प्रहरीको जागिर नपाएपछि दोहोरीमा वेटर

बुधबार, २६ चैत २०७६, ०२ : २७ शुक्रवार
प्रहरीको जागिर नपाएपछि दोहोरीमा वेटर

आइतबार बेलुका साढे सात बजेतिर दरबारमार्गमा भेटिएका लोक गायक अर्जुन घिमिरे नाइट लाइफमा रमाउने कलाकार हुन्। उनै घिमिरेसँग भोला अधिकारीले गरेको नाइट लाइफ कुराकानी:

तपाईं नाइट दोहोरी डिस्को त खुब हिँड्नु हुन्छ है ?
दिनैपिच्छे त हिँड्दिनँ। साथीभाइहरुले जाऊँ भन्दा नाइँ भने भन्न सक्दिनँ। किनभने म नाइट कामबाटैै आएको हुनाले यसको माया त लागिहाल्छ नि।

नाइटमा काम गर्छु भन्नुभयो ? कहिले र कहाँबाट सुरु गर्नु भयो ?
सरकारी जागिर खाने सिलसिलामा काठमाडौं आएको थिएँ। त्यो बेला सशस्त्र प्रहरीमा भर्ना खुलेको थियो। यो भनेको आजभन्दा पन्ध्र वर्ष अगाडि हो। जागिर नै खाने भनेर आएको थिएँ। त्यसका लागि तालिम गर्न भरतपुर चितवन लगेको थियो। सबै कुरामा फिट भए पनि केही कुरा मिलेन र म सेलेक्ट भइनँ अनि काठमाडौं आएँ। काठमाडौं आएपछि चाबहिलमा एउटा भेटघाट दोहोरी साँझ थियो त्यहीँ काम गर्न थालेँ।

के काम गर्नु भयो ?
त्यहाँ मैले वेटरको काम गरेँ। मलाई गाउने रहर त थियो तर पाइनँ। तीन महिना जति काम गर्दा पनि मैले तलब पाइनँ अनि मैले काम  गर्न छोडेँ। कामकै सिलसिलामा पुरानो बानेश्वरमा रहेको कस्तुरी दोहोरीसाँझमा गएँ। त्यस दोहोरीसाँझमा तीन चार महिना जति काम गरेँ अनि त्यहाँ पनि छोडेँ। 

वेटरको काम गर्नेलाई हेला गर्थे?
वेटर काम गर्नेसँग कोही पनि राम्रो तरिकाले बोल्दैनथे। ओए त्यो गर, यसो गर उसो गर भनेर हेपेको हेपै गर्थे। मलाई काम मात्र लगाइयो तलब दिने कुरै भएन। वेटर काम पनि तल्लो स्तरको पेसा जस्तो लाग्यो। रातको बाह्र एक बजेसम्म काम गरेर रुम फर्कनु पथ्र्यो। म हिँडेरै सुन्धारामा भएको कोठामा आइपुग्थेँ।

नाइटमा झगडा त पथ्र्यो भन्नु हुन्थ्यो, खासमा के–के हुन्थ्यो नि ?
झगडा त सामान्य नै हो। बिर्सन नसक्ने भनेको एक हुल गुण्डा दोहोरीसाँझमा आए तर गेष्ट गेष्ट हाना हान गर्न थाले। म त डरले बाहिर निस्किहालेँ। उनीहरुबीच हेलमेट हानाहान गर्न थाले। अन्तिममा के भयो मलाई थाहा भएन।

स्टेजमा गीत गाउने अवसर पाइएन ?
स्टेजमा नयाँलाई दिनै मान्दैनथे। त्यसपछि म शान्तिनगरमा रहेको श्रीनगर दोहोरीसाँझमा सरेँ। दुईवटा दोहोरीसाँझमा पैसा नपाएको झोँक मसँग छँदै छ। हेप्नेको त कुरै नगरौँ। गाउन नपाएपछि श्रीनगर दोहोरीसाँझमा पुगेँ। त्यहाँ कहिलेकाहीँ साहुले स्टेजमा चढ्न भन्थे। अरु ठाउँको भन्दा अलि मज्जाका साहु थिए। पैसा पनि कहिलेकाहीँ हजार पाँच सय दिन्थे। तर, प्रगति कहिल्यै गर्न सकिएन। पछिपछि आफैँले गीत निकाल्न सुरु गरेँ। मैले दोहोरीसाँझमा काम गर्न छोडेँ तर रमाइलोका लागि, साथीहरुसँग भेटघाटका लागि कहिलेकाहीँ भने जान्छु। अहिले दबारमार्ग रोधिघर, क्वीन र कहिलेकाहीँ चाबहिलको सम्राट दोहोरीसाँझ गइरहन्छु।

डान्सबार पनि त गइयो होला ?
डान्सबार त पहिलापहिला गइन्थ्यो। आफ्ना साथी सर्कल नै त्यस्तै थिए। हामी दुई चारजना कहिले ठमेल गएर रमाइलो गरिन्थ्यो। केटाहरु दरबारमार्गमा मनपरि बोल्थे। सबैजना सुकेट बुकेट भएर हिँडेको बेला पैसावाल ठानेर केटीहरु नजिक पर्न खोज्थे। डिस्को चाहिँ गइएन। जान रहर त थियो। धेरै जसो दोहोरी साँझ र गजलबार नै म जाँन्थेँ। म धेरै जसो जाने भनेको दरबामार्गमा नै हो। उदय सोताङको र निशान भट्टराईको गजलबारमा म प्राय पुगेकै हुन्थेँ।

Leave A Comment