चुनाव र लिग गर्न खेलाडीको आग्रह

आइतबार, १६ बैशाख २०७५, ०२ : ५० शुक्रवार
चुनाव र लिग गर्न खेलाडीको आग्रह

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा तथा निर्वाचन स्थगित हुँदा नेपाली फुटबल अन्योलमा धकेलिएको भन्दै अखिल नेपाल फुटबल खेलाडी संघले चिन्ता व्यक्त गरेको छ । 

खेलाडी संघका उपाध्यक्ष एवं नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले एन्फाको अन्योलपूर्ण विवादका कारण पछिल्लो तीन वर्षदेखि ‘ए’ डिभिजन फुटबल लिगसमेत हुन नसकेको प्रसंग कोट्याउँदै त्यसबाट नेपाली फुटबललाई ठूलो क्षति पुगेको बताए । लिग नियमित नहुँदा खेलाडीमात्र नभई क्लब, प्रशिक्षक र अन्य प्राविधिकहरु पनि प्रभावित भएको उनको भनाइ थियो । लिग नभएकै कारण खेलाडीहरु जीवनयापनका लागि विदेशिन थालेकोमा उनले चिन्ता व्यक्त गरे ।

‘देशमा लिग नभएको वर्षौं भइसक्यो । हामीले खेल्ने भनेको मोफसलका नकआउट प्रतियोगितामात्र हुन् । त्यस्ता प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरका लागि तयारी गर्न पर्याप्त हुँदैन । सबै खेलाडी अहिले अत्यन्तै कठिन अवस्थामा छन् । एन्फाले चाँडोभन्दा चाँडो यो समस्या समाधान गर्नेमा हामी आशावादी छौं,’ महर्जनले भने, ‘चुनाव नभई लिग हुने देखिँदैन । त्यसैले पहिला चुनाव गरेर लिग आयोजना गर्दै नेपाली फुटबललाई पुनः सही ट्र्याकमा फर्काउनुपर्छ ।’

एन्फा निर्वाचनको विवाद कायम रहेको अवस्थामा फुटबल क्लब संयोजन समितिले अन्योल समाप्त गर्दै चुनाव नभएसम्म कुनै पनि क्लबले खेलाडी अनुबन्ध नगर्ने घोषणा गरिसकेको छ । क्लबले खेलाडी अनुबन्ध नगर्दा घरेलु फुटबल अगाडि बढ्न नसक्ने बताउँदै खेलाडी संघले यसको सबै जिम्मेवारी एन्फाले लिनुपर्ने जनायो । एन्फाले लिग आयोजना नगरिरहेको अवस्थामा क्लबसँग सहमति गरेर मितिसमेत नतोकेकोमा महर्जनले आक्रोश पोखे ।

हालै सम्पन्न निर्वाचनबाट चुनिएका खेलाडी संघका अध्यक्ष राजेश मानन्धर तथा सदस्य सुजल श्रेष्ठ लगायतले खेलाडी मात्र नभई सम्पूर्ण नेपाली फुटबलको भविष्यका लागि तत्काल निर्वाचन र लिगको मिति तोक्न आह्वान गरे ।
 

Leave A Comment