ठगीको हतियार

आइतबार, ३१ असार २०७५, ०६ : ४१ मनोज घर्तीमगर
ठगीको हतियार

केस नं. १– पाल्पाका यामबहादुर रानाले विदेशी नागरिकले आफूलाई सामान र पैसाहरु पठाएको सामाजिक सञ्जालमार्फत आफन्तलाई सुनाए । पैसा र सामानको ट्याक्स क्लियर गर्न आउँदा आफू थुनामा परेको भन्दै आफन्तसँग उनले आर्थिक सहयोग मागे । आफन्तले रकम पठाइदिए । त्यसपछि न यामबहादुरले ती आफन्तलाई सम्पर्क गरे, न विदेशीले पठाएको पैसा र सामान नै पाएको खबर गरे । ती आफन्त ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गर्न पुगे ।

केस नं. २– ‘तपाईंलाई २५ लाखको चिठ्ठा परेको छ । ५० हजार रुपैयाँ पठाइदिए तपाईंले चिठ्ठाको पैसा पाउनुहुन्छ ।’ यस्तो बेहोराको पोखरा महानगरपालिका वडा नं. २७ कि विष्णुकुमारी मगरको मोबाइलमा इमो म्यासेज आयो । उनले ४५ हजार रकम पठाइदिइन् । रकम नपाएपछि ठगिएको भन्दै प्रहरी कहाँ पुगिन् । 

केस नं. –३ ‘तपाईंलाई २५ लाखको चिठ्ठा परेको छ । यो रकम लिन तपाईंको ट्याक्स क्लियर छैन । बोर्डरमा राजश्व तिर्नुपर्नेछ, ३० हजार रुपैयाँ पठाइदिए तपाईंले चिठ्ठाको पैसा पाउनुहुन्छ,’ पोखराकी एक १६ वर्षीया युवतीको मोबाइलमा बैशाख २३ गते ह्वाट्स एप म्यासेज आयो । उनले १० दिनको बीचमा पटक–पटक गरेर करिब १६ लाख रुपैयाँ पठाइदिइन् । चिठ्ठाबाट परेको रकम नपाएपछि उनले ठगिएको भन्दै कास्की प्रहरीको शरणमा पुगिन् ।

एकअर्काबीच अन्तरक्रिया गर्न सहज बनाउने सामाजिक सञ्जाल पछिल्लो सयम ठगी गर्ने हतियार बन्दै गएको उदाहरण हुन्, यी । पछिल्लो समय कास्कीमा मात्रै होइन, इमो, भाइबर, फेसबुक, म्यासेन्जरमार्फत देशभर ठगी धन्दा मौलाइरहेको छ । 

पोखराकी १६ वर्षीया ती युवतीको मोबाइलमा बैशाख २३ गते एक्कासि यति ठूलो रकम चिठ्ठा परेको म्यासेज आएपछि सुरुमा पत्याइनन् । आफ्नो आमालाई म्यासेज देखाइन् । गाइँगुइँ चल्यो, म्यासेजबारे उनीहरुले वास्तै गरेनन् । 

म्यासेज आएको दुई दिनपछि अमेरिकाको मोबाइल नम्बर देखिने एउटा नम्बरबाट ह्वाट्स एपमै फोन आयो । ‘चिठ्ठा परेको रकम लिन सकेसम्म चाँडो रकम पठाउनु, नत्र तपाइले पाउनुहुन्न,’ अपरिचित व्यक्तिले हिन्दीमा फोनमा भन्यो । 

उनीहरुबीच ह्वाट्स एपमा लामै कुराकानी भयो । तापनि ती युवतीले वास्तै गरिनन् । लगालग फोन आएर फकाउन थालेपछि उनको मन पग्लियो । आमाछोरीले सल्लाह गरे, ‘चिठ्ठा नपरेको भए यसरी पटक–पटक फोन नआउनुपर्ने ।’ फोन गर्नेले ठूलो रकम पनि मागेको थिएन । मात्र ३० हजार रुपैयाँ त हो ! यति रकम पठाएर २५ लाख आउँछ भने पठाइदिम् । आमाछोरीको सल्लाह भयो । उनीहरुले सुनवर्षी नगरपालिका वडा नं. ८ मोरङ, ठेगाना भएको रवीन्द्र मण्डलको नाममा आइएमई गरेर ३० हजार रुपैयाँ पठाइदिए । 

