तिहारमा आतिसबाजी : बलियालाई छुट, कमजोरलाई प्रहरीको बुट

आइतबार, १८ कार्तिक २०७५, ०५ : ३९ शुक्रवार
तिहारमा आतिसबाजी : बलियालाई छुट, कमजोरलाई प्रहरीको बुट

तिहारको मुखैमा महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंको महाबौद्धमा ७० लाखभन्दा बढीको तिहार लक्षित सामग्रीसँगै २ व्यापारीलाई पक्राउ ग¥यो । पक्राउ परेका अशोक कुमार शाह र नन्दलाल साह प्रहरी हिरासतमा पुगे ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उनीहरुलाई विस्फोटक पदार्थको कारोबारको अभियोगमा पक्राउ गरिएको हो । विशेष सूचनाको आधारमा महाबौद्धमा रहेको सुशान्त ट्वाइज हाउसमा छापा मार्दा ७ सय किलो सामग्री फेला परेको थियो ।

महाशाखाले सार्वजनिक गरेको सूचीअनुसार उनीहरुबाट बरामद भएका सामान यस्ता थिए ः
गमला चक्र, झिरझिरे, रकेट, रोल क्याप, क्लासिक डिलक्स, माल्टा र सेभेन स्टार ।
यी सबै सामग्री तिहार रमाइलो बनाउन प्रयोग हुने गर्थे ।

तिहार नजिकिँदै जाँदा एक सातादेखि प्रहरीले तिहारमा मनोरञ्जनका लागि प्रयोग हुने यस्ता सामग्री केन्द्रित अप्रेसन सुरु गरेसँगै बरामदका सूचना आउने क्रम बढेको छ । 

प्रहरीले कात्तिक ११ मा महोत्तरीबाट आएको गाडीमा जाँचको क्रममा १० बन्डल नागिन पटका, झिलझिले, आकाशवाणी, आलु बमसहित सुरेन्द्र चौधरी र शम्भु सिंहलाई पक्राउ गरेको थियो ।

९ गते काठमाडौंको धापासीमा ३ हजारवटा पटका, सानो रकेट २ वटा सहित रामरभरोसकुमार शाह पक्राउ परेका थिए । ८ गते तारकेश्वरमा ४० वटा सुतली पटका, २० वटा रकेट र ४ पाकेट नक्कली पेस्तोल र १४ पकेट झिरझिरेसहित गीता उपाध्यायलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई प्रहरीले सार्वजनिक अपराधअनुसारको कसुरको आरोप लगाउने गरेको छ । पक्राउ पर्ने अधिकांश भारतीय नागरिक छन् ।

१५ वर्ष अगाडिसम्म यस्ता सामग्री निर्वाध बिक्री हुने गर्थ्र्यो । कुनै छेकबार विनै माल्टा बारुद पड्काउन पाइन्थ्यो, झिरझिरे र भुईचम्पाको चमकमा बालबालिका रमाउँथे । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेसँगै यस्ता सामग्रीबाट विस्फोटक पदार्थ बनाउन प्रयोग हुनसक्ने भन्दै गृह प्रशासनले बिक्रीवितरणमा प्रतिबन्ध लगाएर । द्वन्द्व समाधान भए पनि प्रतिबन्ध भने खुलेको छैन ।

प्रारम्भमा सुरक्षाको कारण देखाएको प्रतिबन्ध अहिले पनि सुरक्षालाई नै कारण मानिन्छ । पछिल्लो समय वातावरणसँग जोडेर पनि हेरिने गरिएको छ ।

पटकामाथिको प्रतिबन्धको कारण जायज देखिए पनि भुईचम्पा, झिझिरे, आतिसबाजीलगायतका सामग्रीमाथिको प्रतिबन्धको कारण देखिन्न । तिहारमा यस्ता सामग्रीमाथि प्रहरी कठोर देखिए पनि सेना, प्रहरीले नै आफ्ना उत्सवहरुमा भने आतिसबाजी गर्ने गरेका छन् ।

सैनिक दिवसको दिन सेनाले टुंडिखेलमा भव्य आतिसबाजी गर्नेगर्छ । प्रहरी दिवसमा समेत प्रहरीले उत्सव मनाउन आतिसबाजी गर्ने गरेको थियो । 

