पीयू शैक्षिक मेला

आइतबार, २६ असार २०७३, १२ : ४८ हिमाल लम्साल , Kathmandu
पीयू शैक्षिक मेला

विद्यार्थीका रुचि  र चाहना फेरिएका छन् । नेपालमा नै बसेर आफूले खोजे जस्तो विषय पढ्ने मौका जुरेको छ नेपाली विद्यार्थीलाई ।
काठमाडौँकी प्रतीक्षा लामिछानेलाई सानैदेखि घर सजावटमा रुचि थियो । कर्मसबाट प्लस टू उत्तीर्ण गरेपछि उनले आफ्नो रहर पूरा गर्ने मौका पाइन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर इन्टरनेसनल कलेजमा ब्याचलर्स इन इन्टिरियर डिजाइनमा अध्ययनरत लामिछाने भन्छिन्, ‘मेरो रुचिको विषय इन्टिरियर डिजाइन हो । अहिले त्यही विषय पढिरहेकी छु ।’ प्रतीक्षाजस्तै अधिंकाश विद्यार्थीले आफूलाई मन पर्ने विषय रोजेर अध्ययन गर्ने अवसर पाएका छन् ।   
पूर्वाञ्चल विश्वविद्यालय कलेज एसोसिएसन नेपालले शैक्षिक मेलाको आयोजना गरेको थियो । असार १७ देखि १९ गतेसम्म काठमाडौँको वल्र्ड टे«ड सेन्टरमा आयोजित मेलामा सहभागी विद्यार्थी इन्टिरियर डिजाइन, फेसन टेक्नोलोजी र बायो मेडिकल इन्जिनियरिङको परार्मश लिन स्टलमा झुम्मिएका थिए । मेलामा ४३ वटा शैक्षिक संस्थाका स्टल राखिएका थिए  ।
धरानका प्रमेश राईले फेसन डिजाइनर बन्ने सपना पूरा गर्न फेसन टेक्नोलोजी विषय लिएर अध्ययन अगाडि बढाएका छन् । ‘मेरो लक्ष्य उत्कृष्ट फेसन डिजाइनर बन्ने हो । त्यसैले यो विषय अध्ययन गर्न लागेको हँु,’ शैक्षिक मेलामा भेटिएका उनले भने ।
पूर्वाञ्चल विश्वविद्यालय (पीयू)का उपकुलपति डा.घनश्यामलाल दास विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार विषय छनोट गर्नुपर्ने बताउँछन् । ‘कसैको लहलहै लागेर होइन । आफ्नो रुचिले विषय छनोट गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो अभिरुचि र चाहनाको विषय पढे मात्रै सफलता हात पार्न सकिन्छ ।’
पछिल्लो समय फरकफरक विधामा अध्ययन गर्ने विद्यार्थीको संख्यामा बढेको पीयूका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले बताए । ‘८० जना विद्यार्थीको कोटा भएको फेसन टेक्नोलोजीमा दोब्बरभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन्छन् । यसले विद्यार्थीको आकर्षण बढेको पुष्टि गर्छ,’ उनले भने, ‘नेपालमा सुन्दरी प्रतियोगिता तथा फेसनसम्बन्धी गतिविधि बढेसँगै यसमा विद्यार्थीले करिअर खोज्न थालेका छन् ।’
मेला संयोजक गोपीकृष्ण न्यौपानेले पीयूका शैक्षिक गतिविधिसम्बन्धी जानकारी गराउन सफल भएको दाबी गरे । बायो मेडिकल इन्जिनियरिङ, फेसन टेक्नोलोजी, इन्टिरियर डिजाइन, नर्सिङ तथा होटेल म्यानेजमेन्टमा विद्यार्थीको आर्कषण बढिरहेको न्यौपानेले जानकारी दिए । उनका अनुसार बायो मेडिकल इन्जिनियरिङ अस्पतालमा आवश्यक पर्ने एमआरआई, एक्सरे, सिटीस्क्यानलगायत सामग्रीको उचित व्यवस्थापन गर्ने विषय हो । बायो मेडिकल इन्जिनियरिङका प्रिन्सिपल विश्वप्रकाश श्रीवास्तवले बायो इन्जिनियरिङ पूर्वाञ्चल विश्वविद्यालयले मात्रै अध्ययन गराउँदै आएको दाबी गरे । बायो मेडिकल प्लस टूमा साइन्स उत्तीर्ण गरेका विद्यार्थीले मात्र पढ्न पाउँछन् ।
पीयूका चार आंगिक क्याम्पस छन् भने १ सय २१ क्याम्पसले सम्बन्धन प्राप्त गरेका छन् । पीयूले स्नातक तथा स्नातकोत्तर तहमा ७२ वटा कार्यक्रम सञ्चालन गरेको छ ।

Leave A Comment