नेइमारको नाटक

बिहिबार, २१ असार २०७५, ०२ : ४५ शुक्रवार
नेइमारको नाटक

यो वर्षको विश्वकप ड्रामा र थ्रिलले भरिएको छ । टप ३२ देखि क्वाटर फाइनलसम्म पुग्दा देखाएको खेल कौशलले ब्राजिलले वाहवाही पाइरहेका छन् । ब्राजिलका फ्यान हाइ मोरालमा छन् । तर त्यही टिमका स्टार खेलाडी नेइमारका नाटकका कारणले थप रमाइलो बनिरहेको छ विश्वकपका खेल ।

प्रतिस्पर्धामा नेइमारले सुन्दर गोल गरेका छन् । राम्रो पास निकालेका छन् जसले टिमलाई अगाडि बढ्न सघाइरहेको छ । तर अति नाटकीय व्यवहारका कारण उनी सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन् ।

छुंदै नछोई मज्जाले हानेर घाइते भएझैँ व्यवहार गर्ने, छुस्स छुँदा मैदानमा गुल्डुङबाजी खाने उनको व्यवहारले एकातिर रमाइलो गराइरहेको छ नै उनीजस्ता सक्षम खेलाडीको अति नाटकीयपन किन भन्दै आलोचनासमेत भइरहेको छ । 

रोनाल्डो र मेसीको बिदाइ पनि वल्र्डकपका स्टार खेलाडीमा नेइमार पहिलो नम्बरमा छन् । उनी त्यत्तिकै आकर्षणको केन्द्रमा हुने नै भए । एटेन्सनका लागि कुनै नाटक गरिरहन आवश्यक छैन । तर उनको नाटकीयपनको यात्रा रोकिने लक्षण देखिएको छैन । 

सोमबार टप १६ मा मेक्सिको सँगको खेलमा पनि उनले आफ्नो नाटकीयपन कायमै राखे । विश्वकपका दाबेदार मानिएका स्टार फुटबलर मेसी र क्रिष्टियानो रोनाल्डो रहेको अर्जेन्टिना र पोर्चुगल टप १६ बाटै बाहिरिइसकेको छ । ब्राजिलियन फ्यानमाझ मात्रै हैन अन्य टिमका समर्थकका लागिसमेत ब्राजिल र मेक्सिकाको खेल चासोको विषय थियो ।

खेलको आधाघण्टासम्म समातेको लय गुमाउँदा मेक्सिको २–० को अन्तरले ब्राजिलसँग पराजित भयो । दुवै गोलमा नेइमार निर्णायक भए । तर उनी गोलका कारणभन्दा खेलका क्रममा गरेको नाटकका कारण बढी चर्चामा आए ।

ग्राउडभन्दा बाहिर बल लिन गएका मेक्सिकन खेलाडी मिगुयल लायुनले नेइमारको खुट्टाको बीचमा रहेको बल थुतेलगत्तै उनी ठूलै आक्रमणमा परेझैँ व्यवहार गरे खुट्टा समात्दै । भिज्योल प्रिभ्युमा पहिला मेक्सिकन खेलाडीको बुटले हल्का नेइमारको खुट्टा छोएको देखिन्छ ।

त्यो बेलामा उनी प्रतिक्रियाविहीन देखिए । जब बल लिए त्यसपछि चिच्याउन थाले उनी । रेफ्री केही समय अलमलमा परे । जब भिज्योल हेरे नेइमारको नाटक चाल पाइहाले । उनले खेल नियमित गराए । त्यो बेलासम्म खेलको ४ मिनेट कटिसकेको थियो ।

यस अगाडि सर्बिया, स्विजरल्यान्ड र  कोस्टारिकासँगको खेलमा उनी खेलका कारणभन्दा नाटकीय व्यवहारका कारण चर्चामा आएका थिए । 

क्वाटरफाइनलमा ब्राजिलको भेट बेल्जियमसँग हुँदैछ । बिबिसीको पूर्वानुमानमा बेल्जियम विश्वकपको प्रमुख दाबेदार हो । जापानसँगको खेलमा २–० ले पछिपर्दा समेत उसले उत्कृष्ट कमब्याक गर्दै खेल जितेको थियो । अब बेल्जियमसँगको प्रतियोगितामा नेइमारले खेल कौशल देखाउनेछन् कि नाटकीयपन हेरौं ।

नेइमारले गरेको नाटकका कारण ४ मिनेट गुमेकोमा मेक्सिकन कोच आक्रोशित देखिए उनीसँग । नेइमारले मैदानमा गरेको नाटकबाट रुष्ट भएका जुआ कार्लोसले खेलपछि प्रतिक्रिया दिँदै भने ‘खेल मानिसहरुबीच हुने हो, जोकरबीच हैन ।’
 

Leave A Comment