मेसीको आँशु देख्न नसक्ने रोनाल्डो

शनिबार, २५ असार २०७३, १२ : ४८ शुक्रवार , Kathmandu
मेसीको आँशु देख्न नसक्ने रोनाल्डो

पोर्चुगलको राष्ट्रिय फुटबल टिमका कप्तान तथा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी रोएको आफूले देख्न नसक्ने बताएका छन् । रोनाल्डोले मेसीलाई पीडामा देख्दा आफूलाई दुःख लागेको भन्दै राष्ट्रिय टिममा फर्कन आग्रह गरेका छन् । उनले भने, ‘लामो समयसम्म मेसी आँशुको बाढीमा रहेको देख्दा मलाई राम्रो लाग्दैन ।’ मेसीले कोपा अमेरिकाअन्तर्गत चिलीसँगको फाइनलमा पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । चिलीसँगको हारपछि उनले अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।
रोनाल्डोले भने, ‘पेनाल्टीमा गोल गर्न नसक्दैमा कुनै पनि खेलाडी नराम्रो हुँदैन । मेसीले निकै कठिन निर्णय लिएका छन् । यो कुरा मानिसले बुझेका पनि छन् । उनले यो निर्णय लिनुमा हार वा निराशा कारण हो जस्तो लाग्दैन । म मेसीले अर्जेन्टिनाबाट खेलेको हेर्न चाहन्छु ।’
मेसीमाथि राष्ट्रिय टिममा फर्किन चौतर्फी दबाब परेको छ । रोनाल्डोले भने, ‘मेसीका आँखामा आँशु देख्दा दुःख लाग्छ । आशा छ, उनी राष्ट्रिय टिममा फर्किनेछन् ।’
राष्ट्रिय टिमबाट एकअर्काविरुद्ध धेरै खेल्नु नपरे पनि व्यावसायिक फुटबलमा मेसी र रोनाल्डो प्रतिद्वन्द्वी हुन् । रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्छन् भने मेसी स्पेनकै बार्सिलोनाबाट खेल्दै आएका छन् । यी दुईबीच उत्कृष्टताको प्रतिस्पर्धा हुने गरेको छ ।

 

Leave A Comment