नग्न नीलो मानव समुद्र

सोमबार, १० साउन २०७३, १२ : १७ शुक्रवार , Kathmandu
नग्न नीलो मानव समुद्र

इंग्ल्यान्डको सुन्दर नगर हलमा गत हप्ता २० देशका तीन हजारभन्दा बढी मानिस जम्मा भएका थिए । यो भेलाको उद्देश्य विशुद्ध कलात्मक थियो । उनीहरू हलको समुद्रसँगको सम्बन्ध र सामुद्रिक सम्पदाको उत्सव मनाउन चाहन्थे ।

करिब ३२ सय जति सहभागीले आफ्ना नग्न शरीरमा नीलो रङ पोतेर मानव समुद्र बनाए । हल नगर परिषद्का अनुसार ‘हलको समुद्र’ नामक कला योजना इंग्ल्यान्डमा आजसम्म भएको सबैभन्दा ठूलो ‘इन्स्टलेसन आर्ट’ हो ।

प्रसिद्ध फोटोग्राफर स्पेन्सर ट्युनिकले नीलो रङ पोतेका सहभागीहरूको तस्बिर खिचेका थिए । उनीहरूले हलका महŒवपूर्ण स्थानमा गएर पोज दिएका थिए । फेरेन्स आर्ट ग्यालरीले यो कलात्मक अभियानको व्यवस्था गरेको थियो । यसका तस्बिरहरू सन् २०१७ मा इंग्ल्यान्डमा हुने ‘सिटी अफ कल्चर’ उत्सवमा प्रदर्शन गरिनेछन् ।

हजारौँ सहभागी बिहानैदेखि हलमा जम्मा भएका थिए । उनीहरूले आफ्ना जीउमा नीलो रङ पोतेका थिए । यस रङले पानीको प्रतिनिधित्व गर्छ । मान्छे र समुद्रको महŒवपूर्ण सम्बन्ध दर्शाउन उनीहरूले यो कलात्मक अभियानमा भाग लिएका थिए ।

सहभागीले क्विन्ज गार्डेन्स, गिल्ड हल, स्केल लेन झोलुंगे पुलजस्ता ठाउँमा सामूहिक तस्बिर खिचाएका थिए ।
बेल्जियमका  ८० वर्षीय स्टेफान जानसेन पनि हलमा सहभागी थिए । उनी फोटोग्राफर ट्युनिकका २० वटा सामूहिक तस्बिर प्रोजेक्टमा सहभागी भइसकेका छन् । नांगो शरीरमा रङ पोत्नु उनका निम्ति परम आनन्दको विषय हो । ‘सौन्दर्यशास्त्रीय दृष्टिले यो शानदार छ,’ उनले भने, ‘हामी रङमा पुरिन्छौँ । यहाँ सबैजना बराबर छन् । नश्ल, लिंग केही पनि छैन । सबैजना उस्तै छन्, बराबर छन् र नग्न छन् ।’

हलकी बासिन्दा सारा होस्याकले यस्तो कलाकृतिको हिस्सा बन्न पाउनु  असीम आनन्दको कुरा भएको बताइन् । ‘म त बिहान ४ बजेदेखि नग्न भएर बसेकी थिएँ,’ उनले भनिन्, ‘साह्रै रमाइलो भयो ! यति धेरै मान्छे एक ठाउँमा भेला भएर यसरी रङमा पोतिनु भव्य अनुभव हो ।’

ट्युनिकले आफूले गरेको इन्स्टलेसन आर्टमा यो सबैभन्दा शानदार भएको बताए ।

Leave A Comment