अलमलमा अाइजिपी

शुक्रबार, २२ असार २०७५, ०३ : ४६ केपी ढुंगाना
अलमलमा अाइजिपी

प्रहरी महानिरीक्षकका रुपमा संगठनको नेतृत्व सम्हालेपछि पहिलो पटक यसै साता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पत्रकार सम्मेलन गरे । उनले यस बीचमा आफूले गरेको कामको फेहरिस्त प्रस्तुत गरे । त्यो उपलब्धि–फेहरिस्त उनको संगठन नेतृत्व शैलीझैँ कमजोर देखिएको थियो ।

डिआइजीसम्म रहँदा उनलाई जुन रुपमा चिनिन्थ्यो, उनको जस्तो किसिमको कार्यशैली र जुझारुपन देखिन्थे, प्रहरी महानिरीक्षकका रुपमा भने बिल्कुलै देखिएन । उनी अहिले ओइलाएझैँ देखिन्छन् । यस बीचमा संगठनमा रोकिएका केही पदको बढुवा भयो, केही पदको सरुवा निस्कियो । उनको छवि विपरीत यी दुवै विवादमुक्त भने हुन सकेनन् । 

बढुवामा कार्यक्षमता भन्दा नेतासँगको नाता हाबी भएको, नेताका पिएसओहरु  बढुवामा अब्बल दरिएको र संगठनका लागि मरिमेटेर काम गर्ने केही अधिकृत पाखा पारिएको भनी चर्को गुनासो सुनिनु उनको कार्यकालको सबैभन्दा ठूलो असफलता थियो । 

त्यस्तै साढे ३३ किलो सुन तस्करी र प्रहरीको कोभर्ट अप्रेसनप्रति सरकारले जस्तो धारणा बनाएको छ, त्यसप्रति उनी मौन रहे । सरकार यसलाई कोभर्ट अप्रेसन मान्न तयार देखिएन भने सुन तस्करी प्रकरणमा त प्रहरी बिल्कुलै जोकर देखिन पुग्यो । प्रहरी निरीक्षकका रुपमा संगठनमा छिरेर महङ्खवपूर्ण भूमिका निर्वाह गरेका उनी आफैंले धेरै कोभर्ट अप्रेसन चलाएका थिए । तराईको अञ्चल प्रहरी कार्यालयको नेतृत्व गर्दा काठमाडौं आएर भारतीय अपराधी बब्बु दुवे पक्राउ गर्ने प्रहरी अधिकारी पनि उनै हुन् । 

कुमार घैँटेलाई इन्काउन्टर गराउने कार्य उनी महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख हुँदा नै भएको हो । अनौपचारिक कुराकानीमा उनी आफ्नो कार्यकाल ताका भएका कोभर्ट अप्रेसनहरु गर्वका साथ सुनाउँछन् । 

यस मानेमा उनी प्रहरी संगठनले चलाउने कोभर्ट अप्रेसनबारे जानकार प्रहरी अधिकारी हुन् । तर साढे ३३ किलो सुन काण्डको अनुसन्धानमा संलग्न समितिमा रहेका आफ्नै संगठनका सदस्यलाई समेत प्रहरीले असल नियतले चलाउने कोभर्ट अप्रेसनको शैली सम्झाउन सकेनन् भन्ने अनुसन्धानमा आएको समितिको विश्लेषणले देखाएको छ । 

दुखद् पक्ष, साढे ३३ किलो सुन तस्करीको आवरणमा प्रहरी संगठनमाथि भइरहेको आक्रमणप्रति पत्रकार सम्मेलनमा उनी सहमतझैँ देखिए । सुन प्रकरण, पक्राउ परेका प्रहरी अधिकारी माथिको अभियोग र प्रहरी नेतृत्वको भूमिकाबारे आएको जिज्ञासामा उनी ‘यो त अर्कै समितिले गरिरहेको हो मैले बोल्न मिल्दैन’ भन्दै पन्छिए ।

जसले अपराध गरेको हो, उसले अपराधको सजाय पाउनुपर्छ भन्नेमा कसैको विमति छैन तर जुन रुपमा समितिको अनुसन्धान अगाडि बढिरहेको छ र समितिमा रहेका संगठनका सदस्यको भूमिका विवादमा मुछिएको छ, त्यस्तो अवस्थामा उनले दिएको जवाफ पदीय दायित्व निर्वाह गर्नेभन्दा पनि पन्छिनेमै बढी केन्द्रित देखिएको छ ।

नेतृत्वमा आइसकेपछि भएको सरुवा र बढुवाका निर्णयहरुसमेत विवादमुक्त हुन सकेन । यसमा गृह नेतृत्वको प्रभाव कारक देखिए पनि प्रहरी महानिरीक्षकका रुपमा उनीसमेत भागिदार हुने नै भए । यसमा समेत गोलमटोल उत्तर दिएरै उनले कुरा टुंग्याए ।

हिजोका दिनमा विभिन्न पदमा रहँदा देखिएको उनको सक्रियता र प्रहरी महानिरीक्षकको रुपमा उनको सक्रियताबीच तुलना गर्दा उनी सुस्ताएको विश्लेषण भइरहेको छ । यस्तो बेला उनले आफू दिनरात काम गरिरहेको र निस्क्रिय नरहेको दाबी गरे । उनको पछिल्लो कार्यविवरण र प्रगति फेहरिस्तमा दिनरात खटेको प्रभाव भने देखिएको छैन ।

संगठनको नीतिगत तहमा काम गर्ने एआइजी पद रित्तो छ । एआइजी पदोन्नतिमा सरकारसँगै प्रहरी महानिरीक्षकसमेत इच्छुक देखिएका छैनन् । संगठनसम्बन्धी महङ्खवपूर्ण नीति बनाउने नीति कार्यान्वयन समितिसमेत सक्रिय बनाउन सकेका छैनन् उनले ।
यसले डिआइजीहुँदासम्म अडानमा रहने, क्रियशील प्रहरी अधिकारीका रुपमा आइजिपी खनालले बनाएको छवि धुमिल हुँदै गइरहेको छ । 

कम भएन सुन तस्करी

सुन तस्करीको सबै सञ्जाल ध्वस्त पारियो भन्दै सरकारद्वारा गठित छानबिन समितिका पदाधिकारी मक्ख छन् । तस्करीमा संलग्न केही ठूला माछा पहिल्याइसकेको तथा पक्राउ गर्न मात्र बाँकी रहेको भन्दै उनीहरुले छानबिनको  प्रगति विवरण सार्वजनिक गरिरहँदा उनीहरुको नाकैमुनिबाट सुन तस्करी भने जारी रहेको काठमाडौंमा अघिल्लो साता भएको दुई वटा पक्राउले देखाएको थियो । 

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको जरोसम्म पुगेको भन्दै समितिका अधिकारी गमक्क परिरहेका बेला महानगरीय प्रहरी परिसर काठमाडौंले फरक–फरक घटनामा तस्करीको नौ किलो सुन बरामद गरेको छ । 

काठमाडौं परिसरले आइतबार थानकोटबाट ६ किलो सुनसहित सिन्धुपाल्चोकका तेन्जिङ तामाङलाई पक्राउ गरेको थियो । त्यसको दुई दिनअघि थानकोटमै भारतीय नागरिक चन्द्रमोहन जोशी, दीपक कुमार मार्रे, अशोक सिंह, सञ्जना शाह र नेपाली नागरिक मनोज विकलाई तीन किलो सुनसहित पक्राउ गरेको थियो ।
उनीहरु युके ०२४६८४ नम्बरको गाडीमा थिए । प्रहरीले एयर फिल्टरमा सुन फेला पारेको दाबी गरेको थियो ।

प्रहरीले पक्राउ परेका भारतीय नागरिक सुन लिनकै लागि काठमाडौं आएको र यही सुन किनेर भारत लैजाने प्रयासका क्रममा पक्राउ परेको दाबी गरेको छ । तर सो सुन कहाँबाट आयो खुलाउन सकेको छैन ।
छ किलो सुनसहित पक्राउ परेका तामाङ बा ९५ प ८१६४ नम्बरको बाइकसहित फेला परेका थिए । सुन कहाँ फेला परेको थियो भन्ने बारेमा फरक–फरक विवरण आएका छन् ।

कसैले उनले बाइकमा सुन लुकाएको उल्लेख गरेका छन् भने कसैले तामाङले रुमालले बेरेर कम्मरमा बाँधेको उल्लेख गरेका छन् ।प्रहरीको दाबीअनुसार उनले सो सुन भारत लैजाने प्रयास गरेका हुन् । भारत कहाँ भन्ने प्रहरीले खुलाउन सकेको छैन । प्रहरीको दाबीअनुसार सुन रसुवा नाकाबाट काठमाडौं भित्रिएको हो । 

के गर्दैछ उच्चस्तरिय समिति ?
नेपालमा सुन तस्करीका लागि हवाई रुट र स्थलमार्गको प्रयोग हुने गरेको छ । हवाई रुट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो । स्थल रुटको रुपमा सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवाको केरुङ चल्तीमा आएका थिए । 

भूकम्पपछि तातोपानी नाका बन्द भएसँगै सुन तस्करीका लागि केरुङ चम्कियो तर मन्त्रिपरिषद्बाट गठित उच्चस्तरीय समिति स्थलमार्गभन्दा बढी हवाई मार्गमै केन्द्रित रहेको छ ।अनुसन्धानको क्रममा प्रहरीका उच्च अधिकारीसहित ३३ जनाभन्दा बढीलाई पक्राउ गरेको समिति ठूला माछाको हल्ला गरेर बसे पनि उल्लेखनीय उपलब्धि पाउन सकेको छैन ।

प्रहरीले ठूला माछा भन्दै हुण्डी कारोबारीसम्म पक्राउ गरेको छ । पछिल्लो समय उसले हुण्डी कारोबारीको अभियोगमा डब्बु भनिने इम्तियाज अलीलाई पक्राउ गर्याे । अली पक्राउ पर्नुअगाडि प्रहरीले अकबर शाहलाई पक्राउ गरेको थियो । शाहअगाडि विमल पोद्दार पक्राउ परेका थिए । 

यी तीनै जनाको पक्राउको आधार हुण्डी हो । हुण्डी र सुन तस्करी एक आपसमा जोडिएको भन्दै उच्चस्तरीय समितिका अधिकारीले उनीहरुलाई पक्राउ गरे पनि मूल अभियोग नलगाई सार्वजनिक अपराध ऐनमा म्याद थप गरेर हिरासतमा राख्नुले कतै अनुसन्धानको बहानामा समितिका सदस्य आर्थिक चलखेलमा सक्रिय भएका त हैनन् भन्ने आशंकासमेत बढाएको छ ।

गोरे भनिने चुडामणि उप्रेतीसँगको आर्थिक कारोबारकै आधारमा बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीलाई अभियुक्त बनाउने समितिले विमलका व्यावसायिक साझेदारलाई अनुसन्धानको दायराबाट बाहिरै राख्नुले समेत उसको अनुसन्धानको निष्पक्षता र ठूला माछाको खोजीमा सक्रियता आशंकामा परेको छ ।
 

Leave A Comment