‘दीपेन्द्रले गरेको हो भन्ने गाइँगुइँ हल्ला हुन थालिसकेको थियो । त्यसो हो भने टक्सिकको प्रभावमा गरेको हो कि हैन भनेर पत्ता लगाउन जरुरी हुन्छ । त्यो पत्ता लगाउन ब्लड टेस्टबाहेक अरू उपाय हुँदैन । यस्तो सामाजिक र राजनीतिक परिवेशको बेलामा यो बिरामीको ड्रग टेस्ट गर्नु प¥यो, ब्लड चाहियो भनेर माग्दा दिने सम्भावना भएन । मैले त्यहाँको टेक्निसियनलाई फोन गरेँ– उहाँलाई फेरि ब्लड ट्रान्सफ्युजनको आवश्यकता पर्न सक्छ, अरू–अरू पनि चाहिन सक्छ, त्यस कारण अहिले उहाँको २० एमएल ब्लड निकालेर सेन्टिफ्युज गरेर सेरम चाहिँ फ्रिज गरिदिनुस् है भनेँ । किन, कसो भनिन् । ब्लड बैंकको सर्भिस आर्मी अस्पतालमा थियो । आर्मीका मान्छे अनुशासित हुन्छन्, गरिहाले । अहिले पनि गएर कसैले खोज्यो भने सेरम प्रिजमड अवस्थामा हुनुपर्छ, आर्मी अस्पतालको स्टोरमा । धेरै जनालाई थाहा पनि छैन ।’
२०५८ जेठ १९ मा नारायणहिटीमा भएको नरसंहारको घटनापछि तत्कालीन युवराज दीपेन्द्र शाहको उपचारमा संलग्न चिकित्सक उपेन्द्र देवकोटाले घटनाको १७ वर्षपछि देशसञ्चारडटकममार्फत् दीपेन्द्रको रगतको नमुना अझै सुरक्षित रहेको खुलासा गरे ।
कालो पदार्थ पुष्टि गर्ने मौका
घटना घटेको १७ वर्ष टेके पनि दरबार हत्याकाण्डको कारक र कारणको अन्योल अझै चिरिएको छैन । विवाहको विवाद र दीपेन्द्रको नशाको प्रभावले हत्याकाण्ड भएको दाबी गरिँदै आए पनि कारक र कारण अझै विवादरहित छैन ।
कारक र कारण विवादमै रहनुको मुख्य पाटो अविश्वसनीय अनुसन्धान र पत्यारिलो प्रमाणको अभाव नै हो । नशाले चुर भएर बल्लबल्ल उठाएर कोठामा पुर्एएको व्यक्ति केही समयमै ‘एम १६’ लगायतका हतियार बोकेर रेम्बो शैलीमा कोठामा प्रवेश गरेर गोली चलाए भन्ने पाटो नै अविश्वसनीय तथ्यको नमुना हो ।
घटनाको छानबिनका लागि बनेको छानबिन समितिले दिएको प्रतिवेदन तथ्य, प्रमाण र निष्कर्षभन्दा फगत विवरणले मात्र भरिएको छ ।प्रतिवेदनले आैल्याउने मात्र काम गर्याे प्रस्ट्याउने काम गर्न सकेन ।
समितिले घटनाको कारक दीपेन्द्र भन्यो, तर पुष्टिका आधारमा पेस गर्न सकेन । आम नागरिकले घटनाको कारक वीरेन्द्रको वंशनास हुँदा गद्दीको लाभ जाने ज्ञानेन्द्र शाहलाई माने । पहिलो दाबी विवरणको आधारमा आएको थियो । दोस्रोको आधार त्यत्रो ठूलो घटना हुँदा ज्ञानेन्द्रको परिवारका सदस्य जीवितै रहनु उनको नकारात्मक छवि थियो । तर यी दुवैको पुष्टिको आधार देखिएन । बाँचेकाहरुको बयानले दीपेन्द्रतिर औंला तेर्स्याउने वातावरण त बनायो तर निश्चिन्त बनाउन सकेन ।
राजनीतिक परिवर्तनसँगै राजतन्त्र इतिहासको पानामा समेटियो । नारायणहिटी दरबार संग्रहालयमा परिवर्तन भयो । जनताका छोरा–छोरी राष्ट्र प्रमुख बने । नेताहरुले आफूअनुकूल दरबार हत्याकाण्डको समीक्षा गरिरहे । पुष्पकमल दाहालदेखि बाबुराम भट्टराईसम्मले दरबार हत्याकाण्डबारे फेरि छानबिन गर्ने दाबी गरिरहे तर उनीहरुको दाबी अहिलेसम्म गफमै समेटिएको छ ।
यदि सरकार दरबार हत्याकाण्डलाई रहस्यको बाकसबाट बाहिर निकाल्न तयार हुने हो भने डा. देवकोटाले सार्वजनिक गरेको प्रमाण खोजेर पुनः अनुसन्धान सुरु गर्न सक्छ ।
दरबार हत्याकाण्डका कारणमध्ये एक देवयानी राणासँग दीपेन्द्रको विवाहका लागि राज परिवार राजी नहुनु अनि दोस्रो दीपेन्द्र कालो पदार्थको नशाको सुरमा रहनुलाई आैल्याइएको छ ।
दीपेन्द्रले गाँजा र कालो पदार्थ मिसाएको चुरोट खाएको छानबिन समितिको प्रतिवेदनमा आंैल्याइएको छ । यसका लागि दीपेन्द्रको सहयोगी शाही अर्दली रामकृष्ण केसीको बयानलाई आधार बनाइएको छ ।
प्रतिवेदनमा आयोगका अधिकारी र अर्दलीबीचको सवाल जवाफ यस्तो छ :
चुरोट बैठकमा पनि देखिन्छ । किन चुरोट लानुपर्याे ?
