सीएको ‘चार्म’

शनिबार, १३ जेठ २०७४, ०३ : ०२ सृजना खड्का , Kathmandu
सीएको ‘चार्म’

आजभोलि चार्टर्ड एकाउन्टेन्सी (सीए) प्रति विद्यार्थीको आकर्षण बढेको छ । काठमाडौँ, काँडाघारीका रुद्र बस्नेत पनि सीएका विद्यार्थी हुन् । अहिले क्याप थ्रीमा अध्ययनरत उनी भन्छन्, ‘सीए पढेपछि बेरोजगार बस्नुपर्दैन जस्तो लाग्छ, त्यसैले सीए पढको हुँ ।’ नेपालमा सीए पासआउट हुनेको संख्या एकदमै कम भएको तर माग भने दिन प्रतिदिन बढ्दै गएकाले यो विषय छनोट गरेको उनी बताउँछन् । ‘सीए पढ्न रहर गरेर मात्रै हुँदैन मेहनत पनि गर्नु जरुरी छ,’ उनी भन्छन् ।
सीए कोर्स सञ्चालकहरूका अनुसार यसमा मुख्यतया क्याप वान, क्याप टू र क्याप थ्री गरी तीन वटा तह हुन्छन् । क्याप वानका लागि छ महिना, क्याप टूका लागि नौ महिना र क्याप थ्रीका लागि तीन वर्षको समय अवधि निर्धारण गरिएको हुन्छ । कोर्स पूरा गर्न पाँच वर्ष लाग्ने सञ्चालकहरू बताउँछन् ।
काठमाडौँ, नयाँ बानेश्वरस्थित प्रिमियर कलेजका शैक्षिक निर्देशक राजकुमार आचार्य मेहनती विद्यार्थीका लागि सीए कोर्स उपयुक्त भएको बताउँछन् । ‘मेहनती विद्यार्थीका लागि सीए एकदमै राम्रो कोर्स हो,’ उनी भन्छन्, ‘तर, मेहनत गर्दागर्दै पनि पढाइ बिग्रियो भने विद्यार्थीले आत्तिनुहुँदैन । यो क्षेत्रमा जसले जति राम्रो गर्न सक्छ उसैले त्यति नै ठूलो अवसर पाउँछ ।’

सीएका विद्यार्थीले विश्वव्यापी अवसर पाउने, स्वरोजगारको अवसर र राम्रो आम्दानी गर्ने प्रिमियर कलेजका शैक्षिक निर्देशक आचार्य बताउँछन् । ‘अहिलेको जस्तो प्रतिस्पर्धात्मक युगमा सीए कोर्स गरेका दक्ष जनशक्ति विश्वभरि सजिलै बिक्छन्,’ उनी भन्छन् ।
काठमाडौँ, शंखमूलस्थित चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत गणेशप्रशाद जोशीका अनुसार नियमित अध्ययन गर्ने, मेहनती, आत्मविश्वासी विद्यार्थीले सीए कोर्समा सफलता हात पार्छन् ।

‘मेहनती विद्यार्थी सफल हुने’
टंक श्रेष्ठ

प्राइम सीए, नयाँ बानेश्वर
अन्य व्यावसायिक शिक्षामा लाग्ने शुल्कको तुलनामा सीए सस्तो छ । बोर्ड शुल्क, कलेजको सम्पूर्ण शुल्क तथा अध्ययन सामग्रीलगायत समग्र खर्च गरी सीए कोर्स पढ्न करिब चार लाख रुपैयाँ लाग्छ । दक्ष जनशक्ति तथा पेशागत लेखा व्यवसायी उत्पादन गर्न सीएले ठूलो सहयोग पु¥याउँछ ।
सीए कोर्सको विषयवस्तु अरू कोर्सको तुलनामा बढी हुन्छ । समय व्यवस्थापन गर्न नसक्ने विद्यार्थी सीए पढ्दा समस्यामा पर्ने गरेका छन् । त्यसैले धेरै विद्यार्थी यसका विषयवस्तुलाई गाह्रो मान्छन् । तर, शिक्षकको गाइडेन्स फलो गर्ने र नियमित अध्ययन गर्ने विद्यार्थीले सकारात्मक नतिजा हात पार्छन् ।

