सडक र बारीका कान्लामा ढकमक्क गुलाब फुलेका । पुराना शैलीका घरहरूका वरिपरि पनि रंगीचंगी फूलहरू ।
वरिष्ठ गायक दीप श्रेष्ठलाई यिनै ढकमक्क फुलेका गुलाबले आकर्षित गरे । ‘अहिले नै फोटो खिचौँ, एकछिनमा रात परेपछि देखिँदैन,’ दीप रौसिएर फूल छेउमा उभिएर फोटो खिचाए । दीपजसरी नै फूलसँग फोटो खिच्न उत्साहित बने, हङकङ नेपाली महासंघका निर्वतमान अध्यक्ष प्रदीप थापा । बेग्लै किसिमको पर्यावरण र जीवनशैली रहेको धनकुटाको नाम्जेले दीप र प्रदीपलाई जस्तै धेरैलाई लोभ्याउने गर्छ ।
नाम्जे डाँडामा पहिला पनि धेरै पटक पुगेका हुन् दीप तर अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा भएको यो ठाउँमा होम–स्टे गर्ने अवसर भने पाएका थिएनन् । त्यही रहरले उनलाई तानेर ल्याएको थियो । ‘साथीहरूले पहिलादेखि भनेका थिए, नआई मनै मानेन, त्यसपछि काम छाडेर हिडेँ,’ दीपले सुनाए । नाम्जेको सौन्दर्यमा रमाउन लालायित हुनेमा एनआरएन हङकङका अध्यक्ष ललित आङ्बुहाङ, हङकङकै शिक्षासेवी, व्यवसायी धन थापा पनि पर्छन् । ‘धेरै पटक सुनेको भए पनि होम–स्टे गर्ने पहिलो पटक अवसर जुर्यो, सारै रमाइलो लाग्यो,’ आङ्बुहाङले खुशी व्यक्त गरे ।
होम–स्टेमा रमाउन धराने गायक एपी शेर्पा, इटहरीबाट बाँसुरीवादक÷ गायक बलराम समाल, संगीत पारखी ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सन्त डुम्जन पनि नाम्जे पुगे । धरानका होटल व्यवसायीहरू सुवर्ण श्रेष्ठ, अमृत मानन्धर, किरण कार्की लगायत पनि नाम्जे पुगे । पाहुनाहरूलाई स्वागत गर्न होम–स्टे सञ्चालक अनिल राना पहिल्यैदेखि तयार थिए । एकैछिनमा भेडेटार होटल एसोसिएसनका अध्यक्ष लीलाराज लावती, सचिव जीतेन्द्र रुम्दाली, कलाकार रोजन राई, व्यसायी रमेश श्रेष्ठ लगायतको टोली पनि नाम्जे पुग्यो । स्थानीय पञ्चकन्या समूह र महिला समूहको टोलीले मगरहरूको मौलिक हुर्रा नाच देखायो पाहुनाहरूलाई । गायक दीप श्रेष्ठ, बलराम समाल, एपी शेर्पा लगायतले पनि गीत सुनाए स्थानीयलाई ।
पूर्वको सुन्दर पर्यटनस्थल भेडेटार नजिकैको नाम्जे केही वर्षयता यहाँको पर्यावरण, होम–स्टे, संस्कृतिजस्ता कारणले चर्चामा छ । अमेरिकी समाचार संस्था सीएनएनले ‘नसुनिएका उत्कृष्ट गन्तव्य’को सूचीमा राखेपछि नाम्जे एकाएक चम्कियो । नाम्जे घुम्न आउनेहरूको संख्या ह्वात्तै बढेको छ । जनसंख्या बाक्लिँदो छ । होम–स्टे गर्न विभिन्न ठाउँबाट समूहहरू आउन थालेका छन् ।
मगर जातिको पुरानो बस्ती रहेको नाम्जेमा पुग्ने पाहुनाहरूले पूर्वका मगरहरूले नाच्ने हुर्रा नाच हेर्ने मौका पाउँछन् । पाहुनालाई त्यहाँ पाइने सिजन अनुसारका खानेकुरा चखाइन्छ । बारीमा आलु रोप्ने, गोड्ने, मकै छर्ने काम भइरहेका बेला पाहुनाहरू पनि सहभागी हुन सक्छन् । यसपटक पनि मकै गोड्न धमाधम थियो, हङकङबाट आइपुगेका प्रदीप थापा र गायक एपी शेर्पाले मकै गोडेर रमाइलो गरे । थापाले भने, ‘एक दिन नाम्जे बस्दा पनि गाउँका धेरै कुरा बुझियो । यहाँको होम–स्टे मीठो छ ।’
होम–स्टे व्यवस्थापन समितिका अध्यक्ष अनिल रानाका अनुसार नाम्जेको मौलिकता हेर्न दैनिक विभिन्न समूहहरू आउने गरेका छन् । एक समय पिसकोर स्वयंसेवक राजीव गोयलले नाम्जेलाई मौलिक गाउँ बनाउने अभियान चलाएका थिए । उनको सोच थियो, नाम्जेमा परम्परागत घरहरू मात्र हुनेछन्, कंक्रिट निर्माण नगर्ने, प्लटिङ नगर्ने । तर, बढ्दो विकासक्रममा उनको योजना सफल भएन तर नाम्जेको भित्री गाउँमा भने उनले कल्पना गरेजस्तै मौलिकता अहिले पनि छ । त्यसैले धेरैलाई यो गाउँको सौन्दर्यले लोभ्याउँछ । राना भन्छन्, ‘अहिलेसम्म हामीले मौलिकता जोगाउने कोसिस गरिरहेका छौँ । यसमा सरकारले पनि थोरै सहयोग गरेको छ । नाम्जेले देशविदेशका पर्यटक आकर्षित गरिरहेको छ ।’
Leave A Comment