धरानलाई धेरैले फजुल खर्च गर्ने, रमरौसमा समय बिताउनेहरुको शहरका रुपमा लिन्छन् तर यही धरानमा समाजका लागि लाखौं/करोडौं दान गर्नेहरु पनि छन्, जसको कमै चर्चा हुने गर्छ ।
धरानको मुख्य बजार महेन्द्रपथमा २ कठ्ठा ३ धुर जग्गामा दुई वर्षअघि चार तले धर्मशाला निर्माण भयो । अहिलेको मूल्याङ्कनमा जग्गा र भवन गरी करिब १२ करोड पर्ने ‘वसन्त स्मृति अतिथि गृह’ धरान ५ की रम्भादेवी कर्माचार्य (८०)ले आफ्ना श्रीमान्को स्मृतिमा निर्माण गरेकी हुन् ।
यो धर्मशाला रम्भादेवीले आफ्ना ससुरा र श्रीमान्को नाममा स्थापना गरेको ‘नन्द गणेश वसन्त कर्माचार्य स्मृति प्रतिष्ठान’मार्फत् सञ्चालन हुन्छ । ४४ कोठा रहेको भवनमा सस्तो शुल्कमा होटलको सुविधा उपलब्ध छ भने भवनसँगै पार्टी प्यालेससमेत निर्माण गरिएको छ । शुल्कबाट जम्मा भएको रकम समाजसेवामै खर्च गरिने नीति बनाइएको छ । भन्छिन्, ‘उहाँले किन्नु भएको जग्गामा दुई करोड खर्च गरेर भवन बनाएँ, उहाँलाई सम्झिरहन यसो गरेकी हुँ ।’
रम्भादेवीकै भाइ कृष्णप्रसाद श्रेष्ठ धरानको पुरानो बजारमा रहेको करिब डेढ कठ्ठा जग्गामा धर्मशाला बनाउने योजनामा छन् । लामो समयदेखि समाजसेवामा लागेका उनका बुवा कालीप्रसाद श्रेष्ठले राजा महेन्द्र धरान आएको बेला २०१३ सालमा १ बिघा ५ कठ्ठा जग्गा दिएपछि ‘महेन्द्र बहुमुखी क्याम्पस’ स्थापना भएको थियो । कालीप्रसादका बुवा रत्नप्रसादले हालको भानुचोकका लागि जग्गा दिएका थिए । उनै रत्नप्रसादको नाममा धरानको रत्न रोड बनेको हो । तत्कालीन काठमाल (वन विभाग)का सुब्बा रत्नप्रसादले भानुचोकको हाल घण्टाघर भएको समेत करिब १ बिघा जग्गा दान दिएको नाती कृष्णप्रसाद सम्झिन्छन् । उनकी आमा शक्तिकुमारी पनि दानी थिइन् । धनकुटाको विश्रान्ति मन्दिर निर्माणमा उनको ठूलो योगदान छ । २०४५ सालमा १ लाखभन्दा बढी खर्चिएर उनले विश्रान्तिमा धर्मशाला बनाएको कृष्ण बताउँछन् । भन्छन्, ‘बाजे, बाबु, आमा सबैले दान गर्ने चलन चलाए, हामीमा पनि दान गरेर पुण्य कमाउनु पर्छ भन्ने भावना विकास भयो ।’
धरानकी साधनादेवी श्रेष्ठले आफ्ना श्रीमान्को स्मृतिमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र ‘भागवत् श्रेष्ठ स्मृति धर्मशाला’ निर्माण गरिदिइन् । टाढाबाट बिरामी लिएर आउनेहरु अहिले थोरै पैसा तिरेर त्यही धर्मशालामा बस्छन् । केही वर्षअघि साधनाको निधन भयो । उनका छोरा विक्रमप्रसाद श्रेष्ठ बिपी प्रतिष्ठानका शिक्षाध्यक्ष छन् ।
