चोरीको नमिठो फल

बिहिबार, ३० कार्तिक २०७४, ०१ : २१ शुक्रवार
चोरीको नमिठो फल

‘चोरीको फल नमिठो हुन्छ’ तपाईं हामी यसबारे पक्कै जानकार छौं । तर बाँदरको बच्चोलाई चोरीको फल नमिठो हुन्छ भन्ने के थाहा ? तिर्खाएको एक बाँदरको बच्चाले एक पर्यटकको मोटरसाइकलबाट कफी चोरी पिउँदा बिरामी परेको छ । लामो पुच्छर भएको चन्चले बाँदरको यो घटनासँगै चोरीको फल नमिठो हुने कुरा पुनः एकपटक ताजगी भएको छ । अरु मानिसको कफी चोरेर खान नहुने कुरालाई समेत यस घटनाले जोड दिएको छ ।
लामपुच्छे बाँदरले पर्यटकको कफी पिउँदा धेरै क्याफीनकै कारण १० घन्टा अचेत भएको थियो । थाइल्यान्डको राजधानी बैंककको ब्याङ खुम थिन जिल्लामा घटेको घटना हो यो । उसको क्रियाकलापले पर्यटकहरुलाई समेत अचम्म पारिदिएको छ । बाँदरको यस्तो क्रियाकलाप देख्दा स्थानीय पशु चिकित्सकहरु तत्काले उसको उपचारमा खटिएका थिए । सलाईनमार्फत उपचार गराउँदा बाँदर भोलिपल्ट मात्र होस्मा आएको थियो । अनलाइन समाचारहरुका अनुसार बाँदर छ महिनाको थियो । मानिसहरुले कफी खाने बानीको नक्कल गर्दा कफी पिएको केही बखतमै ऊ अचेत भएको थियो ।
बाँदर होस्मा आएपछि पशु चिकित्सकहरुले उसलाई अभिभावकको समूहमा छोडेका छन् । बाँदर अचेत भएको यो घटनासँगै त्यहाँका अधिकारीहरुले उक्त बाँदरको रखबारी गर्न र मानिसहरुलाई आफूले खानेकुराहरुको ख्याल गर्न र जथाभावी नफाल्न अनुरोध गरेको छ । अझ बाँदरहरुलाई फलफूल र तरकारी मात्र दिन उनीहरुले आग्रह गरेका छन् ।

 

Leave A Comment