कपाल चोरको बिगबिगी

शुक्रबार, ०१ भदौ २०७५, ०४ : ५८ शुक्रवार
कपाल चोरको बिगबिगी

ग्राहकका रुपमा नयाँ दिल्लीको एउटा पसलभित्र तीन जना व्यक्ति छिरे । उनीहरुले पसलेलाई बन्दुक सोझ्याउँदै मूल्यवान् वस्तु मागे । पसलेले पनि दिन अन्कनाइरहेको थियो, यस्तो मूल्यवान् वस्तु कसरी दिने होला ? तर चोरहरुले बढी नै हुलहुज्जत गर्न खोजेपछि भने पसलेले त्यो वस्तु नदिई सुख पाएनन् । 

र, जे चिज चोरहरुले चोरे, त्यो थियो– कपाल । घरघरमा कपाल पाइन्छ, यसलाई चोर्ने के आवश्यकता ? 
बन्दुक नै ते¥स्याएर चोरिने यस्तो कपाल कति मूल्यवान् छ भन्ने कुरा कपाल चोरिएपछि पसलले प्रहरीलाई दिएको निवेदनमा प्रस्टिन्छ । २०० किलोग्राम कपाल चोरहरुले कुम्ल्याएर टाप कसेपछि आफ्नो २० हजार डलर क्षति पुगेको दाबी गरिएको छ ।

आफ्नो सर्वश्व गुमेको र यो चोरीपछि आफू ऋणमा चुर्लुम्म डुबेको पसले जहाँगिर हुसेनले बताएका छन् । जहाँगिरले नयाँ दिल्लीमा नक्कली कपालको व्यवसाय चलाइरहेका छन् ।

‘मानिसहरुलाई लाग्ला, जाबो कपालको के मूल्य ?’ जहाँगिरले द इन्डियन एक्स्प्रेस अखबारलाई भने, ‘तर यो सर्वसाधारणले सोचेजस्तो सस्तो छैन ।’ उनले गएको महिना मात्र दक्षिणी भारतबाट १७ हजार डलरभन्दा बढी मूल्यका नक्कली कपाल किनेर पसललाई भरिभराउ पारेका थिए ।

नक्कली कपाल जसलाई अंग्रेजीमा विग पनि भनिन्छ, यसलाई राम्रोसँग चलाउन र राखनधरन गर्न सकेमा १० वर्षभन्दा बढी टिक्छ ।

भारतमा नक्कली कपालको ठूलो व्यापार हुने गरेको छ । वार्षिक ३ सय मिलियन डलरभन्दा बढीको कपालको व्यापार भएको ठाउँमा कपाल चोरिनु कुनै ठूलो कुरा होइन । विग बनाउने कम्पनी अधिकांश दक्षिण भारतमा छन् । दक्षिण भारतका चर्चित मन्दिरमा कपाल देउतालाई चढाउने नियम छ । जसका कारण त्यहाँ वार्षिक रुपमा धेरै संख्यामा नक्कली कपाल किनबेच हुने गर्छ र अन्य ठाउँको तुलनामा सस्तो पनि पर्न जान्छ । खासगरी तिरुपति मन्दिरमा मात्रै वार्षिक सयौँ टन कपाल काटिन्छ र त्यसलाई लाखौँ डलरमा बिक्रीसमेत गर्ने गरिन्छ ।
 

Leave A Comment