एक दिन बित्यो, रकम आएन । हप्ता बित्यो, रकम आएन । त्यस व्यक्तिले अझै रवीन्द्रकै नाममा रकम पठाउन अनुरोध ग¥यो ह्वाट्स एपमै । ती युवती र अपरिचत व्यक्तिसँगको सम्पर्क भइरह्यो । चिठ्ठा परेको रकम पाउने आश गर्दै १० दिनको बीचमा उनीहरुले मण्डलकै नाममा पटक–पटक गरेर करिब १६ लाख रुपैंयाँ पठाइदिए । तैपनि रकम आएन ।

पटकपटक ताकेता गर्दा पनि रकम नआएपछि उनीहरु आत्तिए । पैसा बुझाएको १६ दिन बित्दा पनि उनले चिठ्ठाबाट परेको रकम पाउन सकिनन्, तब उनले आफू ठगिएको अनुमान गरिन् । बिस्तारै खोजिनीति गर्दैै गएपछि थाहा भयो– सामाजिक सञ्जाल प्रयोग गरेर ठग्ने ठूलो गिरोहको चंगुलमा उनी परिछन् । 

‘के हो, के ? कसरी फँसियो ! अचम्म लागिरहेको छ,’ नाम नखोल्ने अनुरोध गर्दै युवतीले भनिन्, ‘सुरुमा हामीले विश्वास गरेनौं । कुरा हुँदाहुँदै १६ लाख रुपैंयाँ आइएमई गरेर पठाइएको पत्तै भएन । अहिले पनि फोन गरिरहन्छ । ५० हजार पठाइदिनु सबै रकम पाउँछौं बेटी भन्दै दुई जनाले फोन गरिरहन्छन्, ह्वाट्स एपमा ।’ 

ती युवतीले फोन गर्ने व्यक्तिलाई चिठ्ठा परेको रकम नलिने आफूले पठाइदिएको रकम फिर्ता गर्न पटकपटक आग्रह गर्दा समेत उल्टै फकाउँदै फोन गरिरहेको सुनाइन् । 

ती युवतीले जिल्ला प्रहरी कार्यालय कास्की जेठ ७ गते आफू ठगिएको र उनीहरुलाई कारबाही गराइपाउँ भन्ने व्यहोरोको जाहेरी दरखास्त दिएकी थिइन् । कास्की प्रहरीले खोजबिन सुरु गरेको भोलिपल्टै ठगीमा लागेका ६ जनालाई मोरङबाट पक्राउ गर्न सफल भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङका अनुसार सामाजिक सञ्जालबाट २५ लाख रुपैयाँ चिठ्ठा परेको छ भन्दै ठगी गर्ने मोरङ सुनवर्षी नगरपालिका वडा नं. ८ का ३० वर्षका रवीन्द्र मण्डल, २५ वर्षका उपेन्द्र मण्डल, २८ वर्षका सञ्जयकुमार शर्मा, २५ वर्षका शशिकान्त कामत, २३ वर्षका अवधेश सलामा, ३१ वर्षका एमजी भन्ने हमोम्मद जाहिद मियालाई संगठित ठगीमा अनुसन्धान भइरहेको छ ।

‘उनीहरुलाई म्याद थप गरी प्रहरी हिरासतमा राखेर संगठित ठगीमा अनुसन्धान भइरहेको छ,’ प्रवक्ता गुरुङ भन्छन्, ‘सत्यतथ्य के हो, छिट्टै बाहिर आउँछ ।’

पाल्पा निस्दीका यामबहादुर रानाले पनि करिब डेढ वर्षअघि विदेशी नागरिकले आफू र आफ्नो परिवारका लागि सामान र पैसाहरु पठाएको सामाजिक सञ्जालमार्फत आफन्तलाई सुनाएर ठगीमा लागेका थिए । त्यही पैसा र सामानको ट्याक्स क्लियर गर्न आउँदा आफू थुनामा परेको भन्दै आफन्तसँग यामबहादुरले आर्थिक सहयोगको याचना गरे ।

यामबहादुरको याचनाले आफन्तको मन पग्ल्यो र बैंक अफ काठमाडौंको खातामा केही रकम पठाइदिए । त्यसपछि न यामबहादुरले ती आफन्तलाई सम्पर्क गरे, न विदेशीले पठाएको पैसा र सामान नै पाएको खबर गरे । पछिमात्रै ती आफन्त ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेपछि उनी प्रहरी फन्दामा परे ।

उनी पक्राउ परेपछि यसरी ठगी धन्दा चलाउने ठूलै गिरोह सक्रिय रहेको सुराक पाएको कास्की प्रहरीले खोजबिन सुरु गरेको थियो । तर, उजुरी नपरेकाले यसबारे खासै चासो दिएको थिएन । 
ठीक यही बेला चिठ्ठा परेको छ, उपहार परेको छ भन्दै सामाजिक सञ्जालका विभिन्न माध्यमबाट प्रलोभन देखाएर ठगी गरेको उजुरी परेपछि ठूलो गिरोहलाई कास्की प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

इमो, भाइबर र फेसबुकमार्फत चिठ्ठा परेको छ, उपहार आएको छ, विदेशीले उपहार पठाइदिएको भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ ठगी गर्ने नौ जनालाई कास्की प्रहरीले यसअघि पक्राउ गरी मुद्दा चलाइसकेको छ ।

उनीहरुले कास्कीलगायत विभिन्न जिल्लामा सामाजिक सञ्जाल प्रयोग गरी २५ लाख रुपैयाँको चिठ्ठा परेको छ, तपाईंको परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै झन्डै १ करोड ३० लाख रुपैयाँ ठगेको कास्की प्रहरीको भनाइ छ । 

८० जनाभन्दा बढी व्यक्तिहरुलाई ठगी गर्ने धादिङ खनियावास–५ का २६ वर्षीय टेकबहादुर तामाङ र २४ वर्षीय नेनिस तामाङ, नेत्रावती–१ का २८ वर्षीय ठाकुर गुरुङ, र मनोज तामाङ, गणेश गुरुङलाई प्रहरीले पक्राउ गरी संगठित ठगी कसुरमा मुद्दा चलाए पनि बिगो ४५ हजार मात्रै भएकाले उनीहरुलाई कम्तिमा १० हजारदेखि बढीमा ९० हजार रुपैयाँ धरौटी राखी जिल्ला अदालत कास्कीले तारेखका छाड्न आदेश दिएको थियो । सोही आदेशबमोजिम उनीहरु थुनामुक्त भइसकेका छन् । 

पक्राउ परेका धादिङका ५ जनासँग सोधपुछ गर्दा उनीहरुले साउदी अरबमा रहेका नरेश राउत भन्ने व्यक्तिले भनेबमोजिम पैसा झिकेर विभिन्न ठाउँमा पठाउने गरेको बयान दिएका थिए । साउदीबाट नरेश राउतले धनुषास्थित संगीता मिश्रको नाममा पैसा पठाउने भनेपछि प्रहरीले पैसा पठाइदियो । धनुषा प्रहरीको सहयोगमा संगीता मिश्र र उनीसँगै रहेकी कामनी तिवारीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

संगीतामाथि प्रहरीले अनुसन्धान र सोधपुछ गर्दा त्यो सम्पूर्ण काम गर्न महोत्तरीका योगेन्द्र तिवारीले लगाएको खुलेपछि धनुषामा पक्राउ गरी प्रहरीले पोखरामा बुझाए पनि उनीहरु यसका मतियार मात्रै भएकाले अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

‘यसरी ठगी गर्ने मुख्य व्यक्ति को हो, उनीहरुलाई अह्राउने को हो सबै फोन नम्बर हेर्दा पनि पत्ता लगाउन बडो कठिन छ । त्यस्ता नम्बर अमेरिका, चीन, भारत, अरब मुलुकका आउँछन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘यहाँ पक्राउ पर्नेहरु मतियार मात्रै हुन्, यसको मुख्य डिजाइनर को हो, उसलाई पक्राउ गर्न आइटीको सहयोग लिए पनि सम्भव छैन ।’

सामाजिक सञ्जालबाट हुने ठगीबाट बच्न नागरिक आफैँ सचेत हुनुपर्ने उनको भनाइ छ । ‘कसैले यति लाख चिठ्ठा परेको छ, त्यसका लागि यति पैसा चाहिन्छ भने प्रलोभनमा नपर्नुहोला,’ प्रहरी प्रमुख एसपी रानामगरले भने, ‘यसरी कसैले फोनै गरे पैसा माग्छ भने प्रहरीलाई खबर गर्नुहोला ।’ 
एक जनाबाट ७५ हजारदेखि ३ लाखसम्म ठगी भएको र थुप्रै यसरी सामाजिक सञ्जालबाट ठगिएको प्रहरी

प्रमुख एसपी ओमबहादुर रानामगरले बताए । गिरोहले सर्वसाधारणलाई इमोबाट फोन गर्ने गथ्र्याे । हिन्दी भाषामा २५ लाखदेखि १ करोडसम्मको चिठ्ठा परेको जानकारी दिइन्थ्यो । उक्त रकम पाउनुअघि कर बापतको पैसा पहिला नै पठाउनुपर्ने भन्दै आइएमईमार्फत पैसा पठाउन अनुरोध गरिन्थ्यो । 
तस्वीर पनि छ । 
 

Leave A Comment