अढाई लाखको भ्वाइलिन ५० डलरमा

बिहिबार, २४ साउन २०७५, ०४ : ०१ शुक्रवार
अढाई लाखको भ्वाइलिन ५० डलरमा

अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित एउटा पसलले किनेको ५० डलरको भ्वाइलिनको वास्तविक मूल्य अढाई लाख डलरभन्दा बढी मूल्यको रहेको पत्ता लागेपछि पसलमा हल्लीखल्ली मच्चिएको छ ।

एलबिसी बुटिक एन्ड लोन पसलमा काम गर्ने एक जना कर्मचारीले अन्जानमै एउटा पसलबाट भ्वाइलिन किनेका थिए । किनेर जब उनले आफ्नो बुटिकमा सजाए, त्यसपछि त्यहाँ आउने व्यक्तिले क्वारक्वारी भ्वाइलिनलाई हेर्न थाले । भ्वाइलिनको गज्जबको बान्की देखेर हरकोही मुग्ध हुन थालेपछि र होहल्ला हुन थालेपछि प्रहरीले सोधखोज गर्न थाल्यो ।

पछि प्रहरीले यो भ्वाइलिन सन् १७५९ ताका बनाइएको पत्ता लागेको थियो । यस भ्वाइलिनको नाम फर्नान्डो गाग्लिनो रहेको छ । ५० डलर हालेर किनिएको यो भ्वाइलिनको वास्तविक मूल्य अढाई लाख डलर रहेको पनि खुलेको स्टोरका व्यवस्थापक डाइलन म्याकडर्मिटले प्रहरीलाई जनाएका छन् । यो भ्वाइलिन बजाउने छडीको मूल्य मात्र १६ देखि १८ हजार डलर पर्ने विज्ञहरुले बताएका छन् ।

प्रहरीले यो भ्वाइलिन घर भत्किएपछि चोरिएको र लामो समयदेखि हराइरहेको बताएको छ । भ्वाइलिन खोज्दै कोही पनि नआएको र जसले यो भ्वाइलिन बेचेको हो, उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

Leave A Comment