तीन वर्षअगाडि महाराजगञ्जमा रहेको प्रहरी तालिम केन्द्रमा आतिसबाजी गरेपछि सर्वसाधारणलाई प्रतिबन्ध लगाउने आफू भने प्रयोग गर्ने भन्दै चर्को आलोचना भएपछि प्रहरीले उत्सवमा यसको प्रयोग रोक्यो । तर सेनाले हरेक वर्ष टुंडिखेलमा रमिता देखाउन छाडेको छैन । 
उच्च घरानियाको उत्सवमा समेत यस्ता सामग्रीको प्रयोग हुने गर्छ । तर प्रहरीले तिहारमा ‘यस्ता सामग्री प्रयोग गरे पक्राउ गर्ने’ धम्की दिने गरेको छ ।

तिहारमा मात्रै नजर
हरेक वर्ष तिहार अगाडि प्रहरी यस्तै सामग्री खोज्न खटिन्छन् । तराईका जिल्लामा त्यत्ति कडाइ देखिन्न । काठमाडौंलगायतका सहरी इलाकामा यस्ता सामग्री भित्रिन नदिन नाकामा खटिएका प्रहरी सार्वजनिक यातायात खोतलखातलमा सक्रिय हुन्छन् ।

अन्य समयमा भने वास्तै हुन्न । सरकारले प्रतिबन्ध लगाए पनि तिहारमा बजारमा यस्ता सामग्री सहजै पाइन्छ । फरक पर्ने भनेको मूल्य मात्रै हो । पकेटको ५ रुपैयाँ भारु पर्ने माल्टा बारुद तिहारमा १०० रुपैयाँसम्ममा बिक्री हुन्छ लुकाई लुकाई ।

नेपाल–भारत सीमा होस् या जिल्ला, नाकामा सुरक्षा निकाय चेकजाँचमा खटिने पर्वमा मात्रै हैन । २४ सैं घण्टा नाकामा सुरक्षाकर्मी खटिन्छन् । तर यस्ता सामग्री तिहारमा मात्र पक्राउ पर्नुले सुरक्षा निकायको लापरबाही प्रष्टै देखिन्छ ।

तिहारमा खरिद मूल्यभन्दा तेब्बर मूल्यमा बिक्री हुने भएकाले व्यापारीहरुले दसैं–तिहार आउनुअगाडि नै यस्ता सामग्री भारतबाट किनेर काठमाडौंलगायतका सहरी क्षेत्रमा भण्डारण गरिसक्छन् । त्यसैको उदाहरण हो महाशाखाले एकै थलोमा छापा मारेर फेला पारेको ७ सय किलो यस्ता सामग्री ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले स्थानीय प्रशासनको निर्णयअनुसार पटका, भुईचम्पा रकेटलगायतका सामग्रीमाथि प्रतिबन्ध लगाइएको बताए ।

पटका लगायतकाहरु विस्फोटक पदार्थको सूचीमा पर्ने, भुईचम्पा, झिरझिरे, रकेटलगायतकाहरु प्रज्वलनशील पदार्थको सूचीमा पर्ने भएको र विगतमा यसबाट दुर्घटनाहरु भएकाले प्रयोगमा प्रतिबन्ध लगाएको उनको तर्क छ ।

‘यो निर्णय नागरिकको सुरक्षालाई ध्यान दिएर नै भएको हो,’ सुवेदीले भने, ‘असुरक्षित गराउने यस्ता सामग्री प्रयोग नगरिकन पनि चाड मनाउन सकिन्छ ।’

१२ महिना सक्रिय हुने प्रहरीले तिहारको मुखमा आएर मात्र किन यस्ता सामग्री बरामद गर्ने गर्छ भन्ने जिज्ञासामा उनको तर्क थियो ‘यस्ता सामग्री न्यून गुणस्तरको हुने भएकाले भण्डार गरेर राख्ने गर्दैनन् । चाड पर्वलाई लक्षित गरेर भिœयाउने भएकाले यही बेलामा फेला पर्ने गरेको हो ।’

Leave A Comment