निर्मला हत्या र बलात्कार : सस्पेन्सले घेरियो अनुसन्धान

शुक्रबार, २९ भदौ २०७५, ०४ : ४५ केपी ढुंगाना
निर्मला हत्या र बलात्कार : सस्पेन्सले घेरियो अनुसन्धान

किशोरी निर्मलाको बलात्कार र हत्या अनुसन्धानले ट्र्याक समात्नुको साटो एकपछि अर्को सस्पेन्स बढेको छ । साउन १० मा घटनाको अनुसन्धानले कुनै धार नै समात्न सकेको छैन । ५० दिन कट्दा अनुसन्धानले धार समात्नुको साटो उल्टो एकपछि अर्को सस्पेन्सले अन्यौल बढाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल परिवारको घरमै पुगेर घटनामा संलग्न जो सुकैलाई पक्राउ गर्ने वाचा गरेर काठमाडौं फर्किएपछि अनुसन्धानले गति लिने अनुमान त्यो बेला तुहियो जब गृह मन्त्रालयले गठन गरेको घटनाको अनुसन्धान तथा छानविन समितिका एक सदस्य वीरेन्द्रबाबु केसीले घटनामा संलग्न अपराधीलाई कारवाहीको दायरामा ल्याउन नसक्ने भन्दै राजीनामा दिए । उनको राजिनामासँगै अनुसन्धानको विश्वसनीयतामाथि थप प्रश्न बढायो । 

उनले ‘आफू र आफ्नो परिवारको सदस्य असुरक्षित रहेको’ भन्दै थप आश्चर्यमा पारिदिएका  थिए । उनले समितिबाट राजीनामा दिनुको मूल कारण अनुसन्धान समितिको म्याद थप गर्ने निर्णय देखिएको थियो । उनले अनुसन्धान कहाँसम्म पुगेको छ र शंकामा को–को परेका छन् भन्ने खुलाएनन् तर उनले घटनामा जोडिएकाहरु निकै शक्तिशाली रहेको ‘सुरक्षा माग’ गरेर संकेत गरे ।

तर यो पनि नाटकै देखियो । अनुसन्धालाई रहस्यमय बनाएर राजीनामा दिएका केसी उस्तै रहस्यमय तरिकाले पून काममा फर्किए गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर । उनलाई समितिमा फर्काउन गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरिक्षक नै फकाउन कस्सिएका थिए ।

घटनामा संलग्न रहेको आशंकामा दिलिप सिंह विष्ट पक्राउ परे । प्रहरीले घटनाको मुख्य अभियुक्त विष्ट नै देखायो । जनदवाद बढेपछि रोशनी बम तथा बबिता बम पक्राउ परे । किशोरीको शवमा फेला परेको वीर्यको डिएनएसँग विष्टको डिएनए नमिलेपछि विष्ट अदालतबाट साधारण तारेखमा मुक्त भए । उनको रिहाइसँगै कञ्चनपुरबासी आवेशमा आएर मात्र आन्दोलन गरेका थिएनन् भन्ने पुष्टि भयो ।

पीडित परिवार र स्थानीयले सबैभन्दा धेरै शंका बम दिदीबहिनीमाथि गरेका थिए । घटनालगत्तै घरमा प्रवेश गर्न नदिनु, निर्मलाकी आमाले छोरी खोई भन्दा पोइल गई होला भन्नु, घटनाको दोस्रो दिन अम्बाको बोट काटिनु र उनीहरुको कोठामा रङ लगाएको हल्ला आउनुले घटनामा कतै उनीहरु नै संलग्न हुन् कि भन्ने आशंकालाई बढाउने काम गरेको थियो ।

अनुसन्धानले भने उनीहरुको संलग्नताको पुष्टी गर्न सकेन । मुख्य आशंका गरिएका विष्टसँग बम दिदी बहिनीको कुनै सम्पर्क नदेखिनु, उनीहरुको सम्पर्कमा रहेकाहरु शंकास्पद नहुनु, घरभित्र कुनै घटना भएको तथ्य नभेटिँदा आखिर बम दिदीबहिनी पनि अदालतबाट छुटे । धरौटीमा मुक्त हुनु भनेको शंकाबाहिर रहनु हैन तर घटनामा संलग्न नै रहेको भन्ने आधार कमजोर हुनु भने हो ।

अहिले निर्मलाको अभिभावक दुर्गा र यज्ञराज अनुसन्धानमा दवाव बढाउन काठमाडौं आएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरुले केही नयाँ शंका सार्वजनिक गरे ।

शव बुझ्न दवाव दिने तीर्थ भण्डारी, नजिकैको होटलमा एसपी डिल्लीराज विष्टको छोराको वर्थडे पार्टी भएको र त्यहाँ तीन जना युवा बसेको केही समयमा गोरी तीन युवती आएकोमा सानी सानी केटी आफ्नो छोरी हुन् कि भनेर आमा दुर्गाले आशंका सार्वजनिक गरिन् । तेस्रो आशंका जसले साइकल फेला पारेका थिए उनी माथि नै थियो । 

