‘कंगाल डन’को अविश्वसनीय इन्काउन्टर

शुक्रबार, १८ फागुन २०७४, ०२ : ३९ शेरबहादुर केसी
‘कंगाल डन’को अविश्वसनीय इन्काउन्टर

बुटवलबाट १८ किमि पूर्व लागेपछि आउँछ देवदहको खैरेनी बजार । बजारको मुख्यचोकबाट उत्तरतिर गोठादीमार्र्ग हुँदै दुई सय मिटर अगाडि बढेपछि हल्का नीलो रङ लगाएको एक तले पुरानो एउटा घर आउँछ । यो घर उही मनोज पुनको हो, जसको नाम प्रहरी डायरीमा ‘भारतीय अन्डरवल्र्डका नाइके दाउदझैँ प्रभावशाली’ भनी उल्लेख छ ।

प्रहरी दाबीअनुसार झण्डै ‘नेपाली दाउद’ बनेका मनोज फागुन ९ गते बिहान देवदहमा प्रहरी इन्काउन्टरमा मारिए । 
 
प्रहरीको दाबी पत्याउने हो भने केही दिनअघिसम्म त्रासको अर्को नाम रहेका मनोजको आर्थिक हैसियत अर्बौंको हुनुपर्ने हो । नीलो त्रिपाल टाँगिएको, फुस्स उडेको एक तले उनको घरले भने प्रहरीको दाबीलाई खिस्याइरहेको थियो ।

मनोजको घर पुग्दा प्रहरीले पटक–पटक दाबी गरेझैँ भारतमा बसेर अन्डरवल्र्ड शैलीमा धम्क्याएर अर्बौं रकम असुलेका ‘डन’को  घर त्यही हो भनेर पत्याउन मुस्किल पर्याे ।

रङसमेत गर्न नसकिएको फुङ्ग उडेको चार कोठा रहेको एक तले घर पनि मनोजका बाबु छविलाल बुढाले बनाएका रहेछन् । गत वर्ष युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष मनोज तिवारीको हत्याको योजनाकारका रुपमा पुनको नाम अगाडि आएपछि उनका बाबुसहित परिवारका सदस्य विस्थापित भए । 

टोलबासी समेत रहेका तिवारीको हत्यापछि स्थानीयले उनीहरुलाई हेयको व्यवहार गरे । सधैँ तलासी लिएर प्रहरीले दिनैपिच्छे हैरान पारेपछि परिवार विस्थापित भएको थियो । मनोज भने भारततिर थिए । यता परिवारका सदस्य आफ्नै टोलमा टिक्न सकेनन् । बाबु र आमा काठमाडौँ लागे । दाजु सोमबहादुर पोखरा पुगे । मनोजकी श्रीमती माइती लागिन् । इन्काउन्टरमा तिनै मनोज मारिएपछि परिवारका सदस्य घर फर्किएर ताल्चा खोली किरियामा बसेका छन् । 
उच्च रक्तचाप र मधुमेहका रोगी ६८ वर्षीय छविलाल भूतपूर्व भारतीय सैनिक हुन् । म्याग्दीको तिवाङवासी उनी २०५० सालतिर रुपन्देही झरेका हुन् । पहिले कोटिहवा बसेका उनी त्यसपछि देवदहमा बसाइँ सरे । 
नियमित खानुपर्ने औषधि र काठमाडौंको बसाइ खर्च पेन्सनबाट आएको पैसाले धानिएको उनको दाबी छ । छविलालका चार सन्तानमध्ये मनोज कान्छा हुन् । वेभ डिजाइनर रहेका उनका जेठा छोरा सोमबहादुरले परिवारको भरथेग गर्ने गरेका छन् । जेठी छोरीको विवाह भइसकेको छ । कान्छी छोरी पढ्दैछिन् । 

छोराको किरियाका लागि घर फर्किएका उनी छोराको मृत्युबारे धेरै बोल्न चाहेनन् । ‘उसलाई कानुनी कठघरामा उभ्याएको भए हुन्थ्यो,’ उनले यत्ति भने । 
घरबार छाडेर हिँडेका उनी आफ्नै टोल र घरमा बाँकी जीवन बिताउन चाहन्छन् । मनोजका दाजु सोमबहादुर भाइलाई सधैँ अरुले प्रयोग गर्दा यस्तो अवस्था आएको बताउँछन् । ‘स्कुल पढ्दाताका माओवादीले बोरा बोकाएर माथि गोठादीसम्म पुर्याउँथे उनले भने, ‘त्यसपछि अरुले प्रयोग गरे ।’

राजनीतिको आडमा अपराध 

गत पुसमा तिवारी मारिएपछि मनोजको नाम ‘मोस्ट वान्टेड अपराधी’ को रुपमा चर्चामा आएका हुन् । कुनै समयमा अनन्य मित्र थिए यी दुवै । मनोज सुरुमा देवदहमा सामान्य गुण्डागर्दीमा जोडिन्थे । स्कुल पढ्दादेखि नै उदण्ड स्वभावका उनी साढे दुई वर्षदेखि प्रहरीको नजरमा चढेका हुन् ।

सामान्य रिसइबीमा समेत गोली पड्काउने, हतियार देखाउने र ताकेरै गोली हान्ने गर्न थालेपछि मनोजसँग संगत गरेकाहरुसमेत झस्किए । २०७२ कात्तिक २२ गते दिउँसो व्यस्त खैरेनी बजारमै रहेको पुल हाउसमा २० वर्षीय युवा नारायण बस्नेतको खुट्टामा गोली लाग्यो । सो घटनामा मनोजको नाम पोलियो । उनका निकटहरु पक्राउ परेपछि मनोज भारततिर भासिए ।

अपराध यात्रा 
उनले आफ्नो अपराध यात्राको प्रारम्भ राजनीतिक संलग्नताबाट सुरु गरेको दखिन्छ । २९ वर्षीय मनोज स्कुलमा पढ्दा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा संलग्न भए ।
त्यसपछि वाइसिएल हुँदै २०६६ मा नेकपा एमालेको भातृ संगठन युवा संघमा प्रवेश गरे । युवासंघ रुपन्देही—१ को क्षेत्रीय कमिटी कोषाध्यक्षको जिम्मेवारी पाएपछि उनी संगठनमा ६ महिना पनि टिक्न सकेनन् । 
संगठनको नाममा धक्याएर पैसा असुलेको भन्दै कारबाहीको तयारी भएपछि उनले युवा संघ छाडे र युवा संघसँग जोडिएकामाथि आक्रमणको क्रम सुरु भयो । सबै आक्रमणमा मनोजको नाम जोडियो ।
तिवारीको हत्याको योजनाकार उनै मनोज भएको प्रहरीले सार्वजनिक ग¥यो । काठमाडौंमा दावा लामाको हत्या प्रयास र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा समेत उनको नाम जोडिएको थियो ।
समीरमानसिंह बस्नेतको पक्राउपछि उनले नै यी दुवै घटनाबाट मनोज पुनलाई सफाइ दिए र दुवै घटना आफूले लोप्साङ लामालाई परिचालन गराएर गराएको स्वीकारे । बस्नेत अहिले पुर्पक्षका लागि थुनामा छन् ।
बस्नेतको पक्राउपछि पुसमा देवदहमा एमालेसँग जोडिएका अर्का बलु पौडेल मारिए । उनको हत्यामा मनोजकै नाम जोडियो । मनोजले फोन गरेको दाबी गरिएको फोन कल सार्वजनिक भयो । जसमा उनले ‘प्रहरीसँग मिलेर आफूसँग जोडिएका केटाहरुलाई दुःख दिएपछि आफूले त्यसो गर्न सम्झाएको तर नमानेपछि हत्या गरेको’ दाबी थियो । त्यसपछि मनोजको खोजीको क्रम थप तीव्र बन्यो ।

अकस्मात इन्काउन्टर 

‘चलाख अपराधी’ समीरमान पक्राउ परेपछि मनोज लामो समय लुकेर जोगिन नसक्ने धेरैको आँकलन थियो । समीरमानको पक्राउपछि चाँडै मनोज पक्राउको समाचार आउने निचोडमा थिए सञ्चारकर्मी तर आएन । 
मनोज कहिले पक्राउ पर्छन् भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रहरीले यकिन केही जवाफसमेत दिएको थिएन ।
पक्राउको सूचना कुरिरहेका सञ्चारकर्मीले फागुन ९ गते बिहान मनोज प्रहरीसँगको मुडभेडमा मारिएको खबर पाए । मुडभेडस्थल रुपन्देहीको देवदह क्षेत्र थियो, जहाँ यसअगाडि मनोजको योजनामा दुई जनाको हत्या भएको थियो । इन्काउन्टर स्थलमा मनोज मात्रै ढलेनन्, उनीसँगै जोडिदै आएका सोम आलेको समेत इहलीला समाप्त भयो ।

रुपन्देहीका एसपी श्याम ज्ञवालीले ‘मनोज सहयोगी आलेसहित केही दिनअघि रुपन्देही आएको सूचनाका आधारमा पछ्याउँदै जाँदा प्रहरीमाथि आक्रमण भएपछि प्रतिउत्तरमा गोली चल्दा घाइते भएको र अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको’ दाबी गरे ।

प्रहरीले सार्वजनिक गरेको समयतालिका अनुसार ९ गते बिहान ३ः३० मा मुडभेड भएको थियो । जसमा मनोजको तर्फबाट प्रहरीको मोटरसाइकलको साइड लाइट फुट्ने गरी एक राउन्ड गोली चलेको थियो । प्रहरीका तर्फबाट झण्डै दुई दर्जन गोली खर्च भएको थियो ।

भारतमा लुकेर बसेका मनोज एक्कासि देवदह इलाकामा आउनु, प्रहरीले त्यसको चाल पाउनु र एकाबिहानै एकान्त स्थानमा गोली चल्नु, प्रतिकारमा एक राउण्ड गोली मात्र चल्नु तर त्यसको जवाफी फायरिङमा दुई दर्जन राउन्ड गोली चल्नुले घटना प्रहरीले भनेझैँ आकस्मिक मात्र भएको देखिदैन । 

यसअघि काठमाडौँमा इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरी र कुमार श्रेष्ठ घैंटेको घटनामा समेत दर्जनौं अनुत्तरित प्रश्न थिए नै । तत्काल त्यसको विवेचना र आलोचना भए पनि निचोड भने अझै आउन सकेको छैन । 

मनोजभन्दा सोम खुंखार

मनोजसँगै मारिएका सोम दुर्गा तिवारी र वसन्त पौडेल हत्यामा जोडिएकै नाम हो । मनोज नाइके र सोम उनका सहयोगीको हैसियत देखिए पनि आपराधिक प्रोफाइलमा भने सोम मनोजभन्दा खुंखार देखिएका थिए ।
विकास नामले समेत चिनिने मनोज २०६२ मा बुटवलको प्रभु मनि ट्रान्सफरमा भएको लुटपाटमा जोडिएका थिए । लुटपाटको प्रतिकार गर्दा एक जना मारिएका थिए । उनी त्यसको योजनाकार देखिएका थिए । 
घटनाको केही समयपछि पक्राउ परेका उनी केही वर्ष जेल परेर छुटेपछि मनोजको सम्पर्कमा पुगेका थिए । भारतीय सेनामा काम गरेर छाडेका सार्प सुटर उनलाई मनोजले आफ्नो योजनामा सुटरको रुपमा प्रयोग गरेको प्रहरीको दाबी छ । 
 

त्यो २ इन्काउन्टर
प्रहरीको खोजी सूचीमा रहे पनि एमालेको बलियो संरक्षणमा रहेका धादिङका दिनेश अधिकारी चरी २०७१ साल साउन २१ गते काठमाडौं र धादिङको सिमानामा ढले । 
खाग तस्करी तथा हत्या प्रयास, लुटपाट, डकैती लगायतका मुद्दा अदालतमा विचाराधीन थिए । यसबाट बच्न उनी काठमाडौंको बसाइका क्रममा एमालेका प्रभावशाली नेताकै घरमा बास बस्थे तापनि उनी इन्काउन्टरबाट जोगिन सकेनन् ।

‘धादिङ जाँदै गरेका उनको पिछा गर्दा भीमढुंगामा पुगेपछि प्रहरीमाथि फायर भएपछि प्रतिउत्तरमा गोली चलाउँदा उनी मारिएको’ प्रहरीको दाबी थियो । अस्पताल नपुर्याई उनी मृत घोषित भएका थिए ।

उता ‘कांग्रेसी डन’का रुपमा परिचित कुमार श्रेष्ठ घैँटे २०७२ भदौ ३ मा कपुरधारामा आफ्नै घरअगाडि ढले । प्रहरीको गोलीले ढल्नु एक महिनाअघि सुरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग पुगेका उनी आफ्नै घरको ३० मिटर परिसरमै मारिएका थिए ।

घटनास्थलमा स्थानीय अन्य दुई युवालाई समेत गोली लागेको थियो । उपचारपछि दुवै निको भए । शिक्षण अस्पताल महाराजगञ्जमा मृत घोषित घैँटे इन्काउन्टरबारे दर्जनौं प्रश्न उठे पनि अहिलेसम्म निचोड आएको छैन ।
 

Leave A Comment