नेपालमा ब्राजिल र अर्जेन्टिनाको दुस्मनी

शुक्रबार, ०८ असार २०७५, ०६ : ४२ शुक्रवार
नेपालमा ब्राजिल र अर्जेन्टिनाको दुस्मनी

-सञ्जिव मिश्र
फुटबल फर फ्रेन्डसिप कार्यक्रमअन्तर्गत म रुस पुगेको बेलामै विश्वकप फुटबल सुरु भयो । फिफाका सदस्य २ सय ११ देशबाट ४–४ जना रुस पुगेका थियौं । नेपालबाट पनि ४ जना थियौं । 

रुस लैजाने योजनामा उद्घाटन खेल हेर्न सहभागी गराउने कार्यतालिकासमेत रहेछ । यो त हाम्रा लागि गजबको सरप्राइज भयो । वल्र्डकप हेर्नु फुटबलप्रेमीका लागि सपना नै हो । त्यसमा पनि २० औं वर्षदेखि फुटबलमा लागेकाको लागि त यसको थप महत्व हुने भइहाल्यो । यो पटक त्यो मौका पाइयो । सपना पूरा भएको अनुभव भयो । 

रुसमा वल्र्डकप सुरु हुनुभन्दा अगाडिबाटै नेपालमा माहोल जमिसकेको थियो । चोक–चोकमा विभिन्न देशका जर्सी झुण्डिसकेका थियो । घर–घरमा आफूलाई मनपर्ने टिमको झण्डा ठडिन थालिसकेको थियो । 
पसल, होटल, रेस्टुराँमा आफूलाई मनपर्ने टिमको साना साना झण्डाको ध्वज बनाएर सजाउने गरिन्छ यहाँ । 

रुसमा पनि देखिएन नेपालको माहोल
यहाँको जस्तो फुटबल माहोल वल्र्डकपको आयोजक देशमा समेत देखिएन । हाम्रो बसाइ वल्र्डकपको ओपनिङ भएको स्टेडियमभन्दा करिब २५ किलोमिटर वर होटल इजामेलोभमा थियो । 
युरोपमा सडकमा भन्दा मेट्रोमा बढी यात्रा गर्छन् तर मेट्रोमा भेटिएकाहरु पनि जर्सीमा थिएनन् । आयोजक देशकै नागरिक आफ्नो देशको फुटबल टिमको जर्सीमा थिएनन् । 

मुख्य पर्यटकीय स्थल रेडस्क्वायरमा पुग्दा केही भिन्न माहोल देखियो । केही देशका मानिस आइसकेका थिए । उनीहरु आफ्नो देशको जर्सीमा थिए तर संख्या थोरै थियो । त्यही हजारको बीचमा ८ जना जतिले जर्सी लगाएका थिए । नेपालमा जस्तो जर्सीको क्रेज देखिएन ।

केही स्थानमा वल्र्डकपको झण्डा राखिएको थियो । स्टेडियममा म्याच चलिरहेको समयमा फुटबल हेर्नका लागि ठूला पार्कमा फ्यान जोन भनेर ठूला स्क्रिन र कुर्सी राखिएको थियो । 

तर आयोजक देशको सहरमा जुन किसिमको माहोल होला भन्ने सोचेको थिएँ, स्टेडियमबाहिर त्यस्तो देखिएन । सार्वजनिक स्थलमा देखिने माहोल रुसमा भन्दा नेपालमै बढी देखियो । यहाँको फुटबल क्रेज साँच्चिकै अनौठो हो । 

भव्य स्टेडियम
उद्घाटन समारोहमा स्टेडियमभित्र जाँदाको वातावरण भने अनौठो थियो । स्टेडियमको माहोल नै बेग्लै । स्टेडियम बाहिरको वातावरण पनि अनौठो थियो । स्टेडियमबाहिर फुटबल हेर्न आउनेहरुको मनोरञ्जनका लागि सबै प्रबन्ध गरिएको थियो । चटकदेखि खेलसम्मको प्रबन्ध गरिएको थियो । 

