ट्याम्पुवाली जुरेली

बिहिबार, १४ असार २०७५, ०५ : १० शुक्रवार
ट्याम्पुवाली जुरेली

बुलबुल चरी अर्थात् जुरेली चरी । फिल्मी उद्योगमा डेब्यु भएका निर्देशक विनोद पौडेलले फिल्मको नाम त गज्जबको जुराए तर प्रेस मिटमा फिल्मको अर्थ भने बिल्कुलै जुरेन । उनले टेम्पो चालक महिलाको कथामा आधारित फिल्म बनाएको घोषणा गरे । ट्याम्पुवाली बन्दैछिन् स्वस्तिमा खड्का । 

फिल्म घोषणा कार्यक्रममा गाईजात्रा के भइदियो भने ‘बुलबुल’को अर्थ कसैले सोधेन । नाम किन त्यस्तो राखियो भन्ने पनि जान्न चाहना राखेन । एक पत्रकारले त बुलबुलका अर्थ चञ्चल नै लगाइदिएर नायिका स्वस्तिमालाई भने, ‘बुलबुल भनेको चञ्चल हो तर तपाईंको पोस्टर हेर्दा गम्भीर देखिन्छ नि ?’

नेपाली बृहत् शब्दकोशअनुसार बुलबुल भनेको जुरेली चरो वा चरी हो । त्यसबाहेक अन्य अर्थ दिइएको छैन । इरानी यो चरा रातिराति गाउँदै हिँड्छ । गजलसँग यो जोडिएर आउँछ । यति जानकारी पनि पाउन नसकिने यस कार्यक्रममा जसै पत्रकारले प्रश्न सोधे, जवाफ पनि उस्तै गोलमटोल जवाफ दिइन् । मुख्य प्रश्नतिरै उनी जान चाहिनन् । उनी आफ्नो चरित्रतर्फ मात्र केन्द्रित रहिन् ।

फिल्म निर्देशक पौडेलले कार्यक्रममा आफ्नो फिल्ममार्फत स्वस्तिमाको नयाँ जन्म हुने ठोकुवा गरे । स्वस्तिमाले पनि पौडेलको होमा हो मिलाउँदै फिल्म क्षेत्रमा आफूलाई नयाँ जन्म दिने फिल्म यही भएको भनिदिइन् । हुन गम्भीर किसिमको चरित्र अहिलेसम्म पाएकी पनि थिइनन् । उनी अभिनयभन्दा पनि निर्देशक पतिको भरमा टिकेकी भन्ने आलोचना गर्नेहरु पनि छन् । यस फिल्मबाट उनले साँच्चिकै अभिनय देखाउन सकिन् भने नयाँ जन्मको दाबी मिल्न पनि सक्छ !

Leave A Comment