अन्टार्कटिका क्षेत्रमा विवाह गर्ने पहिलो जोडी

सोमबार, २३ साउन २०७४, १० : ०१ शुक्रवार , Kathmandu
अन्टार्कटिका क्षेत्रमा विवाह गर्ने पहिलो जोडी

११ वर्षदेखि सम्बन्धमा रहेको एक बेलायती जोडी अन्टार्कटिका क्षेत्रमा पहिलोपटक विवाह गर्ने जोडी भएको छ । आफूले कल्पनासम्म नगरेको पृथ्वीको भूभागमा विवाहमा बाँधिदा उनीहरु यतिबेला दंगदास छन् । जुली बउम र टम सिलभेस्टरले फकल्यान्ड टापुदेखि २,००० माइल टाढा पुगेर सप्ताहन्त मनाउने क्रममा पृथ्वीको अति दुर्लभ स्थानमा विवाह गरेका हुन् । उनीहरुले आफ्ना २० जना साथीको सहभागितामा उक्त विवाह सम्पन्न गरेका थिए । संसारकै चिसो मानिने ठाउँमा विवाह गरिएका उनीहरु यतिबेला समाचार शीर्षकमा छाएका छन् । टम र जुली दुवैजना पर्वत गाइड हुन् । स्टाफोर्डसायरकी जुलीले भनिन्, ‘अन्टार्कटिकामा विवाह गर्नु भनेकै महान कुरा हो । संसारभर यो जत्तिको सुन्दर ठाउँ अरु कहाँ होला र ? मलाई त्यहाँका हिमच्छादित हिमाल र त्यहाँ आफ्नाहरुसँग बिताएको समय नै नौलो लाग्यो ।’ जुलीले आफ्ना साथीहरुकै सहयोगमा वैवाहिक पोसाक तयार पारेकी थिइन् । टम भन्छन्, ‘हामीहरुले सानो वैवाहिक समारोह गर्ने योजनामा थियौँ तर कुनै दिन संसारकै यति विकट ठाउँमा आएर विवाह गरौँला भनेर सपना पनि देखेको थिइनँ ।’ उनीहरुको विवाह समारोहमा ब्रिटिस अन्टार्कटिक टेरिटोरीका मेजिस्ट्रेट पउल सम्वेज पनि सहभागी थिए । उनले नै विवाहमा आवश्यक खान्कीहरु तयार पारेका थिए । इतिहासकै नौलो विवाहमा सरिक हुँदा आफूलाई उनी भाग्यमानी नै ठान्छन् । भन्छन्, ‘मनकारी मानिसहरु र उनीहरुको काममा सहयोग गर्न पाउँदा निकै रमाइलो भयो ।’ २०१६ मा खुला गरिएको बेलायती अन्टार्कटिक क्षेत्रमा यो इतिहासकै पहिलो विवाह समारोह हो ।

 

Leave A Comment