नक्कली नोटको सक्कली कथा

बुधबार, १६ जेठ २०७५, ०५ : ५६ शुक्रवार
नक्कली नोटको सक्कली कथा

फिल्मका लागि छापेको नक्कली नोटका कारण फिल्म निर्माता माधव वाग्ले प्रहरी हिरासतमा छन् । नेपाली फिल्ममा यस अगाडि पनि यस्तै गरिने भए पनि फिल्मका लागि छापिएको नोट बाहिरिदा वाग्ले जाली नोट छापेको अभियोगमा प्रहरी हिरासतमा पुगे । अन्य देशमा यस्तो घटनामा प्रहरीको भुमिका के हुन्छ ? हलिउडको घटना प्रस्तुत गरेका छौं ।

सन् २००० को अन्त्यताका ‘रस आवर २’का निर्माता र फिल्मकर्मीहरु अमेरिकाको जुवाघरका रुपमा परिचित लस भेगासस्थित एउटा थोत्रो घरमा पुगेका थिए । घरलाई फिल्म निर्देशकले एउटा गज्जबको क्यासिनोमा परिणत गरेका थिए । 

पूरै जुवाघरलाई बमले उडाउने र त्यहाँ अमेरिकी डलरका नोट धुजाधुजा पारी उडाउने दृश्य थियो । सेक्रेट सर्भिस एजेन्ट र प्रहरी मिली नक्कली मुद्रा बनाउने समूहको सय मिलियन डलर अर्थात् एक अर्ब डलर पक्राउ गरी त्यसलाई ध्वस्त पार्ने फिल्मको कथा थियो । फिल्ममा यो दृश्य सैयौँ र हजारौँ नोटलाई हावामा उडाउने तयारी भइरहेको थियो । 

कैयौँ दिनको दृश्याङ्कनपछि त्यो दृश्य सफलतापूर्वक खिचियो । त्यसपछि अचानक नहुनुपर्ने घटना घटिदियो । फिल्माङ्कनका क्रममा उडेका केही रकम फिल्मको सुटिङ हेर्नेले रमाइलोका लागि उठाए । कतिपय नोट फिल्ममा एक्स्ट्रा अभिनय गर्न आउनेले लिए । 

उठाइएका केही नोट बजारमा गए र केही वस्तु खरिदबिक्री गरिए । यसपछि नक्कली मुद्राको कारोबार भएको आशंकामा प्रहरीले छानबिन थाल्यो । छानबिन अघि बढ्दै जाँदा यो रकम उपलब्ध गराउने कम्पनी इन्डिपेन्डेन्ट स्टुडियो सर्भिसेज (आईएसएस) का अधिकारी पक्राउ परे । उनीहरुमाथि नक्कली मुद्राको कारोबार गरेको आरोप लगाइयो । १ अर्ब डलर नक्कली मुद्रा छापेको, त्यसको कारोबार गरेको आरोप उनीहरुमाथि थियो । आरोपसँगै उनीहरुसँग भएको एक अर्ब डलर नक्कली मुद्रा प्रहरीले नियन्त्रणमा लियो ।

आईएसएसले नक्कली मुद्रा ‘रस आवर २’ फिल्मलाई उपलब्ध गराएको पहिलोपटक थिएन । तर जसै प्रहरीले पक्राउ ग¥यो, उनीहरुमाथि अखबारले अनेक लाञ्छना लगाए । निर्माता समूहले चाहेजस्तो वस्तु उपलब्ध गराउने यस्तो ‘प्रोप’ कम्पनी अझै पनि दोधारमा हुन्छन्, निर्माताले साँच्चिकै जस्तो लाग्ने रकम माग गर्छन् । उपलब्ध गरायो, प्रहरीले पक्राउ गर्ने डर !

पछिल्लो समय हेर्ने हो भने हलिउडका अधिकांश क्राइम फिल्म र टेलिभिजन शृंखलामा नक्कली पैसाको प्रयोग हुने गरेको छ । सिगारको मोटो धुँवासँगै स्टिलको चिल्लो सुटकेसमा जसै अन्डरवल्र्डका डनले नोटका बिटा सुम्सुम्याउँछन्, दर्शकले पैसाको ‘पावर’ महसुस गर्छन् । भलै त्यो नोट बाहिर नचलोस् तर त्यही नोटका लागि पर्दाभित्रका हिरो र भिलेनले मारमुङ्ग्री गरिरहेका हुन्छन् । फिल्मकर्मीले यसलाई यति सशक्तसँग फिल्माङ्कन गरेका छन् कि नक्कली नोट भन्नेबित्तिकै हाम्रो दिमागमा यस्ता दृश्य सल्बलाउन थाल्छन् ।

