गोल्डेन डनको सान

आइतबार, १३ जेठ २०७५, ०१ : ५१ शुक्रवार
गोल्डेन डनको सान

नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष तथा सञ्चारकर्मी किशोर श्रेष्ठले मंगलबार साढे ११ बजे बिग न्युज ब्रेक गरे– ‘चर्चित सुन तस्करी र भरिया सनम शाक्य हत्याकाण्डका सतहमा देखिने मास्टर माइन्ड चूडामणि उप्रेती उर्फ गोरे सीमापारिबाट समातिएर हाल नेपाल प्रहरीको कब्जामा । मनोज पुनझैँ इन्काउन्टरमा मारिनबाट जोगिए ।’

साढे ३३ किलो सुन तस्करीबारे जिल्ला अदालत मोरङमा भइरहेको थुनछेकको बहसका पट्यारलाग्दा एकतर्फी समाचारका बीच श्रेष्ठले फेसबुकमा राखेको सूचना बिग न्युज थियो । लगत्तै अनलाइन न्युज पोर्टलहरुमा समाचार आउने क्रम सुरु भयो तर श्रेष्ठको भन्दा थप जानकारी थिएन ।

पौने १२ बजेतिर गृह मन्त्रालयको ल्यान्डलाइनबाट सुरक्षा हेर्ने सञ्चारकर्मीहरुलाई फोन आयो, ‘१२ बजे गृहमा पत्रकार सम्मेलन छ ।’
.......
माघ ९ गते बैंकबाट थाई एयरमार्फत् नेपाल भित्रिएको साढे ३३ किलो सुन विमानस्थलबाट बाहिरिएर अनामनगर पुग्दा हराएसँगै सुरु भएको हत्या, आत्महत्या र यातनाको श्रृंखला सार्वजनिक भएसँगै सुन तस्करीको जालो सार्वजनिक भयो । 

हराएको सुन खोज्ने क्रममा फागुन १८ मा सनम शाक्य मारिएपछि उनी केस मिलाउन लागे तर असफल भएपछि हराएका गोरे मोस्ट वान्टेडको सूचीमा रहे पनि पक्राउ परेका थिएनन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई भारतको सिक्किमतिर ट्र्याक नगरेको हैन । तर सुन

तस्करीको अनुसन्धानका लागि मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले ‘समितिको अनुमतिबिना केही नगर्नु’ भन्दै पत्र पठाएपछि ब्युरो पनि चुप बस्यो ।

यता तस्करीका नाइके, सहयोगीको आरोपमा पूर्व, बहालवाला प्रहरीदेखि नेता र विमानस्थलका कर्मचारीसमेत पक्राउ परे । समितिले सार्वजनिक गरेको तस्करी भएर नेपाल भित्रिएको सुनको परिणामले यो खेलमा गोरे मात्र मास्टर माइन्ड भएकोमा शंका बढाएको थियो । यो शंकासँगै गोरे ज्युँदै त समातिन्छन् भन्ने आशंका पनि बढाएको थियो ।

जेठ ८ मा समितिले पठाएको पत्रकार सम्मेलनको सूचनाले गोरे ज्युँदै रहेको पुष्टि भयो । यससँगै पत्रकार श्रेष्ठको स्टाटसले उनको इन्काउन्टर योजना बनेको तर असफल भएको संकेतसमेत ग¥यो । 
...............
गृह मन्त्रालयको उत्तरतिरको दैवी प्रकोपबाट बच्न बनाएको एक तले भवनको कोठा सञ्चारकर्मीले भरिएको थियो । त्यहीँ आयो, सरकारी छानबिन समितिका प्रमुख ईश्वरराज पौडेलसहितको टोली । 

केही समयमा कलेजी रंगको क्याप र मुखमा कालो कपडाले छोपिएको व्यक्ति पत्रकार सम्मेलनमा ल्याइयो । मुख छोप्ने कानुनी प्रावधान रहे पनि क्याप लगाउने थिएन । सञ्चारकर्मीले क्याप खोल्न आग्रह गर्दा ‘मा.......’ भन्दै गाली पो गरे गोरेले ! फोटो खिच्ने क्रम चलिरहँदा उनले खाउँलाझैँ गरी सञ्चारकर्मीलाई हेरिरहेका थिए । 