वल्र्डकप आयोजना भनेको भौतिक पूर्वाधार मात्रै महŒवको हो भन्ने लाग्थ्यो । त्यहाँ पुगेपछि थाहा भयो, हैन रहेछ । दक्ष जनशक्ति पनि उत्तिकै चाहिने रहेछ । स्टेडियमभित्र प्रवेश गरेका दर्शक नअल्मलिऊन् भनेर हरेक पाँच मिटरको फरकमा को कता जाने भनेर सघाउन स्वयंसेवी राखिएको थियो । 

फुटबल ग्राउन्डलाई पुरै क्यामराले कभर गरिएको थियो । उद्घाटन सत्रमा मैदान हुने हरेक कार्यक्रम स्टेडियममै बसेर मज्जाले हेर्न सकिने किसिमको थियो । टेक्निकल ग्राउन्डबाहेक सबैतिर क्यामराको पहुँच देखिन्थ्यो । 

३२ राष्ट्रमा खुम्चिएको विश्व
उद्घाटनका दिन संसारभरिका व्यक्तिहरु सहभागी थिए त्यहाँ । फिफामा २ सय ११ देश सदस्य छन् । सबै देशका नागरिक आ–आफ्नो देशको झण्डासहित दर्शकदीर्घामा बसेका थिए । प्रतियोगितामा सहभागी ३२ देश त भइहाल्यो । जुन–जुन देश छनोट हुन सकेनन्, उनीहरुका लागि स्टेडियमको दर्शक बस्ने स्थानमा आफ्नो देशको झण्डा फहराउनु पनि सहभागी हुनु जत्तिकै खुसी ल्याउने रहेछ । 

हाम्रो टोलीमा फिफाका सदस्य राष्ट्रका प्रतिनिधि थिए । सबै आ–आफ्नो देशको झण्डासहित । स्टेडियममा उभिएर नेपालको झण्डा निकालेर फहराउन पाउँदा विश्वकपमा भाग लिए बराबरको खुसी लाग्यो । त्यो बेला मनमा आउने देशप्रेमको भावना अहिले अभिव्यक्त गर्न पनि गाह्रो छ । त्यो भावना केवल महसुस मात्र गर्न सकिने रहेछ । विश्वकप अवधिभर फिफाका २ सय ११ देश सदस्य भए पनि विश्व ३२ देशमा खुम्चिने रहेछ । 
त्यहाँ भेटिएका विभिन्न देशका प्रतिनिधिसँग कुरा गर्दा उनीहरुको देशमा पनि वल्र्डकपको माहोल हुनेरहेछ तर नेपालको जस्तो माहोल हुने रहेनछ । नेपालका फ्यानहरु डाइहार्ट फ्यानहरु हुन् । आफ्नो देशको टिमलाई जसरी मनैदेखि सपोर्ट गर्छन्, आफूले सपोर्ट गर्ने विश्वकपमा सहभागी टिमलाई पनि उत्तिकै माया गर्ने । यो गजबको क्रेज हो ।

नेपालमा ब्राजिल र अर्जेन्टिनाको दुस्मनी
सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई जर्मनीले हराएको हो । त्यो सम्झने हो भने जर्मनी मेक्सिकोसँग हार्दा नेपालका अर्जेन्टिनी फ्यान बढी खुसी हुनुपर्ने हो तर उनीहरु स्विजरल्यान्डसँग ब्राजिलको खेल बराबरी हुँदा बढी रमाए । 

अर्जेन्टिना र आइसल्यान्डको खेल बराबरी हुँदा ब्राजिलका समर्थकले अर्जेन्टिनाका समर्थकलाई कटाक्ष गरे । जर्मन हार्दा त्यसका फ्यानलाई भन्दा ब्राजिलको खेल बराबर हुँदा उनीहरुलाई बढी कटाक्ष गरे, अर्जेन्टिनाका नेपाली फ्यानले ।

