सहर बजारका मान्छे अधिकांश कामकाजी र व्यस्त हुन्छन् । त्यसैले घरायसी सामान खरिद गर्नुपर्यो भने डिपार्टमेन्ट स्टोर वा सपिङ मलमा गएर एकैपटक धेरै दिनका लागि सामान जोहो (खरिद) गर्ने चलन छ । सपिङ मलहरू विकास तथा आधुनिक सहरको मानक पनि हो । त्यसैले ठूला व्यापारिक घरानाले विकसित सहरमा मात्र होइन, सहरोन्मुख ठाउँमा पनि डिर्पाटमेन्ट स्टोर वा मल धमाधम खोलिरहेका छन् ।
हिजोआज सपिङ मल, डिपार्टमेन्ट स्टोर वा मार्टहरूमा उद्योगले उत्पादन गरेको सामान मात्र होइन, कृषकले उत्पादन गरेको तरकारी, फलफूल पनि बिक्रीका लागि राख्छन् । जसले गर्दा मध्यम तथा हुनेखाने वर्ग हरेक कुराको सपिङ (खरिद) गर्न मल, डिपार्टमेन्टतिरै पुग्छन् । विकास र आधुनिकतासँगै आएको चलनले उहिल्यै गाउँघरमा लाग्ने साप्ताहिक हटिया एवं हाट बजारलाई विस्थापन गरिसकेको छ । अचेल त गाउँघरतिर पनि साप्ताहिक हटिया वा बजार एकदमै कम लाग्छन् । तीव्र विकास एवं सहरीकरणले गर्दा साप्ताहिकरूपमा लाग्ने हाट तथा बजार हराउँदै जान थाले । विकाससँगै भित्रिएको पसल, मार्ट, आधुनिक शैलीको डिपार्टमेन्ट स्टोर एवं सपिङ मलले साप्ताहिकरूपमा लाग्ने हटियालाई विस्थापन गर्दै गयो ।
पूर्वको सुन्दर नगरी हो धरान । भूपू लाहुरेहरूले घर बनाएर बस्न थालेपछि धरान युरोपको कुनै सहर जस्तै बन्यो । यहाँ आधुनिक पसल, डिपार्टमेन्ट स्टोर र सपिङ मलहरू धमाधम सञ्चालनमा आइरहेका छन् । विकासको तीव्र गतिमा हिँडिरहेको यही सहर धरानमा गएको साता शनिबारे हटियाले निक्कै चर्चा कमायो । धरान १२ स्थित अमान बजारमा अग्र्यानिक शनिबारे हटिया सुरु भयो । यो शनिबारे हटिया अब प्रत्येक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म लाग्नेछ ।
सुन्दा अनौठो लाग्छ, सहरमा पनि साप्ताहिक हाट लाग्छ र ! यो हटियाको अवधारणा ल्याउने व्यक्तिलाई पनि सुरुमा त विश्वास थिएन, हटिया चल्छ कि चल्दैन भनेर । अथवा, हाट भर्न मान्छे (उपभोक्ता) आउँछन् कि आउँदैनन्, उनीहरूकै मनमा द्विविधा थियो । उनीहरूको द्विविधा अन्त्य गर्दै शनिबारे हाट भर्न धरानेहरूको भीड लागेपछि शनिबारे हटिया व्यवस्थापन समितिका पदाधिकारी प्रफुल्लित हुने नै भए । शनिबारे हटियामा उपभोक्ताको भीड लाग्नुमा खास कारण पनि छ, यो अग्र्यानिक हटिया हो । अर्थात, यो हटियामा विषादी, रासायनिक मल प्रयोग नगरिएको हरियो एवं ताजा तरकारी र फलफूल मात्र राखिन्छ । कुनै मिसावट नभएको सुद्ध घ्यू, मह, दाल, गुन्द्रुक, किनिमा, नेटल टि (सिस्नोको चिया), जैविक कोइला (ब्रिकेट), लोकल अण्डा, लप्सीको अचार, बेसारलगायतको स्टल थियो । त्यसैले पनि उपभोक्ता निक्कै चासोका साथ हाट भर्न आएका थिए ।
