सेक्स र्‍याकेटको ट्रान्जिट बन्दै नेपाल

आइतबार, १८ चैत २०७४, ०६ : ३१ केपी ढुंगाना
सेक्स र्‍याकेटको ट्रान्जिट बन्दै नेपाल

भारतका कुख्यात यौन व्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होइन । अझै पनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्याई कोठीमा बेचिइरहेकाछन् । यस कथामा भने हालै नयाँ मोड आएको छ । पछिल्लो समय विदेशी युवतीलाई पनि भारतका कोठीमा राख्ने गरिएको खुलेको छ । र, यसको मूल ट्रान्जिट नेपाल बन्न थालेको छ । 

एक भारतीय युवा प्रहरीको सहयोग खोज्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आइपुगे । उनीबाट आएको सूचनाले कार्यालयमा रहेका प्रहरी छक्कै परे । दिल्लीबाट ढुन्मुनिदै भैरहवा आइपुगेका उनले दिएको सूचना अलि अविश्वसनीय थियो । सहजै पत्याउनु कठिन हुनु स्वाभाविक थियो तर सूचना गम्भीर भएकाले एसपी श्याम ज्ञवालीले उनले भनेको लोकेसनमा प्रहरी टोली पठाए ।

देवकोटा चोकमा रहेको चल्तीको होटल नान्सको कोठा नम्बर २०४ र २०५ मा पुग्दा प्रहरी टोली छक्क पर्याे । दुवै कोठामा थिए दुई जना विदेशी युवती । मुहारले उनीहरु केही दिनदेखि भोकै रहेको ठम्याउन मुस्किल भएन प्रहरीलाई ।

दुई युवतीमध्ये एक थिइन्, उज्वेकिस्तानकी र अर्की किर्गिस्तानकी । प्रहरी टोली देख्नासाथ दुवै युवतीको मुहार केही उज्यालो भयो । उनीहरु रुन थाले । प्रहरीले दुवै युवतीलाई होटलबाट निकालेर गाडीमा राख्यो । उनीहरुको कुरुवा बसेका बब्लु सिद्धिकी मुसलमानलाई प्रहरीले तत्काल नियन्त्रणमा लियो । 

‘बब्लुलाई कार्यालयमा ल्याएर सोधपुछ गर्दा छक्क पर्ने घटनाको पाटो खुल्यो,’ रुपन्देहीका जिल्ला प्रहरी प्रमुख एसपी ज्ञवालीले शुक्रबारसँग भने, ‘ती दुवै युवती तीन दिनदेखि होटलमा बन्धक थिए । भौकभोकै राखिएको रहेछ ।’

तीन दिन होटलमा बन्धक
रुसी र अफ्रिकी युवती कल गर्लको रुपमा काम गर्न पर्यटन भिसामा नेपाल आउने गरेको तथ्य शुक्रबार साप्ताहिकले गत जेठदेखि लगातार खुलासा गर्दै आइरहेको छ । तीन महिने पर्यटन भिसामा नेपाल आउने रसिया र त्यसको आसपासका देशका युवती, अफ्रिकी र चिनियाहरु कोही काठमाडौँका महँगा होटलमा बस्छन् त कोही फ्ल्याट नै लिएर बस्ने गरेका छन् । क्यासिनो र महँगा बार चहार्दै ग्राहक खोज्न सक्रिय विदेशी युवतीहरु छ्यापछ्याप्ती भेटिन्छन्, काठमाडौंमा ।

भैरहवाको घटनाले पुष्टि गर्याे , उनीहरुको देह व्यापारको धन्दा यत्तिमै मात्र रोकिएको रहेनछ । नेपालको तीन महिने बसाई सकाएर उनीहरु स्वदेश फर्कनुको साटो छिमेकी मुलुक भारत जाने र उताबाट पुन नेपाल आउने गरेको समेत खुल्यो । यस्तोमा मानव तस्करीमा सक्रिय समूहको सम्पर्कमा पुग्ने उनीहरु फन्दामा समेत पर्ने रहेछन् ।

भैरहवाको होटलमा बन्धक बनाएको अवस्थामा फेला परेका यी दुवै युवती ‘भिआइपी’ यौनकर्मीको रुपमा काम गर्न पर्यटकको आवरणमा नेपाल आएका थिए । उज्वेकिस्तानकी युवती नेपालको भिसा सक्किएपछि भारतको दिल्ली पुगेर नेपाल फर्कदा मानव तस्कर समूहको फन्दामा परेकी थिइन् । किर्गिस्तानकी युवती नेपालबाट गोवा सिफ्ट हुने क्रममा भैरहवामा फँसेकी थिइन् । बब्लु सिद्धिकी मुसलमान मानव तस्कर समूहको नेपाली एजेन्ट रहेको समेत अनुसन्धानबाट खुलेको छ ।

एसपी ज्ञवालीका अनुसार मानव तस्करीमा सक्रिय समूहले भैरहवा क्षेत्रको होटललाई सेल्टर बनाएर उनीहरुलाई बन्धक बनाएको थियो । दिल्लीबाट नेपाल फर्किएकी युवती र नेपालबाट भारत हिँडेकी युवती तीन दिनदेखि होटलमा बन्धक थिए । 

