निशान अपहरणमा कहाँ चुक्यो प्रहरी ?

आइतबार, २७ साउन २०७५, ०४ : ०८ शुक्रवार
निशान अपहरणमा कहाँ चुक्यो प्रहरी ?

अनुभवहीन त्यसमा पनि आलोकाँचो अपहरणकारीको हातमा परेको बन्धकले ज्यान गुमाउने जोखिम बढी हुन्छ । प्रहरी अधिकारीका अनुसार आलाकाँचा र परिचितबाट अपहरणमा परेका ७० प्रतिशत बन्धकको ज्यान जोगाउन सकिन्न ।

त्यसैले यस्तो केसको अनुसन्धानमा प्रहरीले प्रायः साइलेन्ट अप्रेसन सञ्चालन गर्छ तर ११ वर्षीय बालक निशान खड्काको अपहरण अनुसन्धान साइलेन्ट हुन सकेन । परिणामः खड्का सकुशल अपहरण मुक्त हुन सकेनन् । कलिलै उमेरमा ज्यान गयो ।

प्रहरीले सार्वजनिक गरेको घटनाक्रमको समय तालिका हेर्ने हो भने ४ बजे घरबाट हिँडेका खड्का अपहरणमा परेको ९ बजेतिर खुलेको थियो । त्यसको आधा घण्टामा यो सूचना प्रहरीले पाइसकेको थियो ।
१० बजेभित्र महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र स्थानीय प्रहरी परिचालित भइसकेका थिए ।

बालककी आमालाई ४० लाख फिरौती माग्न आएको फोनमा सुनिएको स्वर परिचित रहेको खुलिसकेको थियो । उनी निशानकी आमा चमेलीले चलाउने खाजा घरमा नियमित आउने ग्राहक गोपालसँग गएको र नफर्किएको सूचना पनि प्रहरीले पाइसकेको थियो तर सोमबार बिहान मात्र प्रहरी अपहरित राखिएको स्थानमा पुग्न सक्यो, जुन बेला ढिला भइसकेको थियो ।

अनुसन्धानबारे जानकार अधिकारीका अनुसार फिरौती माग्न प्रयोग भएको मोबाइल नम्बरको आधारमा अपहरणकारीहरु रहेको स्थान लगभग लोकेट भइसकेको थियो । खाजा घरबाट बालक जसको साथमा गएका थिए, पहिलो शंकाको घेरामा उनी नै थिए । तापनि प्रहरी गोपाल बस्ने डेरासम्म पुग्नै सकेन ।
बिहान प्रहरी पुग्दा बालकको हत्या भइसकेको थियो ।

महाशाखाका एसएसपी सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा बालकको हत्या उनीहरुको कोठामा बेलुका १२ देखि २ को बीचमा भएको देखिन्छ । 

यस्तो घटनामा फिरौती मागेसँगै भुक्तानी कसरी गर्ने भन्नेबारे समेत अपहरणकारीले भन्छन् नै । अपहरण भयो भनेर फोन गर्नेले ४० लाख माग गरे पनि कहाँ ल्याउने भनेका थिएनन् । थप माग नगरी र रकम ल्याउने शैली र स्थान नै नतोकी बालकको हत्या किन गरे ?

‘अनुभवी अपहरणकारीले अपहरण कसरी गर्ने, कहाँ राख्ने, कसरी बार्गेनिङ गर्ने र भुक्तानी लिएर कसरी सुरक्षित हुनेसम्मको योजना बनाएर मात्र अपहरण गर्छन्,’ नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लले भने, ‘तर सिकारुहरु बिना तयारी नै अपहरण गर्छन् । अपहरितको व्यवस्थापन र फिरौती लिन गाह्रो हुन थालेपछि पोल खुल्ने भयले अपहरितको हत्या गर्न सक्छन् ।’

खड्काको केसमा यही भएको हो त ?

प्रहरीले खोजी सुरु गरिसकेको, पीडितहरु प्रहरीको सम्पर्कमा गएको जस्ता सूचना पाए भने पनि अपहरणकारीहरु आफू जोगिन अपहरितको हत्या गर्ने चरणमा पुग्ने अनुभवी प्रहरी अधिकारी बताउँछन् ।
के खड्काको केसमा यस्तै भएको हुनसक्छ ?