यसको मनोवैज्ञानिक कारण देखिन्छ । नेपालमा ब्राजिलियन र अर्जेन्टिनी फ्यानको संख्या धेरै छ । त्यसको कारण पनि छ । सन् १९८२ मा दूरदर्शनबाट सम्पन्न परिवारका सदस्यले फुटबल हेरे । त्यो भन्दा अगाडि बिबिसीबाट धेरै नेपालीले विश्वकप सुने । त्यो बेला ब्राजिलका पेले चम्किएका थिए । 
हाम्रो बाउबाजे उनका फ्यान भए । उनीहरुले हामीलाई पेलेको कथा सुनाए । 

आम नेपाली नागरिकले सन् १९८६ मा नेपाल टेलिभिजनले विश्वकपको लाइभ गरेपछि फुटबल हेर्ने मौका पाए । त्यो बेला म्यारोडोना अद्वितीय प्रदर्शनमा थिए । नेपालीले म्यारोडोनाको खेल चमत्कार देखे र फ्यान भए । पेलेका कारण ब्राजिलको फ्यान भए, म्यारोडोनाका कारण अर्जेन्टिनाका । 

प्रतियोगितामा ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने भयो । यी दुई टिम एक अर्काको कट्टर प्रतिस्पर्धी देखिए र नेपाली पनि त्यसरी नै विभाजित भए, जुन अहिलेसम्म कायम छ । यसको प्रभाव हाम्रो घर–घरमा छ । एक घरका चार सदस्य चार टिममा बाँडिए भने झगडै होलाझँै हुन्छ अहिले पनि । फ्यान फलोअर बढाउन त्यत्ति सजिलो छैन । ब्राजिल र अर्जेन्टिनाको जस्तो फ्यान बनाउन गाह्रो छ । 

नयाँ टोलीमा बेल्जियम बलियो
पहिलो चरणमा आइसल्यान्ड, स्विजरल्यान्ड, मेक्सिको लगायतका देशको प्रदर्शनलाई सरप्राइज भनिएको छ । वल्र्डकप मात्रै फलो गर्नेहरुलाई सरप्राइज भएको हो । जसले नियमित फुटबलका खेल फलो गर्ने गरेका छन् उनीहरुका लागि अहिले आएको नतिजा सरप्राइज हैन ।

स्विजरल्यान्ड अहिले फिफाको र्याकिङमा ब्राजिलभन्दा राम्रो छ । आइसल्यान्ड वल्र्डकपमा नयाँ टोली हो तर भर्खर फुटबल खेलेको हैन । ऊ फिफाको २२ औं र्याकिङमा छ । वल्र्डकप छनोट चरणको १० खेल खेल्दा उसले ७ गोल मात्र खाएको छ । 

पहिलो चरणका खेलमा जस्तो नतिजा आएको छ, यो कायम हुन्छ भन्ने हुन्न । सरप्राइज टप १६ सम्म मात्र हो । लिग चरण सकिएर नकआउट चरण सुरु भएपछि अनुभवको प्रभाव देखिन थाल्छ । कुन टिमले प्रेसर लिनसक्छ, को टिक्छ भन्नेले नतिजा प्रभावित हुन्छ । अहिलेको फुटबल टिम गेम हो । जसले अनुशासित भएर प्रदर्शन गर्छ, उसको नतिजा राम्रो हुन्छ ।

विश्वकप जितेका आठ वटामध्ये इटाली अहिले सहभागी छैन, तर ७ टोली सहभागी छन् । पहिलो चरणको खेलकै आधारमा पनि विश्वकप लैजाने यही सात टिममध्ये एकले हो । नयाँ टिममध्ये कसैले विश्वकप जित्ने सम्भावना छ भने त्यो बेल्जियम मात्र हो । 
 

Leave A Comment