चार इन्काउन्टर, चार कमजोरी

आइतबार, २७ साउन २०७५, ०४ : ०२ केपी ढुंगाना
चार इन्काउन्टर, चार कमजोरी

भीमढुंगामा ढलेका चरी
फरार रहेको अवस्थामा २०७१ साल साउन २१ गते दिनेश अधिकारी चरी काठमाडौंको भीमढुंगामा मारिए । तत्कालीन नेकपा एमालेको संरक्षणमा रहेका रहेका उनी हत्या प्रयास, वन्यजन्तुको अंग तस्करी, रकम असुलीमा कहलिएका गुण्डा थिए ।

कहिले भारत कहिले नेपाल गर्दै जोगिँदै आएका उनी काठमाडौं आएको सूचनाको आधारमा प्रहरी खोजीमा रहेको बेला महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनको इन्काउन्टर गरेको थियो । चरी सुनसान स्थानमा प्रहरीको गोली लागेर मारिएका थिए ।

प्रहरीले उनी मुद्दा मिलाउन काठमाडौंबाट धादिङ जाँदै गरेको सूचनाको आधारमा पछ्याउँदा प्रहरीमाथि गोली चलाएकाले प्रतिकारमा गोली चलाउँदा मारिएको दाबी गरेको थियो ।

कमजोरी
घटनास्थल सुनसान थियो । सुनसान र उकालोमै पुगेपछि चरीले किन प्रहरीतिर फर्किएर गोली चलाए खुल्न सकेन । फुल हेलमेट लगाएर मोटरसाइकल चलाएका उनी प्रहरीको गोली लागेर ढल्दा उनको टाउकोमा हेलमेट थिएन । घोप्टो परेको अवस्थामा रहेको शवले समेत वास्तविक मुठभेडै हो त भन्नेमा शंका जन्माएको थियो । अस्पताल नजिकै भएको घटनामा प्रहरीले उनलाई अस्पताल लैजाने प्रयास नै नगरी घटनास्थलमै मृत घोषणा गरेकाले समेत प्रहरीको सुरक्षाका लागि गोली चलाएको दाबी फिलतो देखिएको थियो ।

प्रहरीले चरी स्पिडमा मोटरसाइकलमा गएको र प्रहरी टोलीले पछ्याएको दाबी गरेको थियो तर स्थानीयबासीले प्रहरीको गाडी अगाडि–अगाडि चरीले चलाएको दाबी गरेको मोटरसाइकल पछाडि रहेको बताएको थियो । चरीलाई प्रहरीले अन्तै नियन्त्रणमा लिएर एकान्त स्थानमा लगेर इन्काउन्टर गरेको दाबी आए तर स्वतन्त्र पुष्टि भने हुन सकेन ।


घर अगाडि ढलेका घैँटे
घरबाट त्यस्तै ५० मिटर अगाडि रहेको खाली स्थानमा प्रहरीको गोली लागेर २०७२  भदौ ३ मा कुमार श्रेष्ठ ‘घैँटे’ काठमाडौंको कपुरधारामा मारिए । उनी जुन समयमा मारिए, त्यो बेला न प्रहरी उनको खोजीमा थियो न उनीविरुद्ध प्रहरीमा कुनै उजुरी । प्रहरीले उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको थियो । अस्पतालमा उनी मृत घोषणा गरिए ।


कमजोरी
प्रहरीले पछ्याउँदै जाँदा घैँटे भागेको र प्रहरी टोलीलाई ताकेर गोली चलाएपछि सुरक्षाका लागि गोली चलाउँदा उनी मारिएको दाबी महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारीले गरे । उनी जहाँ मारिएका थिए, त्यो बाटोबाट भाग्ने ठाउँ नै थिएन । उनीसँगै अन्य दुई जना स्थानीय युवासमेत गोली लागेर घाइते भएका थिए । 

उनीहरुले घैँटेले नमार भन्दाभन्दै गोली हानेर मारेको बयान दिएका थिए । प्रहरीको गोली लागेका दुई युवाबाहेक अन्य प्रत्यक्षदर्शी पनि थिए, जसले प्रहरीले जानजान गोली हानेको बयान दिएका थिए । घैँटेले मारिनु एक महिना अगाडि प्रहरीले आफूलाई मार्ने षड्यन्त्र गरिरहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा जीवन रक्षाका लागि निवेदनसमेत दिएका थिए । तर नतिजा शून्य ।

हावा तालमा ढालिएका प्रवीण
२०७४ साउन २३ गते ललितपुरको कुसुन्तीमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चलाएको गोलीबाट प्रवीण खत्री मारिए । उनी यसअघि ढालिएका चरी र घैँटेझैँ पेसेवर गुण्डा थिएनन् । उनी केवल लागू औषध प्रयोगकर्ता थिए ।

घटनापछि प्रहरीले उनी लागू औषधको ठूलै डिल भएको सूचनाको आधारमा पक्राउ गर्न जाँदा प्रहरीमाथि जाइलाग्दा घटना भएको तर्क गरेको थियो ।

कमजोरी 
प्रहरीले अनुसन्धानमा प्रवीण लागू औषधको ठूलो डिलर हुन् भन्ने पुष्टि गर्न सकेन । प्रारम्भमा प्रहरीले प्रवीण आफैँले चलाएको गोली लागेर मारिएका हुन् या प्रहरीको– यकिन भन्न सकेको थिएन । यो रहस्य पछिसम्म रहस्यमै रह्यो । घटनास्थलको प्रकृतिले समेत प्रवीणलाई नियन्त्रणमा लिन नसक्दा पक्राउका लागि खटिएका प्रहरी टोलीको सदस्यको ज्यान नै जोखिममा पर्नसक्ने आधार र अवस्थासमेत पुष्टि गर्न सकेन । घटनाको प्रकृतिले प्रहरीको हात चिलाउँदा उनी मारिएको देखियो । 

गोवाका मनोज भवानीपुरमा ढल्दा
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन लगायतकाको हत्यामा जोडिएका मनोज पुन २०७४ फागुनमा मारिए । उनी मात्र मारिएनन्, उनीसँगै रहेका सोम आले समेतको ज्यान गयो । 

प्रहरीले नै उनी भारतको विभिन्न सहरमा लुकेर बसेर नेपालमा अपराध गरिरहेको दाबी गरेको थियो तर उनी रुपन्देहीको देवदह नगरपालिकाको भवानीपुरको सडकमा बिहान ३ बजे मारिएका थिए । प्रहरीले उनी अपराधको योजना बनाएर सहयोगीसहित नेपाल आएको सूचनाको आधारमा परिचालित प्रहरीसँग मुठभेड हुँदा मारिएको दाबी गर्याे ।

कमजोरी
प्रहरीले लामो समयदेखि पक्राउ गर्न खोज्दा उनीसँगै बस्ने समीरमान सिंह पक्राउ पर्दा उनलाई फेला पार्न सकेको थिएन प्रहरीले । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका मनोज लुसुक्क मोटरसाइकलमा भवानीपुर आए भन्ने प्रहरीको तर्क नै फितलो थियो । त्यसमा पनि जुन समयमा उनी मारिए, त्यसले सकेसम्म घटनाको प्रत्यक्षदर्शी नहोऊन् भनेर प्रहरीले चलाखी गरेको प्रस्टै देखिन्थ्यो । मनोज इन्काउन्टरमा मारिनु अगाडि नै उनी गोवामा पक्राउ परेको सूचनासमेत चुहिसकेको थियो । मनोजको शरीरमा फेला परेको १२ राउन्ड बुलेटले समेत प्रहरीको मनसाय देखायो नै । 

Leave A Comment