‘सीएमा भविष्य उज्वल छ’
राजकुमार आचार्य, शैक्षिक निर्देशक

प्रिमियर कलेज, नयाँ बानेश्वर, काठमाडौँ

सीए विद्यार्थीमा व्यावसायिक गुण तथा सीप अभिवृद्धि गर्ने उद्देश्यले कोर्स डिजाइन गरिएको हुन्छ । यस कोर्सले आधारभूत लेखा, लेखा परीक्षण, लागत परामर्श, कर, कानुनी एवं व्यवस्थापन परामर्शजस्ता बृहत् क्षेत्र समेट्छ । सैद्धान्तिक शिक्षा र व्यावहारिक तालिमको वैज्ञानिक मिश्रण यो कोर्समा पाइन्छ । यसले एउटा कुशल व्यावसायिक एकाउन्टेन्टमा हुनुपर्ने ज्ञान, सीप र व्यवहारको विकास गराउँछ ।
अहिलेको परिवेशमा सीएको महŒव व्यापक छ । यस कोर्सले चार्टर्ड एकाउन्टेन्टलाई असीमित अवसरका ढोका खोलिदिन्छ । जसले पूर्ण अर्थतन्त्रमै महŒवपूर्ण भूमिका खेलेको हुन्छ । वित्तीय, बैंकिङ, सरकारी एवं गैरसरकारी र व्यवस्थापनसम्बन्धी परामर्श प्रदायक संस्था आदिमा चार्टर्ड एकाउन्टेन्टको माग उच्च छ । योग्य र कुशल सीएले शैक्षिक संस्था एवं आफ्नै व्यक्तिगत फर्म स्थापना गरेर स्वरोजगार सिर्जना गर्न सक्छन् ।

‘सीए आफैँमा पूर्ण डिग्री हो’
गणेशप्रशाद जोशी, प्रमुख कार्यकारी अधिकृत

चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट
शंखमुल, नयाँ बानेश्वर

सीए आफैँमा एउटा उच्च सामाजिक प्रतिष्ठा, विश्वव्यापी अवसर एवं स्वरोजगार उन्मुख शिक्षा हो । यसको अध्ययनले विश्वस्तरीय गुणस्तर सुनिश्चित गर्छ । राष्ट्रमै उपलब्ध उच्च गुणस्तरीय स्रोतसाधनको अधिकतम परिचालन गरेर बहुआयामिक व्यक्तित्व विकासका साथै प्रतिस्पर्धी र जिम्मेवार नागरिक बनाउन सीएले निकै मद्दत गर्छ । यो कोर्स आफैँमा एउटा पूर्ण डिग्री हो ।

विद्यार्थीका नजरमा सीए
‘खटेर पढ्नुपर्छ’
साक्षी घिमिरे

क्याप टू विद्यार्थी
सीए पढ्नको लागि जुनै संकायको भए पनि फरक पर्दैन । सुरु–सुरुमा विषयवस्तु नबुझ्दा केही असहज लाग्छ । तर, ‘पढ्छु’ भन्ने मानसिकता हुनेले जसरी पनि पढ्छ । यो विषय पढ्न गाह्रो छ, खटेर पढ्नुपर्छ तर पढ्नै नसकिने भने होइन । यो विषय प्रतिभाशाली विद्यार्थीले मात्र पढ्छन् भन्ने भ्रम छ, त्यस्तो होइन । मेहनत गर्न सक्ने जोकोहीले पनि सीए पढ्न सक्छन् ।