त्यसमा माल भएको चुरोट ।
माल भनेको के हो ?
गाँजा । गाँजा भरेको चुरोट ल्याऊ भन्नुभएको रहेछ । अनि म बिलियर्ड हलको त्यो मेन ढोकामा पुगेपछि पारश सरकारलाई टक्र्याएँ । भित्र छिरिनँ ।
कतिवटा लगिदिनुभयो ?
५–६ वटा ।
के–के हाल्ने गथ्र्याैं त्यसमा ?
गाँजा र सुर्ती ।
५–६ वटा पारश सरकारलाई बुझाएको ?
पारश सरकार हाँस्दै सवारी भयो । अनि म हातमा लिएर गएको थिएँ । मैले दिएँ ।
त्यो चुरोटमा गाँजा मात्र भरिएको थियो ?
त्यसमा गाँजा र अर्को कालो के हुन्थ्यो त्यो ल्याउँथे, त्यो मिसाएर भरिदिनुपथ्र्यो ।
जानकारका अनुसार यदि तापक्रम मिलाएर फ्रिजमा दीपेन्द्रको रगतको नमुना राखिएको छ भने त्यसको परीक्षण गरी घटना भएको दिन दीपेन्द्रले गाँजा सेवन गरेको हो या हैन पुष्टि गर्न सकिन्छ । देवकोटाले आैल्याएको रगतको परीक्षणको आधारमा दाबी गरिएझै हत्याका दुई कारणमध्ये एक कारणको पुष्टि हुनसक्छ ।
यसका लागि सरकारले पुनः छानबिन सुरु गरेर नेपाली सेनामार्फत् सैनिक अस्पतालमा रहेको भनिएको दीपेन्द्रको रगतको नमुना छ या छैन पुष्टि गर्न सक्छ ।
छानबिनका आधार
दरबार हत्याकाण्डको तथ्य खुलाउन अन्य उपाय पनि नभएको हैन । घटनामा मारिएकाहरुको पोस्टमार्टम गरिएको भए थप सहज हुन्थ्यो तर कसैको पनि पोस्टमार्टम भएन । पोस्टमार्टम नभए पनि उपचारको क्रममा बनाइएको मेडिकल रिपोर्टको आधारमा समेत राजा वीरेन्द्र लगायतको मृत्युको कारण खुलाउन सकिन्छ ।
शाही सर्जन खगेन्द्रबहादुर श्रेष्ठले समितिलाई दिएको बयानमा पोस्टमार्टम नभए पनि मेडिकल रिपोर्टको आधारमा मृत्युको कारण निश्चित गर्न सकिने उल्लेख छ । उनका अनुसार सबैको मेडिकल रिपोर्ट सुरक्षित नै राखिएको थियो ।
प्रतिवेदनमा उल्लेख गरिएको विवरणका आधारमा कति दूरीबाट गोली चलेको हो भन्ने खुट्याउन सकिन्छ । दीपेन्द्र एक्लैले एकभन्दा धेरै प्रकृतिका बन्दुक र गोली प्रयोग गरेको र अन्त्यमा दीपेन्द्रले आफँैमाथि गोली चलाएको जस्ता विवरण छन् । यी सबैको पुष्टिका लागि समेत पुनः अनुसन्धान आवश्यक छ ।
छानबिनको क्रममा देवयानी राणा नेपालमा थिइनन् ।
उपचारको क्रममा दिल्लीमा रहेकी उनलाई दिल्लीमा रहेको नेपाली राजदूतमार्फत् समितिले पठाएको प्रश्नको उत्तर आएको थियो । हिजोको दिनको तुलनामा अहिले देवयानीसँग समेत सहज रूपमा बयान लिन सकिन्छ तर यसका लागि छानबिनको फाइल खुल्न आवश्यक छ ।
घटना भएको स्थान त्रिभुवन सदन भत्काइए पनि छानबिनको समयमा समितिले घटनास्थलको तस्बिर र दृश्यसमेत कैद गरेको प्रतिवेदनमा उल्लेख गरिएको विवरणबाट प्रस्ट हुन्छ ।
प्रतिवेदनमा यो खिच, यता खिच भन्नेजस्ता प्रस्ट विवरण उल्लेख गरिएको छ । ज्ञानेन्द्रले भत्काएको त्रिभुवन सदनको संरचना पुनर्निर्माण भइसकेको अवस्थामा तस्बिर र भिजुअलको आधारमा पुनः घटनास्थलको डमी बनाएरसमेत अनुसन्धान गर्न सकिन्छ ।
त्यसमा पनि भौतिक वस्तुको विधिविज्ञान परीक्षण, उपचार गराउँदाको अवस्थाको घाउचोटको स्थिति र मृत्युको कारण लगायतका दस्तावेज सुरक्षित नै रहेको अवस्थामा सरकारले फाइल खोल्न चाहेमा दरबार हत्याकाण्डको रहस्य खुल्न सक्छ । के सरकार तयार होला ?
Leave A Comment