सिनेमामा कहिलेदेखि नोट देखाउन थालियो भन्ने विषय सिनेमा इतिहासकारहरुले खोजी गरेका छन् । सिनेमाको पर्दामा नोटबारे अनुसन्धानात्मक पुस्तक ‘सो मि द मनी’मा फ्रेड रिड लेख्छन्, ‘जुन बेला सिनेमाको उत्पत्ति भयो, त्यो बेलादेखि नै पर्दामा पैसा देखिन थालेको हो । सन् १८७८ देखि १८९५ सम्म सिनेमाको आविष्कारको अवधि मानिन्छ । त्यो बेला पनि फिल्म निर्माताले नोट खिच्ने र ठूलो पर्दामा देखाउने गरेका थिए ।’

उनका अनुसार, फिल्मको उत्पत्तिदेखि नै पर्दामा नक्कली र वास्तविक नोट देखाइन्थे । सुरुवात भने वास्तविक नोटबाट नै भएको थियो । पछि मात्र नक्कली नोटको प्रयोग बढेर गयो । थोमस अल्बा एडिसनले बनाएको काइनेटोस्कोप फिल्म ‘कक फाइट’का लागि ठूलो पर्दामा नोट वास्तविक देखियोस् भनेर वास्तविकजस्तै देखिने नोटको टेन्डर आह्वान गरेका थिए । यसको केही वर्षपछि सन् १९०३ मा रिलिज भएको ‘द ग्रेट ट्रेन रोबरी’मा वास्तविक नोट नै देखाइएको थियो । 

सन् १९०० को दसकमा फिल्म निर्माण ह्वात्तै बढेपछि भने नक्कली नोट बनाउने धन्दा बढेर गयो । भन्नलाई फिल्मका लागि तयार पारिएको भनिए पनि त्यो बजारमा जान थालेपछि सरकारले यस्ता नोट छपाइमाथि कडाइ गर्न थाल्यो । कतिसम्म भने वास्तविक नोटलाई पनि पूरै आकारमा देखाउन अमेरिकी संघीय कानुनले प्रतिबन्ध लगाएको थियो । 

चाँडै नै हलिउडले एउटा बाटो फेला पा¥यो । सन् १९२० मा मेक्सिकोमा क्रान्ति भयो । मेक्सिको स्पेनको उपनिवेश थियो । मेक्सिकोवासीले स्पेनविरुद्ध आन्दोलन गरे । सन् १९१० बाट सुरु भएको यो क्रान्ति सशस्त्र हुँदै १० वर्षसम्म चलेको थियो । 

जसै १९२० मा मेक्सिको क्रान्ति पूरा भयो, त्यहाँको अर्थतन्त्र गडबडायो । त्यति मात्र होइन, पुरानो पैसा कौडीको भाउमा पुग्यो । यसपछि केही अमेरिकीहरुले ट्रकका ट्रक मेक्सिकोका नोटहरु ल्याए । कतिले रमाइलोका लागि ल्याएका थिए भने कतिले हलिउडमै फिल्माङ्कनका लागि आवश्यकता पूर्ति गर्न ल्याएका थिए । 

त्यसैले सन् १९२० पछि हलिउडका फिल्ममा तिनै वास्तविक तर काम नलाग्ने मेक्सिकोका नोटहरु उपयोग गर्न थालियो । यसको पनि एउटा प्रक्रिया हुन्थ्यो । हलिउडले टेन्डर आह्वान गथ्र्यो, ठेकेदारले माग पूरा गर्थे । मेक्सिकोका वास्तविक तर चल्तीबाट हराएका यस्ता नोट हलिउडले सन् १९६० सम्म प्रयोग ग¥यो ।
यसपछि हलिउडले वास्तविक लाग्ने अमेरिकी नोटको माग गर्न थाल्यो । यस्तो आवश्यकता महसुस हुन थालेपछि हलिउडलाई त्यस्ता सामग्री उपलब्ध गराउने ‘प्रोप डिलर’हरुले अमेरिकी नोट नै उपलब्ध गराउन थाले । यसपछि फिल्मी नोटमा नयाँ युग सुरु भयो । 

सन् १९७० देखि २००० सम्म दुई हजार किसिमका फिल्मी पैसा उत्पादन गरिए सिनेमाका लागि । जसले वास्तविकझैँ लाग्ने नोट उत्पादन ग¥यो, उसैलाई नोट बनाउने जिम्मा हलिउडले दिन थाल्यो । अति प्रतिस्पर्धाका कारण नोटका प्रकार डलर जस्तै हुन थाले ।