‘प्रयास गरे सफल भइन्छ’
भावना खड्का

क्याप वान विद्यार्थी
म विज्ञानको विद्यार्थी हुँ । इन्जिनियरिङ र एमबीबीएसमा खासै रुचि छैन । सीएको राम्रो स्कोप छ भनेर यो कोर्स गर्न मन लाग्यो । धेरैले क्याप टू पास गर्न गाह्रो हुन्छ भन्छन् तर पनि आफूले मेहनत गरेर पढे हिम्मत नहारी प्रयास गरे सफल भइन्छ भन्ने लाग्छ ।

‘आत्तिनु हुँदैन’
मोनिका रावल

क्याप टू विद्यार्थी
क्याप वानभन्दा क्याप टूमा निकै मेहनत गर्नुपर्छ । हरेक दिन पढेका कुरा रिभिजन गरिरहनुपर्छ । रिभिजन गरिरहने बानी भएकालाई पढ्न खासै गाह्रो हुँदैन । समयलाई बेवास्ता गर्नेहरूले यो विषय पढेर काम छैन । यसमा हरेक दिन पढ्ने कुरा नयाँ हुन्छ । कन्सेप्ट बुझ्न गाह्रो हुँदा धेरै साथी क्याप टूमा पुगेपछि आत्तिन्छन् । पढाएको कुरा राम्रोसँग बुझ्दै जाने हो भने सहज हुँदै जान्छ । बुझिएन भन्दैमा अत्तिनुहुँदैन ।

‘अल्छी गर्नु हुँदैन’
श्रद्धा थापा

क्याप वान विद्यार्थी
अल्छी नगरी पढ्यो भने जे पढे पनि सकिन्छ । सीए पढेपछि आफूले काम गर्ने क्षेत्र फराकिलो हुन्छ । टन्नै अवसर पाइन्छन् । यही सुनेर यो विषय रोजेकी हुँ ।  पढ्नको लागि उत्साहित छु ।

‘इज्जत पनि, रोजगारी पनि×’
अनिस श्रेष्ठ

क्याप टू विद्यार्थी

मेरो परिवारका सबै बैंकिङ क्षेत्रमा हुनुहुन्छ । म पनि यतैतिर लागेँ । सीएमा इज्जत र रोजगार दुवै छ । यो विषय पढ्नेले मुख्यतया समयको व्यवस्थापन गर्न जान्नुपर्छ । कोर्स धेरै हुन्छ तर तयारी गर्ने समय कम । दिनमा पढेको कुरा बेलुका आफैँले मूल्याङ्कन गर्ने बानीको विकास गर्नुपर्छ । सबै विषयलाई उत्तिकै प्राथमिकतामा राख्नुपर्छ । कुनै विषय गाह्रो लाग्यो भनेर छाड्यो भने झनै बुझिँदैैन ।

‘बाहिरी रमझम त्याग्नुपर्छ’
आशिष पौडेल

क्याप टू विद्यार्थी
छोटो समयको कडा मेहनतले सफलता हासिल गर्न सकिने भएकाले सीए रोजेँ । यो विषय पढ्ने वा नपढ्ने भन्नेमा आफूले कति मेहनत गर्न सकिन्छ त्यसमा भर पर्छ । बाहिरी रमझममा त्यागेर पढ्नुपर्छ । प्लस टूमा पढेका यहाँ काम लाग्दैनन् । जिरो लेभलबाट पढ्न सुरु गर्नुपर्छ । परीक्षाको बेलामा मात्र पढेर पास भइँदैन । सुरुदेखि नै निरन्तर अभ्यास गर्नुपर्छ ।  

‘रटेरभन्दा बुझेर पढ्नुपर्छ’
सुर्जु रञ्जित

क्याप टू विद्यार्थी
सीए गम्भीरतापूर्वक पढ्ने कोर्स हो । यसमा जसोतसो पढाइले पुग्दैन । तर, मेहनत गरेर पढ्यो भने नसकिने होइन । पढ्दै जाँदा पढ्ने बानीको विकास हुँदै जान्छ । यसमा रटेरभन्दा बुझेर पढ्नुपर्छ । सुरुदेखि नै पढ्ने बानी बसाल्यो भने सजिलो हुन्छ ।

Leave A Comment