कलाको केन्द्र भेडेटार

शनिबार, २२ पुष २०७४, १२ : ५८ राेहित रार्इ
कलाको केन्द्र भेडेटार

पूर्वको चर्चित पर्यटकीयस्थल हो, सागुरीगढी गाउँपालिका–६ मा अवस्थित भेडेटार । समुद्री सतहबाट १४२० मिटर उचाइमा रहेको भेडेटारको विशेषता भनेको बाह्रै महिना चिसो मौसम भइरहनु हो । भेडेटार बजारलाई छिनछिनमा हुस्सुले छोपिरहन्छ । गर्मीमा तराईबाट प्राकृतिक ‘एसी’ मा रमाउन धरान हुँदै भेडेटार उक्लने पर्यटकहरूको घुइँचो हुन्छ भने चिसो मौसममा पनि भेडेटारमा पर्यटकहरूको कमी हुँदैन ।

पर्यटकहरू चिसो मौसममा रमाउन मात्र भेडेटार पुग्ने हुन् त ? होइन, हिजोआज पर्यटकहरूको ध्यान भेडेटारको कलाकृतिले पनि तानिरहेको छ । पछिल्लो ५ वर्षमा भेडेटारले आफूलाई कलाको केन्द्रको रूपमा पनि पहिचान बनाउँदै गएको छ । यसको मुख्य श्रेय जान्छ, मनशान्त ग्यालरी रिसोर्टका संचालक एवं कलाकार रोजन राईलाई । इटहरीको होटल व्यवसायलाई भेडेटारमा स्थानान्तरण गरेपछि उनले आप्mनो होटललाई मात्र कलामय बनाएनन्, समग्र भेडेटार र आसपासको क्षेत्रलाई पनि कलामय बनाउन जुटेका छन् । भविष्यमा उनी भेडेटार मात्र होइन, धरानलाई पनि कलाको सहर (आर्ट सिटी) को पहिचान दिलाउने चाहना छ । यसका लागि उनी सबै घरले आफ्नो संस्कृतिअनुसारको कलाकृति राखोस् भन्ने चाहन्छन् । ‘कलाकृति नभएको ठाउँमा मान्छे कम पुग्छन्, भेडेटार र धरानलाई नेचर, कल्चर र एडभेन्चरको केन्द्र बनाउनुपर्छ,’ कलामा समर्पित राई भन्छन्, ‘भेडेटार आफैं सुन्दर छ, अब ताज हाल्न मात्र बाँकी छ । यहाँको डाँडाकाँडालाई मूर्तिले सिंगार्ने योजना छ ।’

भेडेटार घुम्न पुगेका पर्यटकहरू कलाकृति भरिएको मनशान्त ग्यालरी रिसोर्टमा नपसी फर्कँदैनन् । रिसोर्टमा खानेकुराको परिकारले भन्दा पनि त्यहाँको कलाकृतिले आकर्षणको केन्द्रमा छ । प्रवेश गरेदेखि नै मूर्ति एवं कलाकृतिले मोहित तुल्याउँछ । यो रिसोर्ट होटल कम, कुनै कलाकारको ग्यालरी धेरै महसुस हुन्छ । खेर गएको बाँस र त्यसका जराबाट बनेका विभिन्न आकृतिहरू छन् । बासकै टेवल, बाँसकै कुर्सी र खाट मात्र होइन, बाँसबाटै बनेको कफी गिलास, प्लेट, वाइन गिलासले पनि आकर्षित गर्छ । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ, सशस्त्र प्रहरीका पूर्वआइजिपी दोर्जकुमार राई, सरस्वती देवी, बुद्धलगायतका मूर्ति पनि छन् । रिसोर्ट पुगेका पर्यटक ती कलाकृतिसँग सेल्फी खिच्न छुटाउँदैनन् । ‘जुन जाति वा समुदायको घर, होटल हो, त्यो जातिको संस्कृतिअनुसारको मूर्ति राख्ने वा ठाउँअनुसारको ऐतिहासिकता, पौराणिकता, संस्कृति झल्काउने कलाकृति राख्नुपर्छ,’ कलाकार राईले थपे, ‘पर्यटकहरू त्यही कलाकृति, संस्कृति हेर्न पनि आउँछन् । धरानमा पनि घरको कम्पाउण्डलाई कलात्मक बनाउन सकिन्छ, कला संस्कृति हेर्न म्यूजियम गइरहनु पर्दैन । यसका लागि स्थानीय सरकारले नीति बनाउन आवश्यक छ ।’