गोरे पक्राउको सूचना बाहिरिएलगत्तै नेपालबाट भागेर भारत पुगेकालाई नेपाल ल्याउन सुरक्षा निकायले अपनाउने सुटुक्क ल्याउने सूत्र अनुसारनै उनलाई भारतमा नियन्त्रणमा लिएर काठमाडौं ल्याएको हुनसक्ने सम्भावना बलियो थियो । 

तर समितिका अधिकारीले उनी पशुपतिनाथ छेउको गौरीघाटको घरमा फेला परेको अपत्यारिलो दाबी ग¥यो । यत्रो घटनामा भागिरहेका गोरे लुसुक्क आएर गौरीघाटमै प्रहरीको प्रतीक्षामा बसेको पत्याउने कसले ?
गोरे पक्राउ परेको सूचना बाहिरिएसँगै सामाजिक सञ्जालमार्फत् गोरेसम्बन्धी जेठ २ मिति रहेको एक पत्र सार्वजनिक भयो ।

नेपाल मानवअधिकार संगठनलाई सम्बोधन गरिएको पत्र गोरेको थियो जसमा उनले ‘ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयसमेत राख्न वञ्चित गराई सबै दोष मेरो थाप्लामा हाल्ने देखिएको’ उल्लेख गर्दै उनले आफूसँग भएको प्रमाण र राय अदालत र छानबिन समितिमा राख्न इच्छुक रहेको उल्लेख गरेका छन् ।

उनले ज्यान खतरामा रहेको उल्लेख गरे पनि कसबाट भने खुलाएका छैनन् । संगठनका महासचिव केपी सुवेदीमार्फत् आएको पत्रमा उनले अदालतसम्म सुरक्षित रुपमा पुग्ने मिति र समय मिलाउन आग्रह गरेका थिए ।

सोमबार भएको गोरेको पक्राउ त्यही निवेदन अनुसारको प्रक्रिया हो या छानविन समितिले साँच्चिकै ट्रिक लगाएर उनलाई सीमापारिबाट ल्याएको हो, त्यो भने खुलिसकेको छैन । घटनाक्रमले भने गोरे पक्राउ परेको भन्दा आत्मसर्मपण गरेको तथ्य हावी देखिन्छ ।

 

पक्राउ पर्नुअगाडि गोरेको बयान

‘मलाई दबाब छ’

म चूडामणि उप्रेती । म जन्मेको इटहरामा । म काठमाडौंमा बस्छु । अढाई महिनादेखि सनम हत्याकाण्ड, ३३ किलो सुन काण्डको चर्चा भइराखेको छ । यसमा सबै गोरे...गोरे भनेर अहिलेसम्म न्युज आइरहेको छ । त्यसमा म बिल्कुलै निर्दोष छु । 

जुन बेला मेरो सामान चोरी भयो, म कलकत्तामा थिए । मलाई थाहा थिएन । म पुगेको दिन सामान हरायो भन्ने सुनेँ । सुनेपछि म आफ्नो काम सिध्याएर फर्किएँ । फर्किएर खोजी कार्य भयो । एयरपोर्टको स्टाफलाई बोलाइयो । सोधियो, खुवाइयो । हिँडियो । यातना थिएन । सोधीखोजी भयो । त्यसका प्रमाणहरु छन्, मसित पनि । 

खोज्दा–जाँदा सायद म भएको भए सनम मर्दैनथ्यो होला । म त्यस्तो हुन दिन्नथेँ । कुटपिट झैँझगडा खानपिन भइरहन्थ्यो । ठाउँठाउँमा हामी जान्थ्यौं । एक अर्कामा (लामो सुस्केरा) सोधीखोजी हुन्थ्यो ।
सनम मर्ने बेलामा उसलाई गाडीमा राखेर उनीहरुलाई घर परिवार अस्पतालमा छोड्ने बेला थियो । त्यो हुन पाएन । अन्तिममा म त्यहाँ थिइनँ । अन्तिममा सनम मर्यो भन्ने खबर आयो ।

