डान्सबार सञ्चालक भन्छन् ‘अहिले गुण्डा गुण्डाजस्तै लाग्दैनन्’

सोमबार, २१ जेठ २०७५, ०३ : ०९ भोला अधिकारी
डान्सबार सञ्चालक भन्छन् ‘अहिले गुण्डा गुण्डाजस्तै लाग्दैनन्’

डान्सबार सञ्चालक जीवन बुढाथोकी 
घर कता हो ?
 सल्यान । काठमाडौं आएको थुप्रै भयो । 

काठमाडौं आएदेखि नै डान्सबारमा काम गर्न शुरु गरेको हो ?
आएदेखि नै हो ।

डान्सबार खोलेको कति भयो ? 
डान्सबार खोलेको लगभग २ वर्ष भयो । नयाँ नै हो भन्नु पर्यो । योभन्दा अगाडि काकाको डान्सबार थियो । त्यहाँ ७, ८ वर्ष काम गरेँ । काकाको डान्सबारमा काम गर्दागर्दै मलाईं पनि डान्सबारमै रस पस्यो । अनि आफेै‌ं डान्सबार खोलेँ ।

डान्सबारमा रस बस्नुको कारण ?
सानै उमेरदेखि डान्सबारमै काम गरियो । जुन काममा आफूलाई अनुभव छ त्यही गर्नु प¥यो नि हैन । 

डान्सबारमा काम के हुन्थ्यो ?
एकाउन्टमा बस्थेँ । जे काम आउँथ्यो । त्यही गर्थेँ । 

डान्सबार चलाउन कत्तिको गाह्रो छ ?
गाह्रो छ । देख्दा पैसा लुट्ने थलो हो भन्छन् । हामीले मनोरञ्जन दिएर पैसा लिने हो । कति तिरको टेन्सन हुन्छ । कहिले नाच्ने आउँदैनन् । फकाएर बोलाउनु पर्ने हुन्छ । कहिले को आउँदैन, कहिले को । ७०, ८० हजार भाडा बुझाउनु पर्छ ।  लफडा पनि उत्तिकै पर्छ । 

कस्तो लफडा ? 
झगडा । कहिले ट्यापे आउँछन् । कहिले केटीको निहुँमा झगडा पर्छ । डान्सबार, दोहोरी साँझ भनेकै मादक पदार्थ सेवन गर्ने ठाउँ हो । रमाइलो गर्ने ठाउँ हो । खाइसके पछि कोही निहुँ खोज्छन् । कोही भने खाउन्जेल आँखा देख्दैनन्, खाइसकेपछि हिँड्ने बेलामा पैसा धेरे भो भनेर लफडा गर्न थाल्छन् । अब केटीसँगै बसेर खाए पनि उसैले पैसा तिर्नुपर्ने नियम हुन्छ । मैले यत्रो कहाँ खाएँ भनेर निहुँ खोज्छन् ।

केटीको निहुँमा फाइट परेको छ कि छैन ?
अहिले प्रहरी प्रशासन अलिक सक्रिय भएर होला कम छ । 
तर अर्को डान्सबारमा काम गर्दा  धेरै ठूलो झगडा परेको थियो । त्यहाँ काम गर्दा मलाई मार्न भनेर आएका थिए । कसो कसो भाग्न सफल भएँ । धेरै समयसम्म माक्स लगाएर हिँडेको छु । 

भएको के हो ?
केही केटाहरु आएर खाए । उनीहरुले खाएको ठाउँमा केटी पठाइदे भने । पठाइ पनि दिएँ । उनीहरुले केटीलाई पनि टन्न खुवाए । पैसा तिर्ने बेलामा धेरै बिल उठ्यो भनेर मसँग निहुँ खोजेका थिए । म त्यो बेला एकाउन्टमा बसेर काम गर्थेँ । यसले पैसाको बिल धेरै निकाल्यो भनेर मलाई मार्न ठिक परेका थिए । म कति दिनसम्म भागी–भागी हिँड्नु पर्यो । कति दिन त मैले कामै गर्न पाइनँ । 
डान्सबार चलाउन त जोखिम पनि मोल्नु पर्दो रहेछ हैन ? जोखिम भनौ कि के भनौं । तर, अहिले यस्तो छैन । 