प्रहरीका अनुसार भारतबाट नेपाल आउन र नेपालबाट भारत आउन दुवै युवतीले एजेन्टलाई ४–४ हजार अमेरिकी डलर दिइसकेका थिए । उनीहरु बीचको डिल त्यत्ति रकममा भएको थियो तर होटलमा पुगेपछि सिद्दिकीले थप रकम माग्न थाले । दुवैसँग पैसा सक्किइसकेको थियो । पैसा नदिएसम्म जान नदिने भन्दै उनले दुवै युवतीलाई बन्धक बनाएर राखेका थिए ।

बन्धक मूल्य ४ हजार डलर
नेपालबाट तीन महिनाअगाडि भारत पुगेकी उज्वेकिस्तानकी युवती पहिला गोवा र त्यसपछि दिल्ली पुगेकी थिइन् । दिल्ली बसाइका क्रममा एक भारतीय युवासँग उनी नजिकिइन् । ती भारतीय युवाले युवतीलाई मन पराउने रहेछन् ।

भारतको भिसाको म्याद सकिएपछि उनी नेपाल आएर स्वदेश फर्किएपछि पुनः भारत आउने वाचा गरेर नेपाल आएकी रहिछन् । भारतमा रहेका उनको एजेन्टले उनैबाट तीन महिनाको नेपाली भिसा मिलाइदिए । भारतीय एजेन्टको सहयोगमा उनी भैरहवासम्म आइपुगिन् । नेपाल आएपछि उनलाई काठमाडौंसम्म ल्याउने जिम्मेवारी सिद्धिकीले लिएका थिए । उनले वाचा पूरा गरेनन् ।

पटक–पटक पैसा मागेर भएको चार हजार डलर लिइसकेपछि पनि काठमाडौँ नपुर्याएपछि उनै युवतीले भारतीय ब्याइफ्रेन्डसँग पैसा माग्छु भनेपछि सिद्धिकीले उनलाई फोन सम्पर्क गर्न दिएका थिए । उनले भारतीय प्रेमीलाई फोन गरेर केही पैसा पठाउन आग्रह गरिन् । सिद्धिकीको निर्देशनअनुसार उनले आफू भैरहवामा रहेको होटलको नामसमेत बताएपछि ती युवाले पैसा पठाउनुको साटो आफैँ नेपाल आए ।

होटलमा गएर प्रेमिका भेटेपछि उनलाई त्यहाँको अवस्था सामान्य लागेन र उनी सहयोगका लागि प्रहरी कार्यालय पुगेका थिए । 

‘ती भारतीय युवाका कारण नै भैहरवामा मानव तस्करहरुले बनाएको सेल्टर खुल्यो,’ एसपी ज्ञवालीले भने, ‘उनले प्रहरीलाई ठूलो सहयोग गरे ।’

तस्करीमा अन्तर्राष्ट्रिय गिरोह
सिद्धिकी पक्राउ परेपछि प्रहरीले नेपाल–भारत सीमामार्फत् हुने विदेशी युवतीको तस्करीबारे धेरै जानकारी पाएको छ । एसपी ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा विदेशी युवती तस्करीका लागि उज्वेकिस्तान, किर्गिस्तान, केन्या, घाना लगायतका अफ्रिकी देशका युवतीलाई नेपाल पठाउने गिरोह उतै सक्रिय छ ।

नेपाल र भारतमा रहेका तस्करहरुले उताका तस्करसँग मिलेर युवतीलाई पर्यटकको आवरणमा नेपाल भित्रयाउने, तिनलाई ‘उच्चमूल्यका कल गर्ल’का रुपमा नेपालमा प्रयोग गर्ने र भारतमा रहेका एजेन्टको मागअनुसार उतासमेत पठाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

‘नेपालमा पर्यटक भिसामा सहजै आएर यतै सक्रिय हुने र माग आए भारतसम्म जाने गरेको देखियो,’ एसपी ज्ञवालीले भने, ‘भारत जान तस्करले भैरहवासँगै वीरगञ्ज, विराटनगर र नेपालगञ्जको नाकासमेत प्रयोग गर्ने गरेको देखिएको छ ।’

प्रहरीका अनुसार भारत जाँदा कतिपय युवती भिसा नै नलिई जाने गरेकोसमेत देखिएको छ । उनीहरु अधिकांशको टार्गेट पहिलो गोवा र दोस्रोमा दिल्ली देखिएको छ । भारतमा बस्न खतरा हुने गरेको खण्डमा भने उनीहरु खुल्ला सीमाको फाइदा उठाउँदै नेपाल भित्रने अनि स्वदेश फर्कने गरेको खुलेको छ ।