कलाकार राईले भनेजस्तै शंखेश्वर महादेवको मन्दिर अचेल भेडेटार पुग्ने पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ । भेडेटार चोकदेखि केही पूर्व (नाम्जे–डाँडाबजार–राजारानी जाने बाटोमा) कलाकार राईकै डिजाइनमा शंख आकारको मूर्ति बनेको छ । करिब १८ फिट उचाइको यो मन्दिरले भेडेटारको सौन्दर्यलाई झनै बढाएको छ । मन्दिरको बाहिरी स्वरूप शंखको खोल हो भने भित्र गुफाको डिजाइनमा तयार पारिएको छ । त्यहाँ दक्षिणबाट भित्र मानिस पस्न सकिन्छ । जहाँ पुरानो शंख आकारको शिला राखिएको छ, जसलाई पूर्वतर्फ फर्किएर पूजा गर्न सकिन्छ । पहिला विशेष गरेर शिवरात्रिको दिन मात्रै पुजिने त्यही शिलालाई हिजोआज दर्शन गर्न आहुनेले दिनहुँ पुज्न थालेका छन् । शंखेश्वर मन्दिरलाई एउटा कछुवाले ढाडमा बोकेको छ भने वरिपरीबाट ४ वटा माछाले टेका दिएका छन् । शंखेश्वर मन्दिर परिसरमा किरातेश्वर, बुद्ध, शिवजी र गणेशको मूर्ति राखिएको छ । ‘भेडेटारमा प्रशस्तै भीरपाखा छन्, तिनलाई चिल्ड्रेन पार्क, रक गार्डेनको रूपमा विकास गरेर सजाउने योजना छ,’ नेस्ट नामक संस्थाका सचिव नरबहादुर चेम्जोङले भने, ‘भेडेटार कलासंस्कृतिको ठाउँको रूपमा पनि विकास गर्नुपर्छ ।’

आधा पाटो धरान पर्ने भेडेटारको चोकमै किरात इतिहासकार इमानसिं चेम्जोङको पूर्ण कदको सालिक छ । विगतमा भ्यू टावर भएको शैलुङ्गे डाँडा(चाल्र्स प्वाइन्ट) मा भेडाको मूर्ति रहने गरी नयाँ टावर निर्माण हुँदैछ । त्यति मात्र होइन, पाथिभरा मन्दिरनजिकै २० देखि २५ फुटको किराती राजा यलम्बरको मूर्ति राख्न कलाकार राईले डिजाइन तयार गरिरहेका छन् । यो डाँडामा प्रवेशद्वार नै दुवैतिर मादलको कलात्मक हुनेछ । यस्तै, ढोल झ्याम्टाको संरचनाहरू पनि राखिनेछ । चाल्र्स प्वाइन्ट चढ्न पनि बाहिर ड्रायगन आकार देखिने र भित्रभित्रै रेलिङबाट पर्यटक हिँड्न मिल्ने अवधारणा बनिरहेको छ । ‘भेडेटारलाई कलामय बनाउने हाम्रो लक्ष्य छ, कलाले पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याउने रहेछ । कला, सिर्जना हेर्नकै लागि पनि मानिस आउने रहेछन्,’ होटल एसोसिएसनका सचिव जितेन्द्र रुम्दालीले भने, ‘शंखेश्वर जस्तै कला भरिएको नौलो र आकर्षक संरचना थप्दै जान्छौं, चाल्र्स प्वाइन्टमा भेडाको मूर्ति पनि बन्दैछ । ‘अब भेडेटारमा जे जति संरचना बन्छन्, ती सबै कलामय नै हुन्छन् ।’
 

Leave A Comment