टीके इन्काउन्टरको भित्री पाटो

बिहिबार, १८ माघ २०७४, ०४ : २६ शुक्रवार
टीके इन्काउन्टरको भित्री पाटो

फिल्मी शैलीमा काठमाडौंको डिल्लीबजार कारागारको तारजाली काटेर भागेका कहलिएका लुटेरा टीकेको पक्राउ पनि फिल्मीशैलीमै भयो । डकैतीको अभियोगमा काठमाडौंको डिल्लीबजार कारागारमा रहेका चर्चित डाँका टीके उर्फ टीकाबहादुर थापा जेल सुरक्षालाई चक्मा दिएर सजिलै फुत्किए । काठमाडौंमा दिउँसै डकैती गरेर प्रहरीलाई कायल बनाएका उनी २०७३ पुस २५ मा पक्राउ परेपछि जेल पुगे पनि प्रहरीको बाक्लो सुरक्षा घेराले उनलाई पर्खालभित्र कैद गरिरहन सकेन । माघ ४ मा सबैलाई चक्मादिँदै उनी सजिलै कारागारको कारखाना क्षेत्रको तारजाली काटेर स्वतन्त्र भए ।

प्रहरीको बाक्लो सुरक्षा घेरामा रहेका कैदी त्यो पनि कहलिएका डाँका फरार हुँदा प्रहरीको टाउको दुख्ने नै भयो । उनको रेकर्ड खराब थियो । राजधानीमै दिनदहाडै पैसा लुट्ने, मोटरसाइकल त देख्नै नहुने चप्काइहाल्ने । चितवनमा रहँदा मोटरसाइकल चोरेर प्रहरीलाई हैरान बनाएका थिए । उनी २०६४ बाट प्रहरीको रेकर्डमा आएका थिए । चितवनमा मोटरसाइकल चोरी भयो प्रहरी टीकेको खोजीमा लागिहाल्थ्यो र फरक पनि पर्दैनथ्यो । चितवनमा टिक्न गाह्रो भएपछि टीके काठमाडौं हान्निए र सुरु गरे गाडी चोरी । काठमाडौंमा पार्किङ गरेको स्थानबाट सहजै गाडी हराउन थाले । प्रहरी अनुसन्धानमा चितवनका टीके काठमाडौं पसेको खबर आएपछि प्रहरी उनको खोजीमा खटिहाल्थ्यो । 

यस्तो नोटोरियस कारागार बाहिर रहँदा कुनै न कुनै अपराध घट्ने निश्चित थियो । त्यसैले उनको खोजीमा महानगरीय प्रहरी अपराध महाशाखाले सइको कमाण्डमा ७ जनाको विशेष टोली नै खटायो ।  स्थायी ठेगाना रामेछाप दोरम्बा रहे पनि टीकेको बाक्लो उठबस चितवनमै थियो । त्यहीबीच काठमाडौं महाराजगञ्जबाट मोटरसाइकल हरायो । टीके निस्कनु अनि मोटरसाइकल हराउनुले प्रहरीको शंका उतैतिर ठोक्कियो । उसका शुभचिन्तक र सहयोगी पनि चितवनमै । चोरीको मोटरसाइकल चितवन पुगेको खबर आयो । प्रहरीले उसलाई खोज्ने सुरुवात चितवनबाटै ग¥यो । टीके खोज्न महाशाखाको टोली चितवन पुग्यो । महाशाखाको टोलीसँग जिल्ला प्रहरी कार्यालय चितवनको टोली मिसियो । 
चितवनको प्रहरी सुराकीले टीके त्यतै भएको खबर ल्याएपछि माघ १३ गते प्रहरी उसको खोजीमा लाग्यो । टीके मोटरसाइकलमा रामनगरतिर आइरहेको सूचनाको आधारमा काठमाडौं र चितवनको टोली बाटोमा एम्बुस थापेर बस्यो । 
सुराकीबाट ना४७प ५०५२ मा टीके आइरहेको सूचना दिएको थियो । सोही अनुसार प्रहरी टोली टीकेको प्रतिक्षामा बस्यो । करिब ५ः१५ बजे सुराकीबाट आएको नम्बरमा एकजना आए । प्रहरीले रोक्नु अगाडि नै टाढाबाट गोली चलेपछि प्रहरीले समेत फायर खोल्यो । फायर खोल्दा मोटरसाइकल चलाइरहेका चालक ढले । प्रहरीले नियन्त्रणमा लिएर हुलिया हेर्दा गोली लागेर ढल्ने व्यक्ति उनै टीके रहेको खुल्यो । गोली लागेर ढलेका उनको शरीरमा हलचल देखिएन । प्रहरीले हतार–हतार अस्पताल पुर्यायो । महाशाखाको टोलीको इन्काउन्टरमा परेका अधिकांशको ज्यान जोगिने गरेको छैन । काठमाडौंमा मारिएका दिनेश अधिकारी चरी, कुमार घैंटे, ललितपुरमा मारिएका प्रविन खत्री सबैको इन्काउन्टर महाशाखाको टोलीसँगै भएको थियो । 

उनलाई प्रहरीले भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा उपचारका लागि पुर्यायो । अस्पताल पु¥याएपछि टीकेको होस खुल्यो । उसको भाग्य दह्रो रहेछ । हात र दायाँ तिघ्रामा लागेको गोलीले उनलाई घाइते मात्र बनायो, ज्यान जोगियो । उनको अवस्था सामान्यमा फर्किए पनि चितवनमै राख्दा उनी पुनः चक्मा दिएर भाग्न सक्ने जोखिम देखेपछि प्रहरीले उनलाई अहिले काठमाडौं ल्याएर वीर अस्पतालको ट्रमा सेन्टरमा कडा सुरक्षा घेरामा राखेको छ । 
‘प्रहरीको योजनामा पक्राउ गर्ने भए पनि मोटरसाइकलमा आएकाले गोली चलाएकाले प्र्रतिरक्षामा गोली चलाउनु परेको हो,’ महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘अहिले उनी वीर अस्पतालमा उपचाररत छन् ।’

महाशाखामा रहेको टीकेको आपराधिक रेकर्डअनुसार पैसा, सुन लुटपाटमा उसको संलग्नता बढी देखिन्छ । टीकेले पैसा लुट्न अधिकांश बैंक र मनीचेञ्जरका ग्राहकलाई टार्गेट बनाउने गरेका थिए । बैंकबाट पैसा निकालेर बाहिरिएका ग्राहकको पछि लागेर पैसा लुटेर मोटरसाइकलमा भाग्ने गरेका थिए । सवारीसाधन चोरी गर्न प्रायः सपिङ मल र अस्पतालको पार्किङ चयन गर्ने गरेका थिए । चोरीको सवारीसाधनमा फर्जी नम्बर राखेर पुनः अपराधमा प्रयोग गरेर टीकेले प्रहरीलाई झुक्याउने गरेको उनको अपराधको कार्यशैली देखिन्छ ।

टीकेको ९ काण्ड
–०७१ कात्तिक २१ : कपनको शनि इन्टरप्राइजेजबाट पैसा निकालेर तेन्जिङ चोकमा पैदल हिँडिरहेको बेला प्रेरणा राईको साथमा रहेको १ लाख ५५ हजार लुटेको ।
–०७१ पुस ६ : जोरपाटीमा सुमित्रा अधिकारीको साथमा रहेको ६९ हजार लुटेको ।
–०७१ माघ २१ : बिहान ११ बजे मध्य बानेश्वरस्थित ह्वाइट हाउस कलेज भवनमा रहेको ग्लोबल आइएमई बैंकको शाखाबाट पैसा निकालेर बाहिरिएकी सरस्वती आचार्यको १८ लाख ८५ हजार लुटेको । 
–०७१ चैत ६ : ओम अस्पतालमा रहेको राम श्रेष्ठको बा६७प ८४६८ नम्बरको मोटरसाइकल चोरेर त्यसमा फर्जी नम्बर राखेर लुटपाटमा प्रयोग गरेको ।
–०७२ वैशाख २७ : बिहानको समयमा बाफलमा रहेको कोहिनुर हाउजिङको नजिकै सीता श्रेष्ठको २ तोलाको सुनको सिक्री लुटेको ।
–०७२ जेठ : बुद्धनगरमा उर्मिला कँडेलको ३ तोलाको सुनको सिक्री लुटेको । जेठमै चुच्चेपाटीमा रहेको भाटभटेनी सुपरमार्केटको पार्किङमा रहेको विष्णुबहादुर गुरुङको बा६च ७६९८ नम्बरको बलेरो गाडी चोरेर मकवानपुर पु¥याएको ।

–०७२ जेठ २१ : चुच्चेपाटीमा रहेको भाटभटेनी सुपरमार्केटमा राखेको रामकाजी श्रेष्ठको मोटरसाइकल चोरेको ।
–०७३ जेठ १ : शिक्षण अस्पताल महाराजगञ्जको पार्किङमा रहेको बा७४प ३६६२ नम्बरको मोटरसाइकल चोरी गरेको ।
–०७२ जेठ : मा बौद्धस्थित भाटभटेनी सुपरमार्केटको पार्किङमा रहेको गाडी चोरेको ।

Leave A Comment