नेपाली भिसासमेत नक्कली

रुपन्देही प्रहरीले सिद्धिकीलाई अवैध मानव ओसारपसारको अभियोगमा अदालतबाट अनुमति लिएर अनुसन्धान सुरु गरिसकेको छ । बयान लगायतका आवश्यक कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले उद्धार गरेका दुवै युवती काठमाडौँ फर्किए । दुवै युवती आफ्नो देश फर्कन चाहन्थे । भारत हिँडेकी किर्गिस्तानी युवती हवाईमार्गबाट स्वदेश फर्किसकेकी छन् तर भारतबाट भिसा लिएर नेपाल आएकी उज्वेकिस्तानी युवती स्वदेश फर्कन सकेकी छैनन् ।

राहदानी लिएर त्रिभुवन विमानस्थल पुगेकी उनी अध्यागमनको नियन्त्रणमा छिन् । अध्यागमन कार्यालयका एक अधिकारीका अनुसार भारतबाट नेपाल आउन उनले प्रयोग गरेको भिसा नक्कली भएकाले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो । 

सिद्धिकी नेपाली एजेन्ट, जोगिन्दर भारतीय
तेस्रो देशबाट युवतीलाई नेपाल पठाउन को–को सक्रिय छन्, अहिले पूरै नखुलेको प्रहरीले जनाएको छ । नेपालमा रहेका एक र भारतमा रहेका अर्काको भने पहिचान भएको प्रहरी दाबी छ । एसपी ज्ञवालीका अनुसार सिद्धिकी नेपाली एजेन्ट हुन्, जसले नेपाल आइपुगेका विदेशी युवतीलाई मागअनुसार भारत पठाउने गर्थे ।

भारतमा रहेका जोगिन्दर सिंह उताका एजेन्ट रहेको प्रहरीको ठम्याई छ । जोगिन्दर दिल्लीका गुण्डा हुन् । उनी यस अगाडि प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनसँग समेत जोडिएका थिए । एसपी ज्ञवालीका अनुसार जोगिन्दरले दिल्ली र गोवामा विदेशी युवतीको कोठी चलाउँछन् । नेपाल आएका विदेशी युवतीलाई सिद्धिकीमार्फत् भारत ल्याएर यौन धन्दामा लगाउँछन् र नेपाल फर्काउँछन् । नेपालमा सिद्धिकीबाहेक अन्य एजेन्टसमेत रहेको हुनसक्ने प्रहरीको आशंका छ तर उनीहरुबारे खुलिसकेको छैन । 

‘घटना क्रमले काठमाडौंतिर अन्य एजेन्ट पनि रहेको देखाउँछ,’ एसपी ज्ञवालीले भने, ‘तर अहिले नै विवरण खुलाउने गरी अनुसन्धान निचोडमा पुगिसकेको छैन ।’

‘विदेशी युवती तस्करीमा ठूलो समूह देखियो’

एसपी श्याम ज्ञवाली
प्रमुख जिल्ला प्रहरी कार्यालय, रुपन्देही

पर्यटन भिसामा सहजै नेपाल आउन सकिने देशका युवतीहरुलाई मानव तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय सञ्जालले नेपाल पठाएर भारतसम्म पु¥याउने गरेको डरलाग्दो अपराध देखियो । भैरहवा हुँदै भारत लैजान लागेका दुई विदेशी युवतीलाई होटलमा बन्धक बनाइएको अवस्थामा फेला पारिएपछि नेपाललाई ट्रान्जिट बनाएर हुने गरेको गम्भीर अपराध खुल्यो । 
अनुसन्धानमा उनीहरुले भैरहवा मात्रै हैन, वीरगञ्ज, विराटनगर र नेपालगञ्जलाई समेत ट्रान्जिट बनाउने गरेको पाइएको छ । यस्ता युवतीहरु त कतिपय अवस्थामा भिसासमेत नलिई नेपाल–भारत आउजाउ गर्ने गरेको र उनीहरुलाई मानव तस्कर समूहका नेपाली सदस्यले सघाउने गरेको देखियो । 
उनीहरु नेपाल आउनु र भारत जानुको उद्देश्य यौन व्यापार देखिएको छ । यो अर्को उदेकलाग्दो पाटो हो । नेपालबाट भारत जाने यस्ता युवतीको लक्ष्य गोवा र दिल्ली देखियो जहाँ विदेशी पर्यटक बढी हुन्छन् । 
भारतको पर्यटकीय क्षेत्रमा पुगेपछि उतै रहेका तस्कर समूहले उनीहरुलाई यौनधन्दामा लगाउने गरेको देखियो । भारतको भिसा सकिएपछि नेपालको भिसा लगाएर फर्काउने गरेको खुल्यो । तर भिषा लगाउँदा नक्कली भिसा लगाउने गरेको देखिएकाले यो सञ्जालबारे गम्भीर अनुसन्धान आवश्यक छ । 
यो सञ्जालमा नेपाल–भारत र तेस्रो देशका मानव तस्कर समूहसमेत संलग्न देखिएका छन् । यसका लागि संयुक्त र गम्भीर अनुसन्धान आवश्यक छ । यसका लागि भारतीय पक्षसँग समेत समन्वय सुरु गरेका छौँ । 
 

Leave A Comment