वाह क्रिकेट !

आइतबार, २७ साउन २०७५, ०५ : ०७ शुक्रवार
वाह क्रिकेट !

भारत र पाकिस्तानसँग खेल्ने सपना
नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला बराबरीमा टुंग्याउँदा क्रिकेटप्रेमी नेपाली मख्ख छन् । जिम्बावेमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको यो नेपालको पहिलो खेल थियो । 

अभ्यास खेलमा सुखद प्रारम्भ गरेको नेपाली टोलीले पहिलो खेल गुमाएको थियो । पहिलो खेल गुमाउँदा केही निरास भएका क्रिकेटप्रेमीका लागि दोस्रो खेल रोमाञ्चक मात्रै बनेन जितको खुसी पनि ल्यायो । 
नेदरल्यान्ड्सको आम्सटेलभिनस्थित भिआरए क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल

नेदरल्यान्ड्सँग ५५ रनले पराजित भएको थियो । दोस्रो खेल १ रनको रोमाञ्चकताका साथ विजयी भयो । 
एक दिवसीय प्रतियोगिताको दुवै खेल सक्काएर नेपाली टोली स्वदेश फर्किसकेको छ । बराबरीमा सिरिज टुंग्याएर नेपाल फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । 

‘पहिलो खेल आफँैमा ऐतिहासिक थियो । पहिलो जित नेपाली क्रिकेटको कोशेढुंगा हो,’ विमानस्थलमा कप्तान पारस खड्काले भने, ‘आशा गरौं दुई देशीय शृंखलाले निरन्तरता पाउनेछ ।’
प्रतियोगितामा बराबरीको अनुभव लिएर स्वदेश फर्किएको टोली अहिले अगष्ट २९ बाट मलेसियामा हुने एसिया कपको छनोट प्रतियोगिताको तयारीमा जुटिसकेको छ ।

छनोट प्रतियोगितामा नेपालले हङकङ, मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणका शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेता टोलीले सेप्टेम्बर १५ देखि २८ सम्म युएईमा हुने एसिया कपका लागि छनोट हुनेछन् । एसिया कप जितेमा नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । 

छनोट प्रतियोगिताको विजेता टोलीले एसिया कपको समूह ‘ए’ मा रहेको भारत र पाकिस्तानविरुद्ध खेल्नेछ । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् । 

‘सबै खेलाडीले भारत र पाकिस्तानविरुद्ध खेल्ने सपना देखेका छन् । त्यसका लागि यो एसिया कप राम्रो अवसर हो । त्यहीअनुसार खेलाडीले मिहिनेत पनि गरिरहेका छन्,’ नेपालका प्रशिक्षक जगत टमाटाले भने, ‘हामी राम्रो क्रिकेट खेलेर सफलता हासिल गर्नेमा विश्वस्त छौं ।’

यु–१९ भारत जाने
नेपाली यू–१९ क्रिकेट टोलीले भारत कोलकातास्थित इडेन गार्डेन्स क्रिकेट मैदानमा छ चतुष्कोणीय क्रिकेट खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोली तथा नेसनल क्रिकेट एकेडेमीको (एनसीए) यू–१९ टोलीले प्रतिस्पर्धा गर्नेछ । एनसीए बीसीसीआईको एकेडेमी टोली हो ।

सेप्टेम्बर ९ देखि २० सम्म हुने प्रतियोगितामा नेपालले भारतको यू–१९ सँग सेप्टेम्बर १४ मा खेल्नेछ । नेपाली यू–१९ टोलीले भने अफगानिस्तान यू–१९ र एनसीए यू–१९ सँगको खेल जादवपुर युनिभर्सिटी (जेयू) क्याम्पस मैदानमा खेल्नेछ । गत सिजनमा यस प्रतियोगितामा श्रीलंका यु–१९ ले खेलेको थियो ।

सिनियर टोलीमा रहेका दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले भने प्रतियोगिता खेल्ने छैनन् । लामिछाने अहिले ग्लोबल ट्वान्टी–२० लिग खेल्नका लागि क्यानडामा छन् भने ऐरी र पौडेल सिनियर टोलीसँग एसिया कप छनोट प्रतियोगिताको तयारीमा हुनेछन् । बंगलादेशमा अक्टोवरबाट हुने एसियाकपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसहित नेपाल, हङकङ र युएईले प्रतिस्पर्धा गर्नेछन् ।

Leave A Comment