‘असल नेता छान्न’ सांगीतिक अभियान

शनिबार, ३० बैशाख २०७४, १२ : ५७ गोपाल दाहाल , Kathmandu
‘असल नेता छान्न’ सांगीतिक अभियान

पहिलो चरणको स्थानीय निर्वाचन हुने प्रदेशहरूमा यतिबेला चुनावी रौनक छ । दोस्रो चरण अर्थात् जेठ ३१ गते निर्वाचन हुने प्रदेशमा चुनावी रौनक पनि सुस्त छ । चुनावी माहोल सुस्ताएको बेला एक नम्बर प्रदेशमा भने धरानको हिमायती सांस्कृतिक समूहले ‘असल नेता छान्न’ आह्वान गर्दै सांगीतिक अभियान चलाइरहेको छ ।

देशमा चलेका कलाकारसमेत पार्टीको प्रचारमा गीत गाइरहेका छन् । तर, कुनै बेला एउटा पार्टीका लागि चुनावी प्रचारमा हिँड्ने हिमायती यसपालि कुनै पार्टीको होइन ‘जनताका गीत’ गाउँदै सही मान्छेलाई भोट दिन आग्रह गरिरहेको छ । एक नम्बर प्रदेशमा चुनाव आउन एक महिना बाँकी छ । पहिलादेखि नै जनतालाई सचेत गराएर सक्षम नेता चयन गर्न सहयोग गर्ने भन्दै हिमायतीले तेह्रथुमको पाँचपोखरीदेखि संखुवासभाको गुफापोखरीसम्म सांगीतिक पदयात्रा गर्यो । पाँचपोखरीबाट पैदलयात्रा गर्दै संखुवासभाको चौकीबजारमा पुगेर हिमायतीले पहिलो सांगीतिक कार्यक्रम गर्यो । हिमायतीका गीत सुन्न स्थानीयवासी जम्मा भए । गीत सुनिरहेका स्थानीयलाई हिमायतीले आग्रह ग¥यो– ‘हामी कुनै पार्टीको प्रचारमा आएका होइनौँ, गाउँको विकास गर्न सक्ने र सक्षम उम्मेदवार छानेर भोट दिनुस्, खराब मान्छेलाई भोट नदिनुस् ।’

चौकीबजार, मंगलबारेलगायत ठाउँमा स्थानीयसँग अन्तरक्रिया गर्दै करिब आठ घण्टा पैदलयात्रा गरेर संखुवासभाको गुफापोखरी पुगेको टोलीले त्यहाँ पनि सांगीतिक प्रस्तुति दियो । हिमायतीका अध्यक्ष हर्क चुम्मेको नेतृत्वमा जीवन भट्टराई, कुन्ती योञ्जन, कला योञ्जन, सुरेश श्रेष्ठ, किशोर श्रेष्ठ, सुमन अधिकारी लगायतको टोलीले सुरु गरेको यात्रा पहाडी क्षेत्रपछि अब धरान र आसपासका क्षेत्रमा पनि गरिने बताइएको छ । समूहका अध्यक्ष चुम्मे भन्छन्, ‘जनतालाई जगाउन आफ्नै खर्च र पहलमा यस्तो अभियान चलाउँदैछौँ ।’

२०३८ सालमा कम्युनिस्ट नीतिलाई आत्मसात् गर्दै त्यसैलाई सहयोग गर्ने उद्देश्यसहित गठन भएको थियो, हिमायती । त्यसताका यसले तत्कालीन नेकपा मालेको नीति र सिद्धान्तलाई संगीतमार्फत जनतासम्म पु¥याउने काम ग¥यो । तत्कालीन मालेमा आस्थावान्हरूले माक्र्सवादको अध्ययन र राजनीतिक प्रशिक्षणका लागि शुक्रपथ अध्ययन समूह सञ्चालन गरेका थिए । त्यसैलाई सांस्कृतिक अभियानका रूपमा सञ्चालन गर्दै हिमायती गठन भयो । पछि माले मालेबाट एमाले गठन भएपछि हिमायतीले पनि एमालेकै लागि सांस्कृतिक अभियान चलाउँदै आयो । २०३८ देखि ०५४ सालसम्म गाउँ–गाउँमा पुगेर सांस्कृतिक अभियान चलाएको हिमायतीले त्यसताका चुनावमा उठ्ने नेताहरूलाई भोट माग्दै पनि हिँड्यो । नेताहरू आउँदा आमसभामा मान्छे जम्मा गर्न सांगीतिक प्रस्तुति दिने काम गर्यो हिमायतीले ।

हिमायतीलाई मञ्च बनाएर राजनीतिमा लाग्ने धेरै नेता मन्त्री भए, सांसद भए, ठूला नेता भए तर हिमायतीसँगै जस्ताको तस्तै । हिमायतीका कलाकारमा चरम निराशा छायो । कोही रक्सी खाएर हिँड्न थाले, कोही तास खेलेर दिन बिताउन थाले । कोही विदेश पलायन भए अनि कोही रेस्टुरेन्ट व्यवसायतिर लागे । हिमायती निष्क्रिय बन्यो । हिमायतीका सक्रिय गायक उत्तर भुजेलको पनि बढी मदिरा सेवनकै कारण मृत्यु भयो । हङकङ बस्दै आएका हिमायतीका पुराना कलाकार किशोर श्रेष्ठ यसपटक अभियानमा हिँडे । उनी भन्छन्, ‘यो बेला जनतालाई सचेत गराउन आवश्यक छ, राम्रा मान्छे चुनिऊन् भन्ने हाम्रो चाहना हो ।’

हिमायती निष्क्रिय भए पनि यसका सदस्य र शुभेक्षुकले माया मार्न सकेनन् । त्यसपछि फेरि जुटे तर पहिलाजस्तो कुनै दल विशेषका लागि नभई जनताका लागि । ‘अहिले नयाँ विधान बनाएर कुनै दलको छातामा नरहने, जुनसुकै विचार भएका कलाकार अटाउन सक्ने बनाएका छौँ,’ कलाकार जीवन भट्टराई भन्छन्, ‘कसैले कुनै दलमा सक्रिय हुन चाहेमा हिमायती छाड्नुपर्छ । अब हामी कसैको प्रचार गर्न होइन शासकहरूप्रति खबरदारी गर्न जागेका छौँ ।’

 

Leave A Comment