दुई मिनेटमा अढाई किलो पिरो खुर्सानी खान के सम्भव छ ? अरूका लागि छैन होला, तर चीनका एक व्यक्तिका लागि यो पूरै सम्भव छ ।
लिजियाङ शहरमा गत साता खुर्सानी खाने प्रतियोगिता भएको थियो । प्रतिस्पर्धीमध्ये सबैभन्दा उत्कृष्टलाई पुरस्कृत गरिने र प्रतिस्पर्धीले आफूलाई उत्कृष्ट प्रमाणित गर्न सबैभन्दा बढी खुर्सानी खानुपर्ने शर्त तोकिएको थियो । प्रतियोगितामा नौ जना मानिसले भाग लिएका थिए । तीमध्ये एक व्यक्तिले दुई मिनेटमा ४७ वटा खुर्सानी खाएर ‘बलवान व्यक्ति’को ताज पहिरिएका छन् । खुर्सानीको आकार ठूलो भएको र ती व्यक्तिले जम्मा अढाई किलो खुर्सानी खाएको बताइएको छ ।
चीनमा मसला बढी खाने प्रान्तका रूपमा परिचित सिचुआन प्रान्तबाट आएका एक प्रतियोगी प्रतिस्पर्धामा पहिलो भएको बताइए पनि उनको नाम भने समाचारमा खुलाइएको छैन । यद्यपि, विभिन्न प्रतिस्पर्धीलाई मरिचपानीमा आधा शरीर डुबाएर मुखमा खुर्सानी कोच्दै गरेको तस्बिर भने प्रकाशित छ । विजयीलाई पुरस्कारस्वरूप २४ क्यारेट सुनबाट बनेको खुर्सानी दिइएको समाचारमा उल्लेख छ ।
Leave A Comment