सिआइबीको खोरमा द्वन्द्व निर्देशक

आइतबार, ०६ फागुन २०७४, ०४ : २५ शुक्रवार
सिआइबीको खोरमा द्वन्द्व निर्देशक

कराते गुरुसम्बन्धी डकुमेन्ट्री बनाउन १३ जनाको टोली लिएर द्वन्द्व निर्देशक  राजेन्द्र खड्गी कात्तिक १३ मा दक्षिण कोरिया उडे । उनी आफैं अध्यक्ष रहेको सिद्धार्थ गौतम बुद्ध फिल्म प्रालिको नाममा ‘सोसी मासातासु ओयामा एन्ड कोकिसिन वे’ नाम वृत्तचित्र बनाउन कोरिया गएका थिए ।

१२ दिनको बसाइपछि उनी नेपाल फर्किए । जाँदा १३ जना थिए फर्कंदा उनीसहित दुई जना मात्रै । प्राविधिकको रुपमा कोरिया लगिएका ११ जना उतै हराएपछि नेपालमा रहेको कोरियन दुतावासले चासो दियो । 
कलाकारको आवरणमा नेपालबाट नेपाली नागरिक लगेर उतै छाडेको भन्दै कोरियन दुतावासले प्रहरी प्रधान कार्यालयमा गुनासो गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले माघ २५ मा पक्राउ ग¥यो । अहिले अनुसन्धानका लागि उनी ब्युरोको हिरासतमा छन् । 

अनुसन्धान अधिकारीका अनुसार बयानमा उनले पैसा लिएको सकारेका छन् तर उतै छाडेको स्वीकारेका छैनन् ।  

‘पैसा त लिएको हो तर फिल्म बनाउन लिएको हो, कोरिया लगेर छाड्न लिएको हैन,’ खड्गीको बयान उद्धृत गर्दै स्रोतले भन्यो । 

ब्युरोका प्रवक्ता जीवन श्रेष्ठका अनुसार अनुसन्धानमा खड्गीले १० देखि १५ लाखसम्म लिएर नेपाली नागरिकलाई कोरिया लगेर छाडेको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

‘एउटा उद्देश्यको लागि भन्दै विदेश लगेर उतै छाडेर आएकाले मानव वेचविखन तथा ओसारपसारमा अनुसन्धान सुरु गरेका छौं,’ श्रेष्ठले शुक्रवारसँग भने ।
 

Leave A Comment