पहिलो प्रयासमै अपेक्षाभन्दा बढी उपभोक्ता आएपछि समितिका पदाधिकारी मात्र होइन, अग्र्यानिकखेती गरिरहेका कृषक पनि औधी खुसी छन् । अग्र्यानिक हटिया वा बजारलाई दिगोरूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । ‘यतिका उपभोक्ता हटियामा आउँछन् भन्ने लागेको थिएन, सोचेभन्दा राम्रो भयो । कृषकलाई धेरै उत्साह दिएको छ,’ अग्र्यानिक खेतीका अभियन्ता एवं सोताङ अग्र्यानिक फर्मका सञ्चालक कृष्ण राईले भने, ‘किसानले आफ्नो मिहिनेत र लगानीको उचित मूल्य पाए, उपभोक्ताले पनि ताजा, स्वस्थ कृषि उत्पादन पाए । यस्तो बजारलाई निरन्तरता दिनुपर्छ ।’ उनको नेतृत्वमा धरान ४ वसन्तटार गाउँमा अग्र्यानिक खेतीको अभियान चलिरहेको छ ।
अग्र्यानिक हटियाप्रति उपभोक्ताको चासोले आफ्नो स्वास्थ्य र खानपानप्रति सचेत हुँदै आएको पनि प्रस्ट पारेको छ । केही महँगो भए पनि अग्र्यानिक तरकारीले स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने ज्ञान भएकोले नै उपभोक्ता हाट भर्न आएका थिए । यो हटियाले पछिल्लो समय अग्र्यानिक खेतीतर्पm आकर्षित भए पनि उत्पादनले बजार नपाउँदा निराश भइरहेका कृषकलाई पनि उत्साह थपिदिएको छ । ‘सहरमा हटिया चल्छ र भन्ने लागेको थियो, तर त्यस्तो होइन रहेछ । यो सामान्य हटिया होइन, मान्छेको जीवन र स्वास्थ्यसँग सम्बन्धित हटिया भएर धेरै चासो दिएर किनमेल गर्न आएँ,’ हटिया व्यवस्थापन समितिकी सचिव सबिता राईले भनिन्, ‘जथाभावी तरिकाको खानपानले हामी सहरियाको स्वास्थ्य नाजुक बन्दैछ, त्यसैले शुद्ध, स्वच्छ र ताजा अग्र्यानिक कृषि उत्पादन उपलब्ध गराउन हटियाको अवधारणा ल्यायौं ।’ समितिका अध्यक्ष काजी गिरीले उपभोक्ता, बुद्धिजीवीहरूले पनि निरन्तर हटिया लगाउन सुझाव दिएको बताए । उनले अग्र्यानिक उत्पादनको अवस्था हेरेर सातामा ३ वा २ दिन भए पनि हाट लगाउन पहल गर्ने बताए ।
शनिबारे हटिया सुरु हुँदा अधिकांशलाई अनौठो लागे पनि धरानमा साप्ताहिकरूपमा हाट बजार लाग्ने चलन थियो । आधुनिक एवं विकसित सहरमा परिणत हुनुअघि अहिलेका सहरमा पनि हाट बजार नै लाग्ने गथ्र्यो । जानकारका अनुसार धरानमा शुक्रबारे र मंगलबारे हटिया गरी सातामा २ पटक हटिया लाग्थ्यो । धरानको साविक पाँचकन्या गाविसबाट शुक्रबारको दिन कृषि उत्पादन, दूधलगायत वस्तु बिक्री गर्न स्थानीय धरानको माछाभौडी नजिक जम्मा हुन्थे । अहिले यो चलन हराइसकेको छ । तर, मंगलबारे हटियाको अस्तित्व भने अहिले पनि छ । साविक विष्णुपादुका गाविसका कृषकले आफ्नो कृषिजन्य उत्पादन अहिले पनि धरान ११, मंगलबारे चोकमा मंगलबारको दिन ल्याउने गर्छन् । ‘साप्ताहिकरूपमा लाग्ने हाट बजारको आफ्नै मौलिकता छ । सहरीकरण, जनघनत्व र आधुनिकतासँगै आएको बजारले हटियालाई लोप ग¥यो, तर यो खालको हटिया आवश्यक छ,’ धरानका पूर्व मेयर मनोज मेन्याङबोले भने ।
Leave A Comment