व्यापार कसरी चल्छ ?
जसले गेष्टलाई राम्रो मनोरञ्जन दिन सक्यो उसैकोमा जाने त हुन् । पहिला थोरै डान्सबारहरु थिए । आम्दानी राम्रै हुन्थ्यो । अहिले एउटाले गरेको काम अर्कोले पनि सुरुवात गरेका छन् । अहिले गेष्ट आउँछन् भरिभराउ हुन्छ भन्ने ह‌ुदैन । 

बढी बिल लेखाउने गर्छन् रे नि त हैन ? 
सबै डान्सबारका मान्छेहरु राम्रा छन् भन्ने हु‌‌दैन । आज मैले महँगो लिएँ भने भोलिदेखि आउँदैनन् । एक दुई सय बढी चार्ज त लिनु परिहाल्यो । बाहिर जतिमा बेचेको छ त्यति मै बेचेँ भने कसरी डान्सबार चलाउनु । स्टाफ पाल्नै पर्यो, यसको भाडा तिर्नै पर्यो ।

कुनै गेष्टले डान्सर केटी्लाई सँगै बसेर खान आग्रह गर्छन् । त्यसको पनि चार्ज जोड्नुहुन्छ हैन ? 
यसरी बसेको चार्ज लाग्दैन । तर केटीलाई पनि खुवाएको छ भने उसकोमा बिल त चढिहाल्छ । 

सञ्चालकले डान्सबारमा नाच्ने कलाकारलाई पारिश्रमिक कम दिन्छन् हैन ?
नाच्ने होस् वा अन्य, न्यूनतम १० हजारदेखि १४ हजारसम्म दिएको छु । ४, ५ घण्टा नचाएर १०, देखि १४ हजारसम्म दिँदा कसरी शोषण गरेको छु र ? उनीहरुलाई मैले सुविधा दिएकै छु ।  राति घर जाँदा गेष्टको साथ पठाउँदिन । आफ्नै अफिसको गाडी छ । त्यही गाडीमा पुर्याउन म आफैँ जाने गरेको छु । अहिलेको जमानामा शोषण भन्ने हुँदैन । अहिले धेरैले सिसि क्यामेरा जडान गरेका छन् । हामीले पनि जडान गरेका छाै‌। शोषण गर्नेबित्तिकै एक ठाउँमा काम गर्न मन लागेन भने अर्को डान्सबारमा जान्छन् । 

डान्सबारका साहुले डान्सर केटीलाई यौन शोषण गर्छन रे नि त ? 
यसरी शोषण गर्ने हो भने त डान्सबार खाली हुन्छ । यो सब हावा कुरा हो । यौन शोषण गर्ने हो भने कसरी चल्छ डान्सबार । यतिका डान्सबार छन्, डान्सबार अहिले किराना पसल जस्तो भइसक्यो । पहिलाको जस्तो दबाबमा कोही बस्दैन । 

प्रहरी प्रशासनले डान्सबारलाई कत्तिको दुःख दिन्छ ? 
नियमभन्दा बाहिर गयो भने त कराइहाल्छन् नि । सजाय भोग्नु परिहाल्यो । मैले राति १२ बजेभन्दा उता १ मिनेट पनि खोलेको छैन । समयमै बन्द गरेपछि प्रहरीले दुःख दिने कुरा भएन ।

टोले गुण्डाहरु आएर हप्ता उठाउने गर्छन् कि गर्दैनन् ?
पहिला थियो । अहिले गुण्डा गुण्डाजस्तो लाग्दैनन् । 

गेष्टसँगै बसेर मापसे गरेर डान्सरहरु नै आपसमा भिड्छन् है ?
सानो–तिनो झगडा त परिहाल्छ नि । मिलाएर लैजाने जिम्मा हामीले लिन सक्नु पर्छ । कलाकारहरुलाई सम्झाएर बुझाएर नियममा बाँधेर राख्नुपर्ने हुन्छ । झगडा गरे भने उसको १ दिनको तलब काटिदिने हो कि के गरेर हुन्छ नियममा बाँध्ने काम गर्नुपर्ने हुन्छ । 

     

Leave A Comment