आधुनिक फिल्मी नोट
क्यालिफोर्नियाको सनल्यान्डस्थित इन्डिपेन्डेन्ट स्टुडियो सर्भिस त्यस्ता नक्कली नोट हलिउडलाई उपलब्ध गराउनेमध्येको एक हो । यसका प्रमुख कार्यकारी ग्रेग बिल्सन जुनियर थिए । यो कम्पनी उनका बुबाले ४० वर्षअघि स्थापना गरेका थिए । 

यो कम्पनीको अहिले सातवटा विभिन्न ठाउँमा यस्तै प्रोप शाखा खोलेका छन् । उनी हलिउडका फिल्म मात्र होइन, युरोपेली फिल्ममा पनि नक्कली नोट उपलब्ध गराउँछन् । गे्रगले युरोप र अमेरिका सबै प्रायः हिट फिल्म तथा टेलिभिजन सोमा नक्कली नोट उपलब्ध गराउनेमध्येमा पर्छन् । रस आवर २ फिल्मको जुन घटना भयो, त्यसले भने ग्रेग बिल्सनलाई अझैसम्म दुःख दिइरहेको छ ।

त्यो दिन सम्झँदै बिल्सन भन्छन्, ‘जासुसी संस्थाका केही मानिस आएर मेरो ढोका ढक्ढकाए । उनीहरुले मेरो अफिस सिज गरे, मलाई नक्कली मुद्रा अपचलन गरेको आरोपमा पक्राउ गरे । त्यति मात्र होइन, नक्कली २ अर्ब डलरमा आगो लगाइदिए । १० हजार डलरको एक मुठो बनाउनका लागि वास्तविक ८ डलर मूल्य पथ्र्यो । पूरै नोट जलाइदिँदा कम्पनी पूरै घाटामा गयो । त्यस बेलादेखि घाटामा गएको कम्पनी अहिलेसम्म उठ्न सकेको छैन । ‘अरु बेला केही हुन्थेन, त्यही बेला मलाई ठूलो दशा लाग्यो,’ उनले निराशापूर्ण स्वरमा सुनाए ।

त्यसो त यसअघि नै अमेरिकी सरकारले नक्कली नोट कारोबारमा कडा कानुन पारित गरेको छ । सन् १९९२ को ‘काउन्टरफिट डिटेक्सन एक्ट’ अनुसार नक्कली पैसा वास्तविकभन्दा ७५% कम वा १५०% ठूलो आकारमा बनाइएको हुनुपर्ने, नोटको एकातिर मात्र छापिएको हुनुपर्ने, सादा छापिएको हुनुपर्नेजस्ता नियम छन् । 

उनी भन्छन्, ‘हेर्दा नक्कली नै हो भन्ने खुट्याउन कुनै गाह्रो थिएन । वास्तविकभन्दा हाम्रो नोटमा २८ वटा कमजोरी राखेका थियौँ । नोटमा ‘कुकुरमा हामी विश्वास गर्छौं’ भन्ने शब्दावली प्रयोग गरिएको थियो । तर जासुसी संस्थाका कर्मचारीहरु कारबाही गर्न उद्दत थिए । किनभने उनीहरु नियमकानुनका कुरा देखाइरहेका थिए । उनीहरुका सबै नियम पालना गर्ने हो भने हामी यो बिजनेस गर्नै सक्तैनौँ । हामीले बच्चा बेलामा खेल्ने मोनोपोली गेमका नोट चलाए मात्र हो ।’

जासुसी संस्थाका कर्मचारीको भनाइ भने बेग्लै थियो । ‘सर हामीले के गर्ने हो र ? कानुनलाई त पछ्याउने हो । कानुनमा जे लेखिएको छ, त्यसैलाई हामीले पालना गराउने हो,’ लस एन्जल्सस्थित जासुसी कर्मचारी चक अर्टम्यानले प्रतिक्रिया दिए । उनले रस आवर २ घटनाको छानविन र त्यसपछिका प्रक्रियालाई नजिकबाट नियालेका थिए ।

‘उनीहरुले जस्तो नोट बनाएका थिए, सक्कलीजस्तै मिल्दोजुल्दो थियो,’ उनले थपे, ‘नोटमा के लेखिएको छ भनेर कसले पढ्छ ? मान्छेले त नोटको कलर हेर्ने हो नि !’