खबर आइसकेपछि हामी आत्तियौं । आत्तिसकेपछि अब सनमको घरपरिवारमा लास बुझाउनुपर्ने थियो । मेरो त्यहाँ चिनजान कोही पनि थिएन । पुलिस प्रशासन कोही पनि थिएन । मैले काठमाडौंमा चिनेको एक जना मामा भन्ने बालकृष्ण सञ्जेललाई मैले बोलाएँ । बोलाएपछि अब त्यहाँ लेनदेनको कुरा त्यस्तो केही भएको छैन । म निर्दोष छु यसमा । मलाई कसैलाई मारेर खान आउँदैन । मेरो ब्याकग्राउन्ड राम्रै छ क्रिमिनल केस कहीँ पनि छैन ।

म इन्डियन आर्मी हुँ । म पुलिस स्कुलै पढेको मान्छे हो । मलाई आफ्नो साथीलाई मार्न आउँदैन । लास्टमा तीन जना थिए त्यहाँ । मल्ल(टेकराज मल्ल), मने र सनम । अब सुनको राज त्यहीँ हुनुपर्छ ।
सनमलाई मारिएको छ । सनम मरेर गयो । त्यो यातना मैले मात्र दिएको हैन । कुटपिट झैँझगडा भइरहन्थ्यो । खोज्ने काम गरेको हो मैले । कसैलाई मार्ने इन्टेसन थिएन । 

म निर्दोष छु । गोरे गोरे भनेर मेरो चर्चा धेरै भयो । मलाई आउन मन छ । नेपालमा बस्न मन छ । मेरो परिवार छ । मलाई डर भयो । सनम म¥यो । दोष मलाई लगाइयो । गृह मन्त्रालय, सम्पूर्ण नेपाली जनता गोरे भन्ने व्यक्ति मैँ हुँ । सनम हत्यमा म छैन । सनम मारियो । दोषजति मलाई खनिएको छ ।

मलाई दबाब थियो । म त खोजी नगरौं भन्नेमा थिएँ । पछि एक महिनापछि सनमको गल्ती भेटाइयो । त्यसपछि ठाउँठाउँमा गयौं । खायौं, हिँड्यौं । घरी उनीहरुले हान्थे । घरी अरु केटाहरुले हान्थे । हामीहरुबीच यस्तो भइरहन्थ्यो । 

त्यो सुन मेरो हैन, अर्कैको हो । मने र मल्लसँग राज हुनुपर्छ । म प्रहरीलाई बोलाएर सनमको लास बुझाउने मान्छे हो । धरान पुगेपछि डर भयो । हल्ला हुन्छ भनेर । मलाई पनि मेरो ज्यानको माया छ । म भागेँ । 
धेरै भयो यो गोरे । ३३ किलो काण्डमा सबै दोष मलाई लगाइएको छ । यसमा म छैन । यसमा छिरिङ बुर्जुङ भन्ने मान्छे छ । उनीहरुको दबाब थियो । अनि एउटा एमके(मोहनकुमार अग्रवाल) भन्ने मान्छे छ र बाँकी इन्डियन मान्छेहरु छन् ।

जुन सामान आयो निकाल्ने मान्छे पनि मर्छ, मलाई नै दोष लगाउँछन् । सनम मर्छ मलाई नै लाउँछन् । अथवा त्यो एक्सिडेन्टल डेथ हो । म घर आउन चाहन्छु, म नेपाल आउन चाहन्छु । म सरेन्डर हुन चाहन्छु । मसँग पनि छन्, सबुत प्रमाणहरु । मैले मारेको भन्छन् भने झुन्ड्याएर मार्नु, अदालतमा मार्नु । 

म सरेन्डर गर्न चाहन्छु । मेरो जीवनको रक्षा होस् । ३३ काण्डको दोषी म हैन । म निर्दोष छु । मलाई दबाब छ । म आफ्नै ज्यानको सुरक्षा खोजिरहेको छु । म मेरो ज्यानको सुरक्षा हुने ठाउँमा सरेन्डर गर्न चाहन्छु ।

(केन्द्रविन्दुडटकमले उप्रेती सार्वजनिक भएको मंगलबार बेलुका सार्वजनिक गरेको उनको भिडियोकोे सम्पादित बयान । भिडियो उनी काठमाडौंमा सार्वजनिक गर्नुभन्दा अगाडि रेकर्ड गरिएको हो ।)
 

Leave A Comment