चुनावी गीतका झंकार

मङ्गलबार, २६ बैशाख २०७४, ०१ : १३ रामकुमार डिसी , Kathmandu
चुनावी गीतका झंकार

हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने
हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने
भोट हाल्न लाहुरबाट आउँछु भन्छन् दाइले,
एमालेकै झण्डा बोकी हिँडेको छ भाइले ।

स्थानीय तहको चुनावमा आफ्ना अजेन्डा मतदातामाझ पुर्याउन र उम्मेदवारका पक्षमा प्रचार–प्रसार गर्न नेकपा(एमाले)ले बनाएको चुनावी गीतका केही हरफ हुन् यी ।
पहिलो चरणअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते निर्वाचन हुँदैछ । त्यसका लागि विभिन्न पार्टीले आफ्ना उम्मेदवारको मनोनयन दर्तासमेत गराइसकेका छन् । बाँकी प्रदेशमा जेठ ३१ गते चुनाव हुनेछ ।
बीस वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा भोट हाल्न मतदाता उत्साहित  छन् । दलहरू पनि स्थानीय रूपमा चुनाव प्रचार–प्रसारमा लागेका छन् ।
चुनावमा आफ्नो पक्षमा  माहोल तयार पार्न सघाउने सबैभन्दा सशक्त माध्यम हो, गीत–संगीत । त्यसैलाई बुझेर एमालेले मात्रै होइन, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आफ्ना चुनावी गीत तयार पारेका छन् । र, ती गीतले गाँउघरमा चुनावको रौनक बढाएका छन् । गीत–संगीतले एकातिर मनोरञ्जन दिन्छ भने अर्कोतिर मन÷मनस्थिति पनि परिर्वतन गरिदिने सामथ्र्य राख्छ ।
गीतकारसमेत रहेका माओवादी केन्द्रका नेता मणि थापा गीतको ठूलो शक्ति हुने बताउँछन् । ‘आन्दोलनमा गीतको ठूलो महŒव हुन्छ,’ पार्टीको चुनावी गीतमा व्यवस्थापन र शब्द संयोजनको जिम्मा लिएका नेता थापाले भने, ‘यर्थाथपरक, मन छुने भए विचार बदल्न नेताको भाषण, पार्टीको घोषणापत्रभन्दा गीत बलियो हुन्छ ।’
बदलिँदो समयसँगै चुनाव प्रचार–प्रसारका तौरतरिका पनि बदलिएका छन् । नेताको भाषणका अलावा समाजिक सञ्जाल पनि बलियो माध्यम बनेर आएको छ । तीमार्फत नै गीत–संगीत मतदातामाझ पुगिरहेका छन् ।
संसद्को ठूलो पार्टी नेपाली कांग्रेसले चुनाव प्रचार–प्रसारका लािग ‘चार तारा’ बोलको लोकगीत बनाएको छ । गीतमा  चोलेन्द्र पौडेल, जुना श्रीष मगर, रामजी पौडेल, चन्द्र कार्की, कृष्णा सुवेदी, ज्योति लोहनी, अमर धिमाल लगायतले स्वर दिएका छन् । चोलेन्द्र पौडेलले लेखेको गीतको भिडियोसमेत बनाइएको छ । त्यस्तै, ‘जय नेपाल, जय नेपाल’ बोलको अर्काे गीत पनि बनाइएको छ ।
एमालेले ‘मै पनि एमाले’ बोलको लोकगीतलाई चुनावी प्रचारको गीत बनाएको छ । ईएनबीको शब्द र संगीत संयोजन रहेको यो गीत चर्चित लोकगायक बद्री पंगेनीले गाएका छन् । उनलाई प्रिया भण्डारीले साथ दिएकी छिन् । यो गीत युट्युबमा ‘टेन्ड्रिङ’ समेत भइरहेको छ । सार्वजनिक भएको छोटो समयमै यो गीत करिब चार लाख पटक हेरिएको छ । त्यस्तै, ‘आयो एमाले आयो’ लगायत गीतहरू पनि तयार पारिएका छन् ।
उता सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले पनि चुनावी गीत तयार पारिसकेको छ । सबैभन्दा पहिले चुनावी गीत सार्वजनिक गरेको माओवादीले ‘माओवादी केन्द्रलाई विजय गराऊँ’ बोलको गीत बनाएको छ । माओवादीका पुराना जनकलाकार झंकार बुढा, केशरी घर्तीमगर, प्रगति महरा, बिहानी विक लगायतले यो गीत गाएका छन् । गीतको संगीत सिर्जना र शब्द लेखन पनि झंकारले नै गरेका हुन् । त्यस्तै, ‘माओवादी आयो’, ‘म पनि माओवादी’ लगायतका चुनावी गीत पनि सार्वजनिक भएका छन् ।  