अपहरणका २ आरोपीको पृष्ठभूमि र घटनाक्रमले उनीहरु पहिलो पटक यस्तो गम्भीर अपराधमा संलग्न भएको देखिन्छ । अपहरितलाई आफ्नै कोठामा लगेर बन्धक बनाउने, त्यहीँ हत्या गर्ने र नजिकै लगेर गाड्ने र कोठामा फर्केर बस्ने उनीहरुको शैलीले समेत उत्तेजनामा उनीहरु गम्भीर अपराधमा संलग्न भएको देखिन्छ । 

‘जो अपहरणकारी थिए, उनीहरु मुठभेडमा मारिएकाले अनुसन्धान अलि जटिल भयो,’ मल्लले भने, ‘अपहरणकारीबारे सार्वजनिक भएको जानकारी र अवस्था हेर्दा उनीहरु हडबडाउँदा दुर्घटना भएकोझैँ देखिन्छ ।’

खड्काको अनुसन्धानमा प्रहरीले अनुसन्धानमा जुन गोपनीयता अपनाउनुपर्ने हो, त्यसमा समेत सजगता अपनाएको देखिएन । जुनसुकै निकायका प्रहरी अधिकारी परिचालित भए पनि गम्भीर केसमा संयोजन हुने गर्छ तर खड्काको खोजीको केसमा खटिएको प्रहरी युनिटबीच समन्वय देखिएन । यसले अपहरित राखिएको स्थान पहिचान गर्न कठिन त भयो नै प्रहरी अप्रेसनको गोप्यतासमेत कायम रहेन ।

 

‘बन्धकको ज्यान पहिलो प्राथमिकता’

हेमन्त मल्ल,पूर्व डिआइजी
अपहरणको सूचना आएपछिको पहिलो काम बन्धक कहाँ छन् र अपहरणमा कस्ता प्रकृतिका व्यक्ति संलग्न छन् भन्ने अनुमान, विश्लेषण र तयारी महङ्खवपूर्ण हो । सही टिमको छनोट गरी कामको बाँडफाँड र एक टिमसँग अर्को टिमको समन्वयसमेत उत्तिकै महङ्खवपूर्ण हुन्छ । 

कुनै–कुनै केसमा अपहरणमा संलग्न व्यक्ति वा अपहरित राखिएको स्थानको पहिचान भएको अवस्थामा बन्धकको ज्यानको सुरक्षाको विश्लेषणका आधारमा प्रहरीले बन्धक राखिएको स्थानमै हस्तक्षेप गरेर पनि बन्धकमुक्त गर्ने गरेको छ तर यस्तो अप्रेसनको संख्या कम छ । 

त्यसैले अधिकांश अपहरण विरुद्धको अप्रेसनको पहिलो प्राथमिकता अपहरितको ज्यानको सुरक्षा नै हो । अपहरणकर्ताले आफू असुरक्षित भएको शंका मात्र लागे पनि अपहरितको ज्यान जोखिममा पर्ने भएकाले प्रहरी अपहरितको परिवारको नजिक समेत देखिन हुँदैन । कतिपय केसमा अपहरितकै निकट व्यक्तिसमेत अपहरणमा संलग्न हुन सक्छन् । त्यसैले जोखिम कम गर्न अपहरित परिवारका सदस्यलाई समेत अप्रेसनबारे जानकारी दिइँदैन । 

अपहरण गरेपछि अपहरणमा संलग्न समूहले कुनै न कुनै माध्यमबाट अपहरितको परिवारसँग सम्पर्क गरेर रकम माग्छ नै । प्रहरीले खेल्ने मोलमोलाइमा नै । रकमको मोलमोलाइमा प्रयोग भएको माध्यमको आधारमा अनुसन्धान गरी अपहरित राखिएको स्थान वा अपहरणकारी भएको स्थान पहिचान गरी पिछा गर्ने, अपहरणकारीलाई यसबारे प्रहरीले सूचना नपाएकोमा विश्वस्त बनाउनु महङ्खवपूर्ण पाटो हो । कतिपय घटनामा फिरौती लिन आउँदा नियन्त्रणमा लिइएको पनि छ । 

अपहरणमा संलग्न कुनै व्यक्तिको पहिचान भयो र उसलाई पक्राउ गर्दा त्यसको सूचना अपहरितसँग बसेका अपहरणकारीले पाउँदैनन् भन्ने निश्चित भएको अवस्थामा मात्र पक्राउ गरिन्छ ।

कतिपय अवस्थामा प्रहरीले फिरौती लिन आएको अपहरणकारीलाई पक्राउ नगरी उसको पछि लाग्ने र अपहरित मुक्त भएपछि मात्र पक्राउका लागि अप्रेसन अगाडि बढाउनेसमेत गरिन्छ ।तर अपहरणमा मुख्य पाटो भनेको अपहरितको जीवन रक्षा नै हो । जीवन गयो भने फर्काउन सकिन्न । कति समय लाग्छ भन्ने मात्र हो, अपहरणकारी त जसरी पनि पक्राउ परिहाल्छन् ।
 

Leave A Comment