प्लस टू : कुलतको जग

आइतबार, १७ असार २०७५, ०६ : ४६ पुष्पा थपलिया
प्लस टू : कुलतको जग

एसईई परीक्षाको परीक्षाफल बाहिरिइसकेको छ । विद्यार्थी कलेज छान्ने दौडधूपमा छन् । अभिभावकले सन्तानको भविष्यको मिठो कल्पना गरिसकेका छन् । 

तर के अभिभावकले कल्पना गरेजस्तै सुन्दर भविष्य एसईईमा राम्रो ग्रेड ल्याउँदैमा पूरा भईहाल्ला त ? 
क्षमताभन्दा प्रतिशतको आधारमा विषयको छनोट गराउने हाम्रो समाजको स्वभाव छ । एसईईमा राम्रो ग्रेड ल्याए साइन्स, ठिकठिकै आए कमर्स, झुरै भए मानविकी पढ्ने चलन छ । कतिपय अवस्थामा अभिभावकले प्रेसरसमेत दिन्छन् ।

अभिभावकका लागि पढिदिएका बच्चाहरु छिट्टै कुलतमा फस्ने सम्भावना बढी हुने विभिन्न अनुसन्धानले देखाएको छ । यसबाट उनीहरुको भविष्य त बर्बाद हुन्छ नै, देशले समेत सक्षम नागरिक गुमाउँछ । 
लागूऔषध कानुन कार्यान्वयन इकाई (एनडीसीएलईयू) ले संसदको राज्यव्यवस्था समितिलाई दिएको प्रतिवेदनमा लागूऔषधले युवा पुस्तालाई सिध्याउन लागेको उल्लेख गरिएको छ । 

प्रतिवेदनले ठूला सहरहरूमा मध्यमवर्गीय परिवारका सन्तानमा लागूऔषध उपभोग र तराईमा सीमापारी गएर लागूऔषध सेवन÷कारोबार गर्ने प्रवृत्ति बढेको देखाउँछ । 

युवा पुस्ता लागूपदार्थको दुव्र्यसनमा लाग्नुमा परिवार, समाज र राज्य सबै जिम्मेवार हुने बताउँछिन् नार्कोनन् नेपालकी संस्थापक पुजा कुँवर । उनका अनुसार, अभिभावकहरू छोराछोरीप्रति धेरै विश्वस्त हुनु र शिक्षण संस्था बढी व्यापारमा केन्द्रित हुनु यसको कारण हो । 

लागूऔषध प्रयोगकर्ताको अध्ययनमा विद्यावारिधि गरेका आशिष सिन्हाका अनुसार, १४ देखि २६ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी दुव्र्यसनको सिकार बनेका छन् । उनका अनुसार अभिभावकहरू यसबारे लगभग बेखबरकै अवस्थामा छन् भने विद्यालय सञ्चालक ब्राण्ड बिग्रने भयले बोल्न समेत चाहँदैनन् । 
विभिन्न संघसंस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार राजधानीका निजी उमाविमा अध्ययनरत विद्यार्थीमध्ये २० प्रतिशत अर्थात् कम्तीमा १२ हजार लागूऔषधको कुलतमा फसेका छन् ।

पछिल्लो समयमा छात्राहरूमा यो समस्या अत्यधिक बढेको अध्ययनको निष्कर्ष छ । ‘एडिक्ट’मध्ये ४४ प्रतिशतले साथीभाइबाटै ‘ड्रग्स’ पाउने र खाने गरेको देखिन्छ । 

लागूपदार्थको समस्या यदाकदा देखिएको बताउने उमावि संघ, नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवाल नियन्त्रणका लागि सिंगो समाज एकजुट भएर लाग्नुपर्नेमा जोड दिन्छन् । ‘विद्यालयहरुले यसमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘यसले सबैलाई काम गर्न दबाब पर्छ, नत्र अरूले मात्र गरेर केही हुँदैन ।

कुलतबाट जोगाउने उपाय

उच्च तहमा भर्ना गर्नुभन्दा पहिले एकपटक बच्चाको पिसाब जाँच गरे राम्रो । यसबाट लागूऔषध प्रयोग गर्न थाले नथालेको थाहा पाउन सकिन्छ । शारीरिक तथा मानसिक परिवर्तन यसै समयमा हुने भएकाले उनीहरु गलत साथीको लहैलहैमा लागेर सानो कक्षादेखि नै कुलतमा परेका छन् छैनन अहिले नै थाहा पाउन सके नियन्त्रण गर्न सहज हुन्छ ।

उनीहरुको कुरा गराई, बानी व्यहोरा हेरेर परिवर्तन आए नआएको थाहा पाउन सकिन्छ । जस्तो फोनमा लुकेर कुरा गर्ने, कुरा गरिसकेपछि नम्बर डिलिट गर्ने, आँखा जुधाएर गफ गर्न नसक्ने, एक्लै बस्न रुचाउने, झर्किने आदि स्वभाव भए सचेत हुने समय आइसकेको बुझ्नुपर्छ । 

उनीहरुले शारीरिक विकासको चरणमा पनि यस्तो व्यवहार देखाउन सक्छन् । त्यसैले उनीहरुसँग अभिभावकभन्दा पनि साथीको जस्तो व्यवहार गरे कुरा सुनाउन सक्छन् ।

छोराछोरीका साथी कस्ता छन् निगरानी राख्ने गर्नुपर्छ । मिलेसम्म उनीहरुका साथीका अभिभावकसँग राम्रो सम्बन्ध कायम गर्नुपर्छ । यसले उनीहरुको कस्तो संगतमा छन् थाहा पाउन सकिन्छ । 
अभिभावक भइसकेपछि छोराछोरीको पढाइ कस्तो छ, यसबारे विद्यालयसँग जानकारी लिइरहनुपर्छ ।  उनीहरु नियमित स्कुल गएका छन् कि छैनन्, स्कुलका अतिरिक्त क्रियाकलापमा कत्तिको सक्रिय छन् बुझि रहनुपर्छ । 

कुनै विद्यालयले अभिभावकका लागि लागूऔषधसम्बन्धी ज्ञान दिन्छ भने त्यसलाई सधैँ प्राथमिकतामा राख्नुपर्छ । यदि यस्तो कक्षा छैन भने राख्न सुझाव दिनुपर्छ । 
 

Leave A Comment