जस लिने होडबाजी
चुनावी प्रयोजनका लागि बनाइएका गीतहरूमा पछिल्लो समय भएका सकारात्मक परिर्वतनको जस आफैँ लिने र भोट तान्ने होडबाजी चलेको छ । पार्टीले बनाउने चुनावी घोषणापत्रमा झैँ गीतमा पनि राम्रा काम जति सबै आफूले गरेको दाबी गरेर भोट मागिएको छ । विगतको बखान राम्रैसँग गरिएको भए पनि  ‘अब के गर्ने’ भन्ने कुरा भने कुनै पनि पार्टीका गीतले दिन सकेका छैनन् ।
कांग्रेसले बनाएको ‘चार तारा’ गीतमा अप्ठ्यारोमा निकास दिने पार्टी कांग्रेस मात्रै भएको भनिएको छ ।
‘धेरै पार्टी आए गए, भाषण ठूला–ठूला,
देशमा संकट आएपछि बस्छन् दुला–दुला
अप्ठ्यारोमा निकास दिन्छ कांग्रेस पार्टीले
रूखमै भोट हालौँ भन्छ मेरो साथीले ।

त्यस्तै निरंकुश राणाशासन फालेको, गणतन्त्र ल्याएको, संविधान बनाएको, शान्ति ल्याएको जस पनि कांग्रेस आफैँले लिएको छ ।
‘हत्या हिंसा, आतंक रोजे अरूले
बन्दुकबाट शासन गर्न खोजे अरूले
देशमा शान्ति ल्याएको कांग्रेस पार्टीले
रूखमै भोट हालौँ भन्छ मेरो साथीले ।

प्रमुख प्रतिपक्ष एमालेले बनाएको ‘मै पनि एमाले’ बोलको गीतमा गाँउ–गाँउमा डाक्टर र निःशुल्क औषधी कार्यक्रम ल्याएको, भूकम्पले ढलेको धरहरा बनाउने अभियान सुरु गरेको उल्लेख छ ।
एउटा गाँउमा एउटा डाक्टर कार्यक्रम आयो
मुटु, क्यान्सर, मिगौलाको फ्री दबाई पायो
ढलेको त्यो धरहरा बनाउने कुरा
एमालेको सरकार आए हुन्छ सबै पूरा ।

एमालेका लागि बनाइएको गीतमा भारतीय नाकाबन्दीको प्रतिरोध गरेको, राष्ट्रियताप्रति अडान लिएका कुरा पनि समेटिएका छन् ।

माओवादी केन्द्रको चुनावी गीतमा राजतन्त्र फाल्ने, गणतन्त्र ल्याउने माओवादी भएको दाबी गरिएको छ ।

गणतन्त्र ल्याउने पनि माओवादी
राजतन्त्र फाल्ने पनि माओवादी
संविधान बनाउने नि माओवादी
स्वाधीनताको निम्ति लड्ने पनि माओवादी ।

माओवादी नेतृत्वमा सरकार बनेपछि माओवादी नेता जनार्दन शर्मा ऊर्जामन्त्री बने । उनले काम गर्ने क्षमता भएको भन्दै कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुखमा नियुक्त गरे । घिसिङले ऊर्जा व्यवस्थापनमा राम्रो काम गरेपछि घण्टौँ लोडसेडिङ भोगिरहेका काठमाडौँलगायत मुख्य शहर अहिले लोडसेडिङमुक्त भएका छन् । गीतमा त्यसको ‘क्रेडिट’ पनि लिन खोजिएको छ ।

अन्धकार हटाउने नि माओवादी
हिमाल, तराई उठाउने माओवादी
गरिबको घरदैलोमा माओवादी
सबै अधिकार दिलाउने माओवादी ।

बढ्ता नारामुखी
दलहरूले चुनावका लागि बनाइएका गीतहरू बढ्ता नारामुखी छन् । राम्रो संगीत र शब्दले गीत कर्णप्रिय बनाउने भए पनि पार्टीका चुनावी गीतमा यी कुरामा त्यति ध्यान दिइएको छैन । गीतकार तथा नेता मणि थापा भने चुनावी गीतलाई अन्य गीतजस्तो हरेक कोणबाट ‘मिटर’ लगाएर हेर्न नहुने बताउँछन् । ‘हाम्रो चुनावी गीत उत्कृष्ट होइन, मध्यम खालको छ,’ उनले भने, ‘चुनावी गीत भएकाले शब्द, संगीत, रेकर्डिङमा अरू गीतमा जस्तो क्वालिटी दिन सकिएको छैन ।’
गायक बद्री पंगेनी एमालेको गीत गाएको भन्दै आफ्नो आलोचना भएकोप्रति दुखेसो पोख्छन् । ‘जीवित प्राणी भएकाले मेरो राजनीतिक विचार र आस्था छ,’ उनले भने, ‘त्यो लुकाउने कुरो होइन । विशुद्ध मैले गीत गाउँदा चुनाव हुन्छ भने किन नगाउने ? कांग्रेसको पनि चुनावी गीत गाइसकेको छु । माओवादीबाट पनि गाइदिन प्रस्ताव आएको छ ।’

 

Leave A Comment