भण्डारी, होटल र साइकल फेला पार्ने ब्यक्ति अनुसन्धानको दायरामा आए आएनन् सार्वजनिक भएको छैन । स्रोतका अनुसार प्रहरीले होटलबाट सिसिटिभीको फुटेज भने लगिसकेको छ । त्यसमा निर्मला देखिएकी छिन् या छैनन् मौन छ प्रहरी ।

कता जाला अनुसन्धान ?
अनुसन्धानले तीन विषय पुष्टी गरेको छ । पहिलो निर्मलाको बलात्कार भएको हो । दोस्रो उनको शब जहाँ फेला परेको छ त्यो घटनास्थल हैन अन्तै हो । तेस्रो उनको भोकल कड भाचिएकाले उनको बलात्कार र हत्यामा भोकल कडबारे तालिमप्राप्त जानकार संलग्न छ । 

तर बलात्कार कहाँ भएको हो र कसले गरेको हो यो भने सुल्झने बाटोमा अनुसन्धान हिडेको देखिएन । यसले प्रहरीलाई नयाँ सिराबाट अनुसन्धान अगाडि बढाउने चुनौती थपिएको छ ।

अहिलेसम्म प्रहरीले संकलन गरेको प्रमाण भनेको मृतकको शरीरमा भेटिएको वीर्यको आधारमा पहिचान भएको डिएनए मात्रै हो । डिएनएको आधारमा समूहगत परीक्षण कति सम्भव होला ?

मुख्य चुनौती डिएनए स्पाम्पलको परीक्षणमार्फत घटनामा संलग्नको पहिचान नै हो । यसका लागि शंकास्पद व्यक्ति फेला पार्नु मुख्य चुनौती हो । हत्या र बलात्कार घटनामा संलग्न रहेको आशंका गरिएका केही युवाको घटनामा संलग्नताको कुनै तथ्य फेला नपरेको प्रहरीले नै सार्वजनिक गरिसकेको छ । दवाव बढ्दै गएपछि प्रहरीले एसपी विष्ट, उनको छोरा सहितको डिएनए टेष्टका लागि स्याम्पल लिएको सार्वजनिक भएको छ । यसको नतिजा भने आइसकेको छैन ।

एकोहोरो अनुसन्धान
मुख्य आरोपी मानिएका विष्टको रिहाइले प्रहरी प्रारम्भदेखि नै पुरातन पाराले एकोहोरो अनुसन्धानमा केन्द्रित भएको देखियो । घटनास्थलको अवस्था र घटनास्थल वरिपरिको अवस्था, घटनाको कारण लगायतका सूची बनाएर प्रहरीले विभिन्न कोणबाट एकसाथ अनुसन्धान अगाडि बढाएको भए यो अवस्था आउने थिएन ।

निर्मला हराएको सूचना आए लगत्तै खोजीमा गम्भिर नहुनु, उनको शब फेला परेपछि उनको परिवारले गरेको आशंका निवारणमा प्रहरी सक्रिय हुनुको साटो आफु अनुकुलको अनुसन्धानमा सहजता ल्याउन परिवारलाई उल्टो दवाव दिनु, हतारमा शव जलाउनु प्रहरीका लागि घातक बन्यो ।

गम्भीर प्रकृतिको अपराधको अनुसन्धानमा ख्याति कमाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनाको अनुसन्धानमा संलग्न भएपछि नै विष्ट पक्राउ परेका थिए । विष्ट मार्शल आर्टको खेलाडीसमेत रहेको आधारमा उनले बयानमा निर्मलाको घाँटीमा कसरी च्यापे भन्ने दिएको बयान लगायतको आधारमा सिआइबी टोलीसमेत विष्ट नै मुख्य अभियुक्त रहेको र डिएनए परीक्षणबाट यो पुष्टि हुनेमा विश्वस्त देखिएका थिए तर रिपोर्ट उनीहरुले सोचे अनुसारको आएन । 

ब्युरोबाट गएको डिएसपीको टोली समेत अहिले छानविनको दायरामा तानिएको छ । एसएसपी उत्तम सुवेदीको नेतृत्वमा समिति नै बनेको छ । ब्युरोका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वको नयाँ अनुसन्धान टोली कञ्चनपुर पुगेर फर्किएको छ । सरकारी टोली अनुसन्धानमै छ । 

तर घटनास्थलमा रहेका अधिकांश प्रमाण नष्ट भइसकेको, घटनास्थलबाट प्रारम्भमा प्रमाण संकलन गर्ने क्रममा लापरबाही गर्दा अनुसन्धानलाई अगाडि बढाउन सकिने प्रमाणहरुको अभाव रहेको राष्ट्रिय मानव अधिकार आयोगको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा खुलिसकेको छ । यसले निर्मला बलात्कार र हत्या घटनाको अनुसन्धान थप जटिल हुने देखिन्छ ।
 

Leave A Comment