संखुवासभाको चैनपुर पुख्यौली भई हाल काठमाडौं बस्ने कृष्णगोपाल श्रेष्ठले गत वर्ष धरानको सिद्धि नेवा परिषद्मा १ करोड २० लाख खर्च गरेर आमाको नाममा ‘वसुन्धरा सदन’ निर्माण गरिदिए । अहिले सोही भवनको माथिल्लो तला पनि उनले आफ्ना बुवा भोलामानको नाममा त्यति नै खर्च गरेर निर्माण गरिरहेका छन् । नेवार समुदायको संस्था सिद्धि नेवा परिषद्, खासमा सिद्धिमान पालिखेको नाममा स्थापना भएको हो । सिद्धिमानले छोराहरुलाई त्यहाँ रहेको ८ कठ्ठा १२ धुर जग्गा कसैले नबेच्नू भनेका थिए । छोराहरुले नबेची राखेको जग्गा उनका १३ नातिहरुले अंश पाउँथे तर उनीहरुले पनि त्यसलाई दान गर्ने विचार गरे । २०५० सालतिर तिनै १३ नातिहरुले जग्गा दिएपछि नेवार समुदायको सामूहिक भोज खाने र कार्यक्रम गर्ने स्थल बन्यो, सिद्धिनेवा परिषद् । संस्थापक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार पहिला धरानमा केही मारवाडी समुदायले धर्मशाला र सामुदायिक भवन बनाए पनि त्यहाँ माछामासु पकाउन पाइँदैनथ्यो । त्यसपछि सिद्धिनेवा परिषद् स्थापना भएपछि नेवार समुदायलाई सहज भयो ।
खोज्दै जाने हो भने धरानका विद्यालय, धर्मशाला, मठ मन्दिर निर्माण गर्ने जग्गा जमिन र आर्थिक दान गर्नेहरु धेरै भेटिन्छन् । धरानकै मानमोहन कर्माचार्यले गीता मन्दिर, रोटरी क्लब अफ धरान लगायतका भवन निर्माण र जग्गा दान गरेका छन् । शहरमान पालिखे दाजुभाइले वराहक्षेत्रको धर्मशाला निर्माणसँगै वराहक्षेत्र मन्दिर क्षेत्रमा पानी पु¥याउन २०३८ सालमा सवा लाख खर्च गरेका थिए । धरानको छाताचोकस्थित पुरानो हस्पिटललाई सुब्बा रत्नप्रसाद लगायतले जग्गा उपलब्ध गराएपछि जगन्नाथ र डेढराज तोदीले भवन निर्माण गरिदिएका थिए । सुनसरीकै भरौलमा उनीहरुको नाममा ‘जगन्नाथ डेढराज जनता उच्च मावि’ सञ्चालन भइरहेको छ ।
धरानकै युवा प्रवीण अग्रवालले हत्या भएका आफ्ना मातापिताको स्मृतिमा ‘कैलाशचन्द्र कान्तादेवी अग्रवाल स्मृति प्रतिष्ठान’ खोलेर विभिन्न सामाजिक कार्य गरिरहेका छन् । उनले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा लगानी गरिरहेका छन् । धरानका भूतपूर्व बिट्रिस सेना झप्तमान लिम्बुले आफ्नी श्रीमतीको स्मृतिमा दुई लाख खर्चेर निर्माण गरेको कोठामा छथरे समाजले संग्रहालय स्थापना गरेको छ । धरानमा पुराण लगाएर संकलन गरेको दानबाट पनि धेरै विद्यालय निर्माण भएका छन् ।
धरानका धेरैजसो सरकारी विद्यालय विभिन्न दानवीरले दिएका जग्गामा बनेका छन् । धेरै संघसंस्था दानबाटै चलेका छन् । दान गर्नका लागि मुख्य कुरा त धन नै चाहिन्छ तर धन मात्र पनि भएर हुँदैन, त्यो भन्दा ठूलो मन नै चाहिन्छ । पैसाका लागि मार्न÷मर्नसम्म तयार हुने अहिलेको स्वार्थी समाजमा अझै पनि यस्ता दानवीर छन् । सिद्धिनेवा परिषद्का अध्यक्ष गोकुल श्रेष्ठ भन्छन्, ‘अहिले पनि समाजका लागि करोडौं दान गर्नेहरु भेटिन्छन्, उनीहरुकै कारण समाजले धेरै सुविधा पाएको छ । यस्ता व्यक्तित्वलाई हामीले बिर्सनु हुँदैन ।’
Leave A Comment