यस घटनामा बिल्सनले आफ्ना सबै नोट जलाउनु प¥यो । जति नक्कली नोट थिए, रकममा गन्ने हो भने खर्बको नोट थियो । त्यतिञ्जेल हलिउडमा नक्कली नोट उपलब्ध गराउने बिल्सनपछि अर्को एउटा मात्र कम्पनी सञ्चालनमा छ । 

त्यस्तै सन् २००० मा अर्को कम्पनी अर्ल हेज प्रेस पनि प्रहरीको फन्दामा प¥यो । एउटा हार्डकोर मेटल म्युजिक ब्यान्डको भिडियोको सुटिङका लागि यस कम्पनीले नक्कली नोट छापेर तयार पारेको थियो । म्युजिक भिडियोको सुटिङ सकिएपछि यसमा काम गर्ने केहीले नक्कली नोट भन्ने जान्दाजान्दै पनि बजारमा किनमेल गरे । 

पछि प्रहरीले उनीहरुलाई पक्राउ मात्र गरेन, अर्ल हेज प्रेसमाथि ताला नै लगाइदियो । यस घटनामा लाखौँ नक्कली नोट जासुसी संस्थाले कम्पनीबाट जफत गरी जलाइदिएको थियो । यसमा पनि नक्कली नोट बनाउने कम्पनीलाई ठूलो घाटा लागेको थियो ।

नक्कली फिल्मी नोटको बजारमा आफूलाई पुनःस्थापित गर्नका लागि बिल्सनले ठूलो सङ्घर्ष गर्नुप¥यो । उनले आफूले निकाल्ने नोटमा धेरै परिवर्तन गरे । हिजोआज उनले एकातिर मात्र छाप्ने गर्छन् । अर्कोतिर कुनै पनि चित्र हुँदैन । 

बिल्सनका तिनै नोटहरु पछिल्लो समय २४, सिएसआई, द डार्क नाइट, डेक्स्टर, द ह्याङओभरजस्ता फिल्म तथा टिभी शृंखलामा उपयोग भएका थिए । कुन वास्तविक हो र कुन होइन भन्ने खुट्याउने चिजलाई पहिला निकै कम गरिन्थ्यो भने अहिले पूरै छुट्टिने किसिमको नोट बनाउन थालिएको छ ।

‘बिजनेस चलाउने हो भने पुलिससित उल्झिने गल्ती गर्नु हुन्न,’ बिल्सन भन्छन्, ‘वास्तविकझैँ लाग्ने नोट बनाउनु भयो भने बुझ्नुस्, तपाईं डुब्नु भयो । त्यसैले तपाईं सचेत हुनैपर्छ ।’ त्यसैले पनि यस्ता लफडामा पर्नुअघि र घाटा बेहोर्नुअघि बिल्सनले १० लाख डलरबराबरको इन्सुरेन्स पनि गर्ने गरेका छन् । के थाहा, कुन बेला दशा लाग्ने हो ? 

एउटा उपाय
नक्कली पैसा प्रयोग गर्दा कानुनको फन्दामा पर्ने डर हो भने किन वास्तविक पैसा प्रयोग नगर्ने त ? यो पनि त्यत्ति राम्रो उपाय नहुने बिल्सनको भनाइ छ । उनी भन्छन्, ‘मानौँ तपाईंले एक लाख डलर पैसा खिच्नुपर्ने छ, तपाईं क्यासमा त्यत्रो रकम कसरी भेला पार्नुहुन्छ ? फेरि यत्रो रकमको जिम्मेवारी कसले लिने ? फेरि केही सीमित फिल्मका निर्माता र निर्देशक मात्र वास्तविक पैसा खिच्न चाहन्छन् । त्यो पनि विशेष कारण उपस्थित भए मात्र ।’

सन् १९७८ ताका ‘द ब्रिङ्क जब’ फिल्मका निर्माताले वास्तविक पैसाको एउटा थुप्रो जम्मा गरे । त्यसपछि उनीहरुले ‘एक्स्ट्रिम क्लोजअप’ खिचे । यो पैसा बैंकबाट उधारो लिइएको थियो । दृश्य खिचुञ्जेलसम्म बैंकले आफ्नो ठूलो संख्यामा कर्मचारी खटाएको थियो । पछि सुटिङ सकिएलगत्तै पैसा जम्मा गरियो । त्यत्रो रकम एक–एक नोट गनियो । त्यसपछि तत्काल बैंकलाई फिर्ता गरियो । यस किसिमको नोटलाई ‘समयावधि नोट’ भनिन्छ । जसमा फिल्म सुटिङ हुने समयावधिमा वास्तविक नोट दिइन्छ र तत्काल फिर्ता दिइन्छ । यस किसिमको चलन हलिउडमा त्यति धेरै छैन । झन्झटिलो छ । 

झन्झटिलोका कारण ग्रेग बिल्सनको व्यापार मौलाएको थियो । उनी भन्छन्, ‘मलाई नक्कली नोटको कारोबार गर्नु थियो भने त योभन्दा गतिलो नोट बनाउने कला मलाई थाहा छ । मलाई असल कर्ममा विश्वास छ, त्यसैले म त्यतातिर कहिल्यै गइनँ ।’
 

Leave A Comment