोखरी, अनामनगर र ललितपुरको कुमारीपाटीमा थरी–थरी मःमः पाइने ‘बोता’ नाम गरेको फास्टफुड रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।
आठ महिनामै तीन वटा आउटलेट सञ्चालनमा ल्याइसकेको बोताले छिट्टै थप दुई वटा आउटलेट सञ्चालन ल्याउने तयारी गरिरहेको छ । ‘बोता सिम्प्ली मःमः’ भन्दै मःमःलाई फोकस गरेर यसलाई ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम गरिरहेको सञ्चालक निभेनले बताए । ‘‘सस्तो, छिटो र मीठो’ हाम्रो स्लोगन हो,’ सञ्चालक निभेनले भने, ‘हामी ग्राहक टेबुलमा बसेको दुईदेखि पाँच मिनेटमा खाना सर्भ गर्न सक्छौँ । क्वालिटी, फास्ट सर्भिस र क्लिननेस हाम्रा विशेषता हुन् ।’  
काठमाडौँमा खाजाका रूपमा मःमः निकै लोकप्रिय छ । जतासुकै सस्तो मूल्यमा पाइने यो खाजाका परिकारलाई बोताले नयाँ तरिकाले ब्रान्डिङ गर्न प्रयास गरिरहेको निभेन बताउँछन् । ‘मानिसले बढी रुचाउने खानालाई फास्ट फुडको अवधारणाअनुसार सस्तो, छिटो र मीठो स्वादमा पस्कने जमर्को गरेकै कारणले बोताको मःमःलाई ग्राहकले रुचाइदिनुभएको हो,’ सञ्चालक निभेनले भने । सबैभन्दा बढी खाइने खाजाको परिकारलाई फरक ढंगले प्रस्तुत गरेर बोताले ग्राहकको मन जितिरहेको छ ।
बोतामा स्टिम, ओपन, कोथे, साँधेको, सी, फ्राइड, ओपन, झोल मःमःको स्वाद लिन सकिन्छ । यसै गरी नेवारी तथा नेपाली खाजा सेट, पिरो आलु, आलु फ्राइडलगायत स्टिक फुड पनि बोतामा उपलब्ध छन् । चिकेन विङ्स, ड्रमस्टिक, चिकेन ललिपप, पनिर चिल्ली, पनिर साँदेको परिकार पनि बोतामा पाइन्छन् । सेन्ट्रल किचेनमा तीन वटै आउटलेटका लागि चाहिने मरमसला तथा किमा तयार पारिने भएकाले तीन वटा ठाउँको एउटै स्वाद छ ।

 

Leave A Comment