ज्युदो प्रहरी जवान मार्ने डिएसपी

शुक्रबार, ११ साउन २०७५, ०६ : ३५ केपी ढुंगाना
ज्युदो प्रहरी जवान मार्ने डिएसपी

प्रहरी जवान कमल आचार्य अहिले टिचिङ अस्पतालको बेडमा स्वास्थ्य लाभ गरिरहेका छन् । चिकित्सा शिक्षामा सुधारको मागसहित जुम्लामा पुगेर अनसनमा बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले अस्पतालभित्र गरेको धरपकडमा आचार्य गम्भीर घाइते भएका थिए ।

उनका कमाण्डर डिएसपी डा. तपनकुमार दाहालको भनाइ सत्य भएको भए प्रहरी जवान आचार्यको इहलीला त्यही दिन समाप्त भएको थियो । दाहालले झडपकै दिन उनको मृत्यु भएको घोषणा गरिदिएका थिए । तर उनै दाहालको नेतृत्वको प्रहरीले जुन चिकित्सकको टाउकोमा लाठी बजारेका थिए उनैको सक्रियतामा आचार्यको ज्यान जोगियो । 

साउन ३ मा डा. केसीलाई जबर्जस्ती काठमाडौं ल्याउन सरकारले महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरलाई समेत जुम्ला पठाएको थियो । अस्पताल परिसरमा राठौरसँगै दाहालसमेत खटिएका थिए । 

जसरी पनि केसीलाई काठमाडौं ल्याउने सरकारी हठ र केसीले स्वीकार नगरेसम्म लैजान नदिने स्थानीयवासी र चिकित्सकको मत बाझिँदा सुरक्षाकर्मीले अस्पतालभित्र प्रवेश गरेर ढोका फोड्ने काम गरे । त्यही बेला आचार्य घाइते भएका थिए । 

अस्पतालको इमर्जेन्सी कक्षमा आफैँ हिँडेर गएका उनलाई भएको के हो पत्तो थिएन । इमर्जेन्सीमा पुगेका उनको अवस्था खतरायुक्त देखिएपछि चिकित्सकले एक्सरे गर्दै उपचार प्रक्रिया अगाडि बढाएको थियो । उनको छातीमा गोलीको आकारको फलामको टुक्रासँगै रगत जमेको देखेपछि चिकित्सकले जमेको रगत निकाले र सामान्य सल्यक्रिया गरे ।

यता अस्पताल परिसरबाहिर रहेका उच्चतहका प्रहरी अधिकारीहरु भने आचार्य गोली लागेर मरेको भन्दै माइकिङ गराइरहेका थिए । डिएसपी दाहालले आचार्यको मृत्युको पुष्टी नै गरिदिए । उनलाई उद्धृत गर्दै आचार्यको मृत्यु भएको समाचारहरु सार्वजनिक भए । 

उपचारमा संलग्न चिकित्सकहरुबाट भने आचार्य जीवितै रहेको पुष्टी भएपछि एकाएक प्रहरीको बोली फेरियो । पहिला आफ्नै कर्मचारी मारिएको घोषणा गरेका डिएसपी दाहालले ‘भीडलाई हटाउन आफूले त्यस्तो भनेको’ दाबी गरे ।

उनको लाजमर्दो भनाइ सार्वजनिक भएको केही समयमा प्रहरी प्रधान कार्यालयले विज्ञप्ति निकालेर गोली नचली आचार्यलाई सिसाले लागेर घाइते भएको र उनको मृत्युको अफवाह फैलाइएको दाबी गरियो । 
प्रधान कार्यालयले मिडियाले अफवाह फैलाएको झुठो बोल्यो । अफवाह फैलाउने उनकै संगठनका सदस्य दाहाल रहेको उनी स्वयंले पुष्टी गरेका थिए । 

तर विज्ञप्तिमा लेखियो ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण गर्ने र मृत्युजस्तो मानवीय संवेदनाका विषयमा सूचनाको आधिकारिक पुष्टीसमेत नगरी समाचार सम्प्रेषण गर्दा त्यसबाट सम्बन्धित संगठन र निजको परिवारमा मानसिक एवं भावनात्मक असर पर्न जाने’ उल्लेख गरियो । 

प्रहरी प्रवक्ता शैलेश थापाद्वारा जारी विज्ञप्ति संगठनका सदस्यको बदमासीप्रति मौन बस्यो । घटनास्थलमा खटिएका प्रहरी अधिकृतले ज्यँुदो व्यक्ति मरेको हल्ला फिजाउने काम गरे प्रहरी प्रधान कार्यालयले घटनाको तथ्यभित्र प्रवेश नगरी आक्रमणकारीले सिसा र चिर्पट प्रहारबाट आचार्य घाइते भएको दाबी ग¥यो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको आचार्यको एक्सरेमा छातीमा देखिएको फलामको टुक्रा र उनको शरीरभित्र लागेको चोटको प्रकृतिको आधारमा उनलाई गोली लागेको दाबी गरिए पनि काठमाडौं आइपुग्दा उनको छातिभित्र देखिएको फलामको टुक्रा देखिएन । 

तर चोट किन लागेको हो त्यो पनि खुलेको छैन । चोटको प्रकृतिका आधारमा चिकित्सकसमेत विभाजित देखिएका छन् चोटको कारणबारे । चोटको कारण जे भए पनि प्रहरीले जुन चिकित्सकको टाउकोमा लाठी बजारेको थियो उनीहरुकै सक्रियतामा प्रहरीको ज्यान जोगियो ।

के हुन्छ त अब ?
अस्पतालभित्र भएको प्रहरी ज्यादतीको अनुसन्धानका लागि प्रतिष्ठानका चिकित्सक र कर्मचारी आन्दोलित भएपछि अहिले डिआइजी सुरेशविक्रम शाहको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
समितिलाई प्रहरीले अस्पताल परिसरभित्र बल प्रयोग गरेको हो या हैन र दाहालले जीवित प्रहरी कर्मचारीको मृत्यु भएको गलत सूचना सम्प्रेषण गरेका हुन् या हैनन् त्यसको छानबिन गर्ने कार्यादेश प्रधान कार्यालयले तोकेको छ । 

घटनाको दिनका सार्वजनिक तस्बिर र भिज्योलले प्रहरीले अस्पताल भवनभित्रै प्रवेश गरेर अधिक बल प्रयोग गरेको देखिन्छ । अफवाह फैलाउने र अस्पतालभित्र बल प्रयोग गर्ने प्रहरी अधिकारीको संरक्षण गर्छ कि संगठनले त्रुटिअनुसारको दण्डित त्यसका लागि शाह नेतृत्वको समितिको प्रतिवेदन नै निर्णायक हुनेछ । 


 

Leave A Comment