‘बगैंचा सहर’ बनाउने रहर

मङ्गलबार, २० असार २०७४, ०१ : ०४ गोपाल दाहाल , Kathmandu
‘बगैंचा सहर’ बनाउने रहर

कुनैबेला धरान १९ की कल्पना लिम्बु ट्राभल एजेन्सीमा मासिक दस हजारको जागिर खान्थिन् । जागिरमा व्यस्त हुँदा घरमा आएका पाहुनालाई समय दिन गाह्रो हुन थाल्यो । त्यसपछि जागिर छाडेर उनी घरको हेरचाहमा लागिन् । घर सजाउन ‘इन्डोर प्लान्ट’हरु किनिन् । घर सजाउँदासजाउँदै धेरै फूल र विरुवाहरु जम्मा भए । घर सानोतिनो बगैंचामा परिणत भयो ।

रहरले सुरु गरेको फूल र बिरुवाले उनको घरको शोभा त बढाएकै छन्,  अहिले त त्यसैबाट राम्रो आम्दानी पनि भइरहेको छ । कल्पनाले २०६२ मा सुरु गरेको पवित्र नर्सरीमा अहिले करिब २५ लाखका फूल र विरुवा छन् । भेडेटारको कार्कीछाप र इनरुवामा फर्म खोलेर बिरुवा उत्पादन गर्छिन् । वार्षिक २५ देखि ३० लाखको त फूल, आलंकारिक बोट र बिरुवा बेच्छिन् । उनले बिक्री गर्ने ८० प्रतिशत बिरुवाको उत्पादन पनि आफैँ गर्छिन् । उनी सुनाउँछिन्, ‘फूलले घरको मात्र होइन, मनको सौन्दर्य पनि बढाउँछ, शान्ति दिन्छ । हामी हिन्दुहरुको त हरेक काममा फूलको ठूलो महŒव छ ।’

कल्पनाजस्तै धेरै धरानेका घरमा फूलको सानोतिनो बगैंचा छ । धरान १० की होमकुमारी लिम्बुको घर वरिपरि बगानबेली, हेविस्कस, पिटेनिया, लालुपातेजस्ता फूलहरु ढकमक्क छन् । घरको छतमा पनि उसैगरी सजाइएका छन्, फूल । झट्ट हेर्दा नर्सरीजस्तो लाग्छ तर उनले आफ्नै सोखका लागि यत्तिका फूल रोपेकी हुन् । आफन्तका घरमा र विदेशमा घुम्दा फूलको बगैंचा देखेकी उनले यसरी घरमा बगैंचा बनाएको दस वर्षभन्दा बढी भयो । पहिला आफैं फूल रोप्न, गोडमेल गर्न खट्ने होमकुमारी अहिले नर्सरीबाटै मान्छे बोलाएर रोप्ने, गोड्ने गराउँछिन् । बगैंचा स्याहार्न मात्र उनको वर्षमा करिब ७० हजार खर्च हुन्छ । उनको रमाइलो बगैंचा बाटो हिँड्ने मान्छेले पनि ध्यान दिएर हेर्छन् । कतिले भित्रै पसेर फोटो खिच्छन् । त्यसले उनलाई झनै खुसी थपिदिन्छ रे ! भन्छिन्, ‘फूल रोप्दा आफूलाई त शान्ति मिल्छ नै अरुलाई पनि खुसी दिन सकिँदोरहेछ । ’

धरान १४ का प्रेम पराजुलीले खाली जग्गामा बिरुवा किन्दै लगेर रोप्न थाले । एक दिन नर्सरीमा फूलका बिरुवाको दाम सुन्दा उनी चकित परे । ‘हामीले बारीमा काटेर फ्याँकेका हाँगाविँगा त डेढ सयमा बिक्री हुँदारहेछन् । यसमा राम्रै हुनेरहेछ भन्ने ठानेर नर्सरी सुरु गरेँ,’ बुढासुब्बा नर्सरीका सञ्चालक पराजुली भन्छन् तर बाहिरबाट फूल र विरुवा ल्याउन चेकजाँचका नाममा अनावश्यक दुःख दिने गरिएकोमा उनको गुनासो छ । भन्सारमा सबै प्रक्रिया पूरा गरेर ल्याउँदा पनि बिचबिचमा प्रहरीले नमान्ने र पैसा नदिए गाडी रोकेर सबै बिरुवा झारिदिने गरेको उनको भनाइ छ । भन्छन्, ‘सरकारले यस्ता कुरामा सुधार गरिदिए फूल बेचेर विदेशी पैसा आम्दानी गर्न सकिन्छ । घरमा थोरै समय दिँदा पनि यसले सुन्दरता र आम्दानी दुवै बढाउँछ ।’

लाहुरे समुदायको बाक्लो बस्ती भएको धरानका घरघरमा रंगीचंगी फूलका बगैंचा छन् । धरानलाई माथि विजयपुरबाट हेर्दा बगैंचाभित्र लुकामारी खेलेजस्तो देखिन्छ । फूलले धरानलाई अन्य सहरभन्दा बेग्लै परिचय दिएको छ । धरानलाई कसैले फूलैफूलको सहर भन्छन् त कसैले बगैंचाको सहर । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैंचा मात्र होइन, छत र घरभित्र पनि फूलैफूलले सजाइएका हुन्छन् । धरानमा हरेक घरसँगै अलिकति खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलन छ । धरानेहरुको फूलको यही रहर देखेर केही वर्षदेखि धरानलाई बगैंचा सहर बनाउने अभियान पनि चलाइएको छ । धरान उपमहानगरपालिकाको सहयोगमा फूलैफूलको सहर बनाउने अभियानस्वरुप विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । उपमहानगरपालिकाले घरमा राम्रोसँग फूलको सजावट गर्नेलाई पुरस्कार दिने गरेको छ । उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत सुनील नेपाल सामुदायिक वनहरुलाई समेत नर्सरीका रुपमा विकास गर्ने योजना रहेको बताउँछन् । भन्छन्, ‘फूलबाट औषधी पनि बन्छन्, सबैतिर फाइदैफाइदा हुन्छ । नगरबासी पनि फूल रोप्न खुब रहर गर्छन् । त्यसैले धरानलाई बगैंचा सहरका रुपमा विकास गर्ने योजना छ ।’

धरानलाई बगैंचा सहर बनाउने अभियानमा केही वर्षदेखि लागिरहेका सुनसरी जिविसका पूर्वउपसभापति वंशी मोक्तान धरानका सडक छेउमा फूलहरु रोप्नेदेखि खाली ठाउँमा बगैंचा बनाउने, घरघरमा फूलले सजाउने योजना सुनाउँछन् । धरानबासीको बगैंचा सहर बनाउने रहरलाई फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले पनि साथ दिने भएको छ । केही समयअघि फ्यानले धरानमा तीन दिने फूल मेला आयोजना ग¥यो । त्यसबेला पनि धरानलाई बगैंचा सहर बनाउने छलफल भयो । फ्यानका केन्द्रीय अध्यक्ष कुमार कसजूले धरानबासीको रहरलाई साकार पार्न आफूहरु प्राविधिक रुपमा सहयोग गर्न तयार रहेको बताए । उनी भन्छन्, ‘धरान त्यसै पनि घरघरमा फूल रोपेर बगैंचा सहरका रुपमा परिचित छ । अझ घोषित रुपमै बगैंचा सहर बनाउन सके देशमै नमूना हुन सक्छ ।’

 

 

Leave A Comment