‘चेला’ हिरासतमा, ‘गुरु’लाई रेडकर्नर

शुक्रबार, ०९ चैत २०७४, ०७ : ११ केपी ढुंगाना
‘चेला’ हिरासतमा, ‘गुरु’लाई रेडकर्नर

कोही जेल पर्ने त कोही इन्काउन्टरमा मारिने गरे पनि तीन वर्षयता गणेश लामा राजनीतिक र प्रहरीमा रहेका केही प्रभावशाली अधिकारीको संरक्षणका कारण सुरक्षित थिए । तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रा सुरु गर्दै गुण्डा नाइकेको छवि हटाउने अभ्यासमा लागेका उनी विजयकुमार गच्छदारसँगै नेपाली कांग्रेसमा पुगेका थिए ।

फोरममा भन्दा कांग्रेसमा उनी थप सुरक्षित हुने आँकलन भने गलत बन्यो । नेकपा एमाले र माओवादी केन्द्रको सरकार बनेसँगै लामाको हिरासत यात्रा सुरु भयो । उनी अवैध हतियारको अभियोगमा अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको खोरमा छन् ।

प्रहरीले सार्वजनिक गरेको उनको पक्राउको घटनाक्रम केही नमिल्दो देखिए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अवैध हातहतियारको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने अनुमति दिइसकेको छ । प्रशासनको अनुमतिमा लामा प्रहरी हिरासतमा छन् भने उनलाई छुटाउन नेपाली कांग्रेस काभ्रेका नेताहरु आन्दोलनमा ।

फागुन ३० बेलुका उनलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो । प्रहरीले दाबी गरेअनुसार बेलुका १० वजे आसपास होटल पशुपति भिजन क्षेत्रमा गोली पड्किएको आवाज आएपछि खटिएको प्रहरीले लामालाई हतियारसहित फेला पारेको थियो । प्रहरी पुग्दा लामा भागिरहेको देखेपछि लखेटेर पक्राउ गरिएको प्रहरी दाबी छ । 

लामाको साथबाट ७ दशमलब २२ एमएमको ६ राउन्ड गोली र चाइनिज पेस्तोल फेला परेको प्रहरीको भनाइ छ ।

‘लामा रहेको जानकारी आएपछि खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर जाँच गर्दा पेस्तोल र गोली बरामद भयो,’ अहिले उनलाई अवैध हतियारको केसमा अनुसन्धान गरिरहेका छौँ ।’
प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइरहेको बेला काभ्रे कांग्रेस लामालाई छुटाउन आन्दोलनमै उत्रिइसकेको छ । लामा प्रदेश सभामा काभ्रेमा प्रदेशतर्फ कांग्रेसको टिकटमा उम्मेदवार बनेर पराजित भएका थिए । उनी फोरममा हुँदासमेत काभ्रेमा संविधान सभाकै उम्मेदवार बनेका थिए ।

लामाले भने दुई युवाले आफूलाई गोली हान्न आएपछि आफूले पेस्तोल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन खोज्दा आफैँलाई पक्राउ गरेको दाबी गरिरहेका छन् । उनले प्रहरी मुचुल्कामा समेत हस्ताक्षर गर्न मानेका छैनन् ।

१४ वर्षीय अपराध यात्रा
लामाको करिब १४ वर्ष लामो आपराधिक पृष्ठभूमि छ । प्रहरी रेकर्डअनुसार उनी २०६० ताका काठमाडौंमा अपराधमा देखिएका थिए । प्रारम्भमा सामान्य गुण्डागर्दीमा संलग्न उनी दीपक मनाङे समूहमा गएर शक्तिशाली भएका थिए । उनको समूहलाई प्रहरीले काभ्रेली ग्याङ नामाकरण गरेको थियो ।

ठमेल र दरबारमार्ग क्षेत्रको रात्रिकालीन व्यवसायबाट आर्थिक रुपमा सबल बन्दै गएका उनी भारतबाट रक्त चन्दन तस्करी सुरु भएपछि आर्थिक रुपमा बलियो बनेका हुन् । मनाङे समूहबाट आपराधिक सञ्जाल बलियो बनाएका उनले पछिल्लो समय आफ्नै समूह बनाएका थिए । प्रहरीको सूचीमा संगठित आपराधिक गतिविधिमा सक्रिय ‘ए’ समूहमा रहेका उनी पछिल्लो समय निर्माण व्यवसायमा संलग्न थिए । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण विभागको संयुक्त अनुसन्धानमा आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको अभियोग लागेका ६ गुण्डामध्ये उनको सम्पत्ति सबैभन्दा धेरै देखिएको थियो ।

संगठित आपराधिक गतिविधिमा सक्रिय नाइकेविरुद्ध प्रहरी आक्रामक रुपमा अगाडि बढ्दा उनी सधैँ सुरक्षित रहे । आपराधिक गतिविधि गर्नसक्ने भन्दै दीपक मनाङे, चक्रे मिलन लगायतकाहरु पक्राउ पर्दासमेत उनी सुरक्षित रहेका थिए । राम्रै पहुँच भएका केही प्रहरी अधिकारीसँग उनले स्वतन्त्रताको मूल्य चुकाएको चर्चासमेत चुलिएको थियो ।

मनाङेको नाममा रेडकर्नर
प्रदेश नम्बर ४ मनाङबाट प्रदेश सभामा जितेर पनि सपथ खान नपाएका दीपक मनाङेको नाममा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएको छ । मनाङे प्रदेशको माननीयमा निर्वाचन भएपछि हत्या प्रयासको अभियोगमा कैद सजाय पाए पनि कैद भुक्तान नभएको दोषी रहेको खुलेपछि उनी फरार छन् । 

अर्का प्रतिस्पर्धी चक्रे मिलनको हत्या प्रयासको मुद्दामा २०६९ मै तात्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाए पनि फैसला गुपचुपै राखिएको थियो । कानुनतः दोषी ठहरिएका उनी प्रदेश सभामा उम्मेदवारका लागि अयोग्य भए पनि एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका थिए । विजयी भएलगत्तै उनको अपराध खुलेको थियो ।

लगत्तै प्रहरी खोज्न खटिएपछि सम्पर्कविहीन भएका मनाङे नेपालबाहिर पुगिसकेको सूचनाको आधारमा उनलाई पक्राउ गरी नेपाल ल्याउन प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको समन्वय शाखाले इन्टरपोलको केन्द्रीय कार्यालयमा पत्राचार गरेको थियो । 

प्रहरीको पत्राचारको आधारमा मनाङेविरुद्ध केही दिनअगाडि इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको हो । अदालतबाट दोषी ठहर भई सजाय तोकिएको तर सो देशको सीमाभन्दा बाहिर रहेका व्यक्तिलाई पक्राउका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले रेडकर्नर नोटिस जारी गर्ने गरेको छ । 

रेडकर्नर जारी भएको व्यक्ति इन्टरपोलको सदस्य राष्ट्र रहेको १ सय ९२ देशका पुगे नियन्त्रणमा लिएर सम्बन्धित देशमा पठाउन सक्छ तर यो बाध्यकारी भने हैन